close

कस्तो छ नेपालमा गेमिङ कम्प्युटरको बजार ?

सुजन राई सुजन राई

बैशाख १८, २०८१ १२:६

कस्तो छ नेपालमा गेमिङ कम्प्युटरको बजार ?

नेपालमा केही वर्षयता गेमिङ ल्यापटपहरूको माग उल्लेखनीय रूपमा बढेको छ । यसले गेमिङ लगायतका काम गर्न उच्च क्षमतायुक्त डिभाइसमा ग्राहकहरूको बढ्दो रुचि भएको अर्थ पनि दिन्छ । जसै गेमिङ मन पराउने सङ्ख्या बढ्दै जान्छ, त्यसै अनुरूप गेमिङ कम्प्युटरको माग पनि बढ्दै जान्छ । यही मौका छोपेर नेपालमा स्थानीय र अन्तर्राष्ट्रिय ब्रान्डहरूले आफ्नो बजार विस्तार गर्न थालिसकेका छन् ।

स्टाटिस्टाको पछिल्लो डेटा अनुसार सन् २०२४ मा मात्रै नेपालको अनलाइन गेमिङ ५० लाख अमेरिकी डलर हुनेछ । सन् २०२४ देखि २०२७ सम्म यो बजार वार्षिक १०.९७ प्रतिशतले बढ्ने र २०२७ मा ७० लाख अमेरिकी डलर पुग्ने अनुमान छ । यसको प्रत्यक्ष प्रभाव गेमिङ कम्प्युटरको मागमा पर्नेछ ।

नेपालमा गेमिङ संस्कृतिको उदय

विगत एक दशकलाई नियाल्ने हो भने मात्र पनि नेपालको गेमिङ परिदृश्यमा ठूलो परिवर्तन आएको देख्न सकिन्छ । इन्टरनेट पहुँचको विस्तार, ईस्पोर्ट्सको बढ्दो लोकप्रियता र विश्वको बढ्दो गेमिङ प्रभावले नेपालमा गेमिङ संस्कृति विकास गर्न भूमिका खेलेका छन् ।

इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन (आईटीयू) ले नेपालमा इन्टरनेट प्रयोगको दर ७९ प्रतिशतसम्म बढ्ने अपेक्षा गरेको छ ।  यो परिवर्तनले अनलाइन गेमिङमा प्रयोगकर्ताको सङ्ख्या बढाउने निश्चित छ । यहाँ रहेका स्थानीय गेमिङ समुदाय, विभिन्न टुर्नामेन्ट र स्ट्रिमिङ प्लेटफर्महरूको उदयले पनि गेमिङ ल्यापटपहरूको मागलाई अझ बढाएको छ । 

नेपाली गेमरहरू, विशेष गरी युवा पुस्ताले सिमलेस र इमर्सिभ गेमिङ अनुभवका लागि उच्च क्षमतायुक्त डिभाइस खोजिरहेका छन् । जसले गर्दा नेपालमा गेमिङ ल्यापटपहरूको लोकप्रियता बढेको छ ।

ग्लोबल ट्रेन्ड्सले नेपाली बजारमा पारेको प्रभाव 

नेपालमा गेमिङ ल्यापटपको मागमा भएको वृद्धि कुनै नौलो घटना भने होइन । विश्वमा चलिरहेकै प्रवृत्तिको प्रभाव मात्र हो । रिसर्च रिपोर्टस् वर्ल्डका अनुसार सन् २०२३ मा गेमिङ ल्यापटपको विश्व बजार करिब ११.२३ अर्ब डलरको थियो । जुन बजार निरन्तर उकालो लाग्ने निश्चित छ । यही तरिकाले बजार वृद्धि भएमा सन् २०३० को अन्त्यसम्ममा गेमिङ ल्यापटपको बजार १७.०२ अर्ब डलर पुग्न सक्छ । जुन वार्षिक ६.१ प्रतिशत वार्षिक वृद्धि हो ।

यो वृद्धिको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि पर्न थालिसकेको छ । अहिले नेपालमा एसुस, एसर, एचपी जस्ता अन्तर्राष्ट्रिय ब्रान्डले आफ्ना पछिल्ला गेमिङ ल्यापटप भित्र्याइसकेका छन् । उदाहरणका लागि सन् २०२४ मा एसुस आरओजी स्ट्रिक्स जी १८ सार्वजनिक भएको थियो । यसले नेपालमा उच्च क्षमता भएका गेमिङ ल्यापटपको माग बढ्दै गएको पुष्टि पनि गर्छ ।

ईस्पोर्ट्स र स्ट्रिमिङको प्रभाव

ईस्पोर्ट्सको उदय र गेमिङ स्ट्रिमरहरूको बढ्दो लोकप्रियताले पनि नेपालमा गेमिङ ल्यापटपको माग बढाउनमा भूमिका खेलेको छ । गेमिङ र लाइभ स्ट्रिमिङको विश्व मञ्चमा नेपाली गेमरहरू उभिन थालेपछि उनीहरूले उच्च क्षमताका डिभाइस प्रयोग गर्न थालेका छन् ।

साथै अहिलेको समयमा गेमिङ करियर पनि राम्रो विकल्प भएको प्रमाणित गरेका छन् । जसबाट धेरै नेपाली युवायुवती प्रभावित भएर यो क्षेत्रमा आउन खोजिरहेका छन् । त्यस आधारमा ई-स्पोर्ट्स र स्ट्रिमिङले नेपालमा गेमिङ ल्यापटपको माग बढाएको भन्न कुनै सङ्कोच मान्नु पर्दैन ।

 

नेपालमा गेमिङ ल्यापटपको भविष्य

नेपालमा गेमिङ ल्यापटपको माग निरन्तर बढ्दै गएकाले बजार अझै प्रतिस्पर्धी र विविधतायुक्त हुने यस क्षेत्रका जानकारहरू बताउँछन् ।  थप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूको प्रवेशसँगै ग्राहकहरूले धेरै विकल्प पाउने पनि उनीहरूको भनाइ छ ।

त्यस्तै अहिले नेपालमै स्थानीय रूपमा ल्यापटपको विकास तथा उत्पादन गर्ने विषय पनि अघि बढेको छ । यसबाट नेपाली बजार सुहाउँदा गेमिङ ल्यापटपको विकास तथा उत्पादन हुन सक्छ । त्यसले नेपालमा गेमिङ ल्यापटपको माग अर्को उचाईंमा पुर्‍याउन सक्छ । यसका साथै गेमिङ ल्यापटपका लागि नेपाल एउटा महत्त्वपूर्ण बजारका रूपमा स्थापित हुन सक्ने सम्भावना रहेको छ ।

अन्त्यमा, नेपालमा गेमिङ ल्यापटपको माग बढ्नु देशमा उच्च क्षमता भएका डिभाइस खोज्ने प्रयोगकर्ता धेरै हुनु पनि हो । गेमिङ संस्कृतिको उदय, इन्टरनेटको पहुँच, ग्लोबल ट्रेन्डको प्रभाव लगायतका विषयले यो बजारको विस्तारमा योगदान पुगिरहेको छ । यी सबै मानेमा नेपालमा यो बजारले अझ विकास र प्रगति हासिल गर्न सक्छ ।

पछिल्लो अध्यावधिक: बैशाख २५, २०८१ १४:१२