close

घरमा पुराना फोटोहरू छन् ? यी एप प्रयोग गरी बनाउनुहोस् डिजिटल

टेकपाना टेकपाना

बैशाख २२, २०८१ १७:४८

घरमा पुराना फोटोहरू छन् ? यी एप प्रयोग गरी बनाउनुहोस् डिजिटल

काठमाडौं । हात-हातमा स्मार्टफोन पुग्नुअघि क्यामेराले फोटो खिचेर त्यसलाई प्रिन्ट गर्नुपर्थ्यो । अहिलेजस्तो स्मार्टफोन झिकेर मन लागेजति फोटो खिच्ने अवस्था थिएन ।

सायद अहिले पनि हामीमध्ये धेरैको घरमा फोटो एल्बम हुनुपर्छ । अथवा प्रिन्ट गर्न बाँकी रिल/फिल्म हुनुपर्छ । घरमा भएका ती फोटो एल्बम सधैं साथमै हुन्छ भन्ने छैन । यस्तोमा तपाईंले तिनलाई डिजिटल बनाएर आफूसँगै राख्न सक्नुहुन्छ । यसो गर्दा फोटो हराउला, बिग्रेला भन्ने डर पनि हुँदैन । मुख्य कुरा आफूलाई आवश्यक परेको बेलामा ती फोटोहरू सजिलै हेर्न सकिन्छ । 

पहिले त्यस्ता पुराना फोटोलाई डिजिटलाइज गर्न स्क्यानर मसिन प्रयोग गर्नुपर्थ्यो । आजभोलि मोबाइल एपबाटै यो काम गर्न सकिन्छ । आज हामी प्रिन्ट गरिएका पुराना फोटोलाई डिजिटल बनाउने मोबाइल एपहरूबारे चर्चा गर्दै छौं: 

फोटो स्क्यान (Photo Scan)

गुगलको यो एप पुराना प्रिन्ट गरिएका फोटोलाई डिजिटलाइज गर्न नै तयार पारिएको छ । यसका लागि एपले फोटोलाई धेरै पटक स्क्यान गरेर अन्तिम रूप तयार पार्छ । यसो गर्दा फोटो गुणस्तरीय आउनुका साथै सामान्य फोटो खिचेजस्तो पनि हुँदैन ।

एपले आफैं फोटो क्रप गरेर आकार मिलाइदिने हुँदा समय बचत हुन्छ । तपाईंले उक्त फोटोलाई आफू अनुसार एडिट पनि गर्न सक्नुहुन्छ । 

यसबाट त्यस्ता पुराना फोटोलाई डिजिटलाइज गर्न सजिलो पनि छ । किनकि एप खोल्नासाथ सिधै क्यामेरा खुल्छ । तपाईंले पुराना फोटोलाई क्यामेरा अघि राख्नुपर्ने हुन्छ । जब तपाईंले क्याप्चर बटन थिच्नु हुन्छ, त्यसपछि चार ओटा सर्कल देखा पर्छन् । ती सबैमा तपाईंले क्यामेरा पर्नेगरी फोन घुमाउनु पर्ने हुन्छ । जब यो काम गरिसक्नुहुन्छ, त्यसपछि अन्तिम फोटो तयार हुन्छ । 

यो एप एन्ड्रोइड डिभाइसमा डाउनलोड गर्न यहाँ र आईओएस डिभाइसमा डाउनलाेड गर्न यहाँ क्लिक गर्नुहाेस् । 

माइक्रोसफ्ट लेन्स (Mircosoft lens)

माइक्रोसफ्टले तयार पारेको एक प्रकारको बिजनेस ओरियन्टेड स्क्यानिङ एप हो, माइक्रोसफ्ट लेन्स । यसलाई पहिले 'अफिस लेन्स'का नामले चिनिन्थ्यो । यो गुगलको ‘फोटो स्क्यान’ एप जस्तो स्पेसिफिक छैन । यसले विभिन्न प्रकारका डकुमेन्ट स्क्यान गर्ने गर्छ । सोही क्रममा पुराना फोटोलाई पनि यसले स्क्यान गर्ने हो ।

त्यसरी स्क्यान गरिएका फोटो/डुकुमेन्टलाई आफूअनुकूल एडिट गर्न सकिन्छ । यसका लागि माइक्रोसफ्ट लेन्स खोलेर क्यामेरा अन गर्नुहोस् । अनि कुनै पनि फोटो खिच्नुहोस् । अब उक्त फोटोलाई तपाईंले म्यानुअली पनि मिलाउन सक्नुहुन्छ ।

यो एप एन्ड्रोइडमा डाउनलोड गर्न यहाँ र आईओएसका लागि डाउनलोड गर्न यहाँ क्लिक गर्नुहाेस् । 

क्याम स्क्यानर (cam scanner)

क्याम स्क्यानर एप माइक्रोसफ्ट लेन्स जस्तै छ । यसलाई पनि धेरै कामका लागि प्रयोग गर्न सकिन्छ । यस एपमा आफूलाई काम लाग्नसक्ने केही फिचर निःशुल्क प्रयोग गर्न सकिन्छ भने केही फिचरका लागि शुल्क तिर्नुपर्छ ।

यसबाट पुराना फोटोलाई स्क्यान गर्न एप खोलेर क्यामेरा अन गर्नुहोस् । त्यसमा विभिन्न मोड हुने गर्छन् । तीमध्ये कुनै एक छानेर तपाईंले स्क्यान नगर्न सक्नुहुन्छ । अझ स्क्यान गरिएका फोटोलाई राम्रो देखाउन यसमा विभिन्न फिल्टरहरू समेत राखिएका छन् ।

यो एप एन्ड्रोइडमा डाउनलोड गर्न यहाँ र आईओएसमा डाउनलोड गर्न यहाँ क्लिक गर्नुहाेस् । 

फिल्मबक्स (FilmBox)

फिल्म नेगेटिभलाई डिजिटलाइज गर्न यो एप उपयोगी हुन्छ । आईओएस तथा एन्ड्रोइड दुवैमा चलाउन सकिने यो एपबाट तपाईंले फिल्म नेगेटिभलाई सजिलै डिजिटल बनाउन सक्नुहुन्छ ।

तपाईंले यसबाट धेरै ओटा स्क्यान गर्न पैसा तिर्नुपर्ने हुन्छ । तर पनि सुरुवातमा केही फोटो नि:शुल्क खिच्न सकिन्छ । यसबाट आफ्नो फिल्म नेगेटिभबाट रङ्गिन फोटो बनाउन खिच्न तयार पारेको नेगेटिभलाई अलि उज्यालो वा प्रकाशको अगाडि राख्नु पर्छ । अर्थात् तपाईंले कुनै पनि सेतो स्क्रिन अघि उक्त फिल्मलाई राख्न सक्नुहुन्छ । यसपछि आफ्नो क्यामेरा अन गरेर उक्त फिल्मको फोटो खिच्नुहोस् । यसको केही समय भित्र नै सादा फिल्मबाट रङ्गित फोटो तयार हुन्छ । 

यो एप एन्ड्रोइड डिभाइसमा डाउनलोड गर्न यहाँ र आईओएस डिभाइसका लागि यहाँ क्लिक गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: बैशाख २२, २०८१ १७:५७