काठमाडौं । आफूले सार्वजनिक गर्न लागेको नयाँ टुल एआईमा आधारित सर्च इन्जिन वा जीपीटी फाइभ नभएको ओपनएआईले प्रष्ट पारेको छ । शुक्रवार एक्समा पोस्ट राख्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) साम अल्टम्यानले सोमबार सार्वजनिक हुने टुल सर्च इन्जिन वा जीपीटी फाइभ नभएको बताएका हुन् ।
“जीपीटी फाइभ वा सर्च इन्जिन हामीले ल्याउन लागेको नयाँ टुल होइन,” अल्टम्यानले भनेका छन्, “तर हामीले केही नयाँ टुलमा कडा मेहनत गरेका छौं । यसलाई मानिसले मन पराउनेछन् भन्ने हामीलाई लागेको छ ।”
पोस्टमा अल्टम्यानले आफूले सार्वजनिक गर्न लागेको टुल कुनै जादुजस्तै लागेको जनाएका छन् ।
सो टुल सोमबार ओपनएआईमा स्ट्रिमिङ गरेर सार्वजनिक हुनेछ । यसअघि गुगलको सर्च इन्जिनसँग प्रतिस्पर्धा गर्न ओपनएआईले आफ्नै एआईमा आधारित सर्च इन्जिन ल्याउन लागेको चर्चा थियो ।
अहिले च्याटजीपीटीले अधिकांश सूचना सही दिने भएपनि निःशुल्क उपलब्ध हुने भर्सनमा भने रियल टाइम अर्थात् पछिल्लाे जानकारी पाउन सकिंदैन । त्यसैका लागि कम्पनीले रियल टाइम जानकारी दिने उद्देश्यले त्यस्तो टुल ल्याउन लागेको अपेक्षा गरिएको थियो ।