काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले क्याफे डिजाइन प्रतियोगिता आयोजना गर्ने भएको छ । थोरै खर्चमा नवीनतम डिजाइन भएको क्याफे बनाउन नास्टले यो प्रतियोगिता आयोजना गर्न लागेको हो ।
यसका लागि नास्टले नेपाल इन्जिनियरिङ परिषद् (एनईसी) तथा सोसाइटी अफ नेप्लिज् आर्किटेक्ट (सोना) का सदस्य आर्किटेक्चर र इन्जिनियरहरूलाई भाग लिन आह्वान गरेको छ । उनीहरूले साढे आठ लाख रुपैयाँ लागत भित्र बन्ने एक हजार वर्गफिट क्षेत्रफल भएको क्याफेको डिजाइन तयार पार्नुपर्ने छ ।
यसमा व्यक्तिगत तथा समूहगत रूपमा भाग लिन सकिने नास्टले जनाएको छ । विजेता टोलीले कन्सल्टिङ शुल्क बापत एक लाख १५ हजार रुपैयाँ पाउने छ । यसका साथै उनीहरूलाई नै क्याफे निर्माणमा पनि प्राथमिकता दिइने नास्टले जनाएको छ । उक्त क्याफे भने ललितपुरको खुमलटारमा अवस्थित नास्टको परिसरमा बन्ने छ ।
यस प्रतिस्पर्धाले आर्किटेक्ट तथा इन्जिनियरहरूलाई आफ्नो डिजाइन सीप देखाउन र नवप्रवर्तनका विचारलाई मूर्त रूप दिन प्लेटफर्मका रूपमा काम गर्ने नास्टका प्रविधि संकाय प्रमुख ईश्वर बज्राचार्यले बताए ।
उनका अनुसार उत्कृष्ट डिजाइन भएका तीन समूहलाई २४ जेठमा प्रिजेन्टेसनका लागि बोलाइने छ । जसमा उत्कृष्ट डिजाइन तयार पार्ने समूहलाई विज्ञ टोलीले विजेताका रूपमा छनोट गर्नेछन् ।
इच्छुकले १७ जेठ भित्र डिजाइनको योजना पठाउन सक्ने छन् । यसका लागि यहाँ क्लिक गर्न सक्नु हुन्छ ।