काठमाडौँ । ट्रान्सक्रिप्टको लागि त्रिभुवन विश्वविद्यालयको अनलाइन फाराम भर्नै मुस्किल देखिएको छ । गत मङ्गलबारदेखि त्रिविले ट्रान्सक्रिप्ट तथा प्रोभिजनल सर्टिफिकेटका लागि सुरु गरेको उक्त सेवा अधिकांश विद्यार्थीहरूले भने अहिलेसम्म लिनै नसक्ने अवस्था बनेको हो ।
ट्रान्सक्रिप्ट निकाल्नका बल्खुमा लामो लाइन र अनेकौँ सास्ती भोगेर हैरान भएका विद्यार्थीले अनलाइन सेवा सुरु भएपछि राहत महसुस गरेका थिए । तर अनलाइन माध्यमबाट फाराम भर्ने सुविधा सुरु भएको एक हप्ता बितिसक्दा पनि सबै विद्यार्थीहरूले भने यो सुविधा पाउन सकेका छैनन् ।
अनलाइन फाराम भर्नका लागि विद्यार्थीहरूलाई वेबसाइट उपलब्ध गराइएको छ । उक्त वेबसाइटमा रजिस्ट्रेसन नम्बर राखेर साइन अप गर्न सकिने व्यवस्था मिलाइएको छ । वेबसाइटमा ट्रान्सक्रिप्ट तथा प्रोभिजनल सर्टिफिकेटको आवेदन भर्ने विकल्प पनि छ । जहाँ विद्यार्थीले आफ्नो सङ्काय, तह र विषय छनोट गर्नुपर्ने हुन्छ । तर अधिकांश संकायका विषयहरू वेबसाइटमा उपलब्ध नै छैनन् ।
स्नातकोत्तर तहको विषयहरूमा मानविकी तथा समाज विज्ञान सङ्कायका विषयहरू उपलब्ध छन् । व्यवस्थापन सङ्कायको पब्लिक एड्मिनिस्ट्रेसन विषय बाहेक अरू विषयहरू रोज्ने विकल्प नै उपलब्ध छैन ।
यस्तै कानुन, विज्ञान तथा प्रविधि, मेडिसिन, कृषि तथा पशु विज्ञान, फरेस्टी, इन्जिनियरिङअन्तर्गतका विषयहरू छनोट गर्ने विकल्प पनि छैन । स्नातक तहका विषयहरूमा पनि अधिकांश सङ्कायका आवेदन दिन मिल्ने विकल्प नहुँदा विद्यार्थी दुविधामा परेका छन् ।
अनलाइन आवेदनमा उपलब्ध सङ्गकायका ट्रान्सक्रिप्ट निकाल्नका लागि परीक्षा दिएको वर्ष र हरेक वर्षको रोल नम्बर, रजिस्ट्रेसन नम्बर लगायतका विवरण राख्नुपर्छ । त्यसपछि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि शुल्क तिरेर आवेदन दिन सकिन्छ ।
तर सेमेस्टरमा परीक्षा लिइने विषयमा त्यही अनुसार फाराम भर्ने विकल्प छैन । जस्तो की, मानविकी तथा सामाजिक विज्ञान सङ्कायअन्तर्गतको आम सञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तरमा चार सेमेस्टरमा पढाइ हुन्छ ।
तर, अनलाइन आवेदनमा पहिलो वर्ष र दोस्रो वर्षको रोल नं राख्ने विकल्प मात्र दिइएको छ । चार ओटा सेमेस्टरमा परीक्षा दिएका विद्यार्थीले कुन सेमेस्टरको रोल नम्बर प्रयोग गर्ने र कहाँ राख्ने भन्ने प्रस्ट छैन ।
विद्यार्थीहरूले अनलाइन फाराम भर्न खोज्दा समस्या भइरहेको विषयमा त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीसँग बुझ्दा वेबसाइटमा डेटा माइग्रेसनको काम भइरहेकाले सबै विषय समावेश हुन बाँकी रहेको बताए । छिट्टै सबै विषयका विद्यार्थीले ट्रान्सक्रिप्टको अनलाइन आवेदन दिन सक्ने सुविधा पाउने उनले सुनाए ।
उनका अनुसार उपलब्ध विषयहरूमा भने विद्यार्थीले अनलाइन आवेदन पठाएको फारम आइरहेको छ । तर, आवेदन प्राप्त भएको भनेर विद्यार्थीलाई तत्कालै जवाफ दिन नसकेको उनले बताए । उनले भने, “अहिले हामी डेटा सङ्कलनको काम गरिरहेका छौँ ।”
अहिले बल्खुबाट दिइने विश्वविद्यालयका सेवाहरू अनलाइनमार्फत उपलब्ध गराउन थालिएको बताउँदै परीक्षा नियन्त्रक जोशीले अन्य कार्यालयबाट पनि अनलाइन सेवा दिने गरी काम भइरहेको जानकारी दिए ।