काठमाडौं । गुगलले यस वर्षको आफ्नो वार्षिक डेभलपर कन्फ्रेन्स कार्यक्रम सम्पन्न गरिसकेको छ । यसबिच कम्पनीले आफ्ना विभिन्न परियोजना र प्रविधिबारे जानकारी दिएको छ। यद्यपि सबैले अपेक्षा गरेको एन्ड्रोइड १५ बारे भने गुगलले खासै जानकारी दिएन ।
गुगलको यस पल्टको डेभलपर कन्फ्रेन्स एआईमा केन्द्रित भएजस्तै रह्यो । जसबाट गुगलले अब आफ्नो यात्रा एआईतिर ढल्काउन खोजेको जस्तो देखिन्छ । गुगलले यो वर्ष एआई सम्बन्धी थुप्रै परियोजना घोषणा गरेको छ ।
यसबाहेक गुगलको लार्ज ल्याङ्ग्वेज मोडल जेमिनाई र जेम्माबारे पनि विभिन्न अपडेट दिएको छ । त्यस्तै नयाँ डिभाइसहरूमा गुगल पिक्सेल स्लेट (Pixel Slate) नामक ट्याब्लेट, पिक्सेल ८ ए सार्वजनिक गरेको छ ।
समग्रमा उक्त कार्यक्रममार्फत भएका केही प्रमुख घोषणाहरू यस प्रकार छन्:
एन्ड्रोइड १५
गुगलले पहिलो पटक एन्ड्रोइड १५ को बेटा भर्सन गत फेब्रुअरीमा सार्वजनिक गरेको थियो । यस कार्यक्रममा खासै चर्चा नगरेपनि गुगलले एन्ड्रोइड १५ को दोस्रो बेटा भर्सन सार्वजनिक गरेको छ । यसरी सुधार गर्दै यसै वर्षभित्र एन्ड्रोइड १५ सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।
जेनेरेटिभ एआई फर लर्निङ
कार्यक्रममार्फत गुगलले लर्नएलएम नामक नयाँ जेनेरेटिभ एआई मोडेल सार्वजनिक गरेको छ । यो मोडेलको काम विद्यार्थीलाई सिक्न सहयोग गर्नु हो । यसले कुराकानीको शैलीमा विद्यार्थीलाई प्रशिक्षित गर्नेछ । अहिले यसलाई गुगल क्लासरुममा नमुना परियोजना स्वरूप परीक्षणमा ल्याइएको छ । यसले विद्यार्थीलाई नयाँ विचार बुझ्न र नयाँ कुरा सिक्न सहयोग गर्ने बताइएको छ ।
क्विज मास्टर
यो फिचर पनि शिक्षासँग नै सम्बन्धित छ । गुगलका अनुसार युट्युबमा शैक्षिक भिडिओ हेर्दा यो फिचर प्रयोग गर्न सकिने छ । यसबाट प्रयोगकर्ताले उक्त भिडिओबारे हाजिरी जवाफ खेल्न सक्ने छन् । यो फिचर लेक्चर, सेमिनार अथवा लामा शैक्षिक भिडिओ हेर्दा उपयोगी हुने बताइएको छ । गुगलले अमेरिकाका केही एन्ड्रोइड प्रयोगकर्ताबिचमा यो फिचर रोलआउट गर्न सुरु गरिसकेको छ ।
जेम्मा टुको नयाँ अपडेट
गुगलले आफ्नो अर्को जेनेरेटिभ एआई मोडेल जेम्मा टुमा पनि ठूलो अपडेट गर्ने भएको छ । यसमा गुगलले २७ अर्ब पारामिटर थपेको दाबी गरेको छ । यो मोडेलमा भएका अपडेट जुनमा सार्वजनिक हुने बताइएको छ । यो मोडेल चिप निर्माता कम्पनी एनभिदियाले बनाउने अर्को पुस्ताको जीपीयूमा चल्न सक्ने गरी बनाइने छ ।
गुगल प्ले स्टोरमा अपडेट
गुगलले आफ्नो एप स्टोर गुगल प्लेमा समेत धेरै सफ्टवेयर अपडेट गर्ने भएको छ । गुगलका अनुसार नयाँ अपडेटमा एप खोज्न सजिलो हुनेछ । साथै एपलाई नयाँ प्रयोगकर्ता पाउन सजिलो हुने गरी काम गरिने छ । त्यस्तै डेभलपरका लागि आवश्यक पर्ने गुगल प्ले एसडीके कन्सोल, प्ले इन्टिग्रिटी एपीआई लगायतमा समेत गुगलले सुधार गर्ने छ ।
स्पाम कलको पहिचान
गुगलले एन्ड्रोइड फोनमा स्वत: स्पाम कल थाहा हुने फिचर पनि ल्याउने भएको छ । यसका लागि गुगलले जेमिनाई नानो एआई मोडेल प्रयोग गर्नेछ । यो मोडेलले प्रयोगकर्ताको कुराकानीका आधारमा कुनै पनि कल स्पाम हो वा होइन भनेर पहिचान गर्ने बताइएको छ । यद्यपि यो फिचर डिफल्ट नभएर वैकल्पिक हुनेछ । प्रयोगकर्ताले चाहेको खण्डमा म्यानुअल्ली यो फिचर अन गर्नु पर्नेछ ।
आस्क फोटोज
एआईमा गर्ने गुगलको अर्को परीक्षण हो, आस्क फोटोज । यो फिचरलाई जेमिनाई एआईले सञ्चालन गर्नेछ । गुगलका अनुसार यो फिचरबाट प्रयोगकर्ताले गुगल फोटोजमा भएका कुनै पनि तस्विर सजिलै खोज्न सक्ने छन् । यसका लागि एआईले फोटोको विषयवस्तु र अन्य मेटाडेटा बुझ्ने बताइएको छ । प्रयोगकर्ताले व्यक्ति, ठाउँ लगायतका आधारमा एआईलाई फोटो खोज्न लगाउन सक्ने छन् । गुगलले यो फिचर तीन/चार महिनापछि सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।
जिमेलमा जेमिनाई
अब जिमेलका आएका ईमेलको सारांक्ष तयार पार्ने, ईमेलको खेस्रा तयार पार्ने जस्ता काम जेमिनाईले गर्ने छ । यो वेब र एप दुवैमा सम्भव हुनेछ । केही अघिदेखि नै लाइभ भइसकेको फिचर भएपनि यो एपमा भने आइसकेको थिएन । अब भने यसले जिमेलमा हुने केही कठिन कामहरू पनि गर्नेछ ।
जेमिनाई १.५ प्रो
यस पटकको आफ्नो डेभलपर कन्फ्रेन्समा गुगल जेमिनाईमा निकै केन्द्रित रह्यो । त्यही क्रममा गुगलले सार्वजनिक गरेको जेमिनाईको पछिल्लो भर्सन हो, जेमिनाई १.५ प्रो । यो मोडेल जेमिनाईको पछिल्लो भर्सन हो । यसले लामा डकुमेन्ट र कोडबेस विश्लेषण गर्न सक्ने, भिडिओ र अडिओमा पहिले भन्दा राम्रो काम गर्न सक्ने छ । गुगलका अनुसार जेमिनाईको यो पछिल्लो भर्सन हो ।
जेमिनाई लाइभ
जेमिनाईमा आउने अर्को फिचर हो, जेमिनाई लाइभ । यो फिचर आइसकेपछि जेमिनाईमा मानिसले बिना अवरोध कुराकानी गर्न सक्ने छन् । त्यस्तै जेमिनाईले फोनको क्यामेराको माध्यमबाट खिचिने फोटो तथा भिडिओलाई समेत पहिचान गर्नेछ ।
जेमिनाई नानो
गुगलले यसबारे खासै जानकारी दिएको त छैन । तर यो जिमेनाई मोडेलको सानो आकार भएको बताएको छ । यो क्रोम डेस्कटपमा प्रयोग हुनेछ । यसमा 'हेल्प मि राइट' जस्ता फिचर आउने अपेक्षा गर्न सकिन्छ ।
एन्ड्रोइडमा जेमिनाई
गुगलले आफ्नो भोइस असिस्टेन्टको ठाउँमा जेमिनाईलाई राख्ने भएको छ । यसपछि जेमिनाईले फोनको अपरेटिङ सिस्टम र गुगलका एपमा पहुँच पाउने छ । यसले गर्दा फोन चलाउने अनुभव अझ राम्रो हुने अपेक्षा गर्न सकिन्छ । जस्तै, कुनै पनि युट्युब भिडिओबारे प्रयोगकर्ताले जेमिनाईलाई प्रश्न गर्न सक्ने छन् ।
गुगल म्यापमा जेमिनाई
डेभलपरलाई ध्यानमा राख्दै गुगलले जेमिनाई मोडेललाई गुगल म्यापमा समेत एकीकृत गर्ने भएको छ । यसपछि डेभलपरले कुनै पनि ठाउँको बारेमा जानकारी लेख्न जेमिनाई प्रयोग गर्न सक्नेछन् । यसले ठाउँको विवरण हातैले लेख्नु पर्ने बाध्यता हट्ने अनुमान गर्न सकिन्छ ।
सर्कल टु सर्च
स्क्रिनको कुनै पनि भागमा वृत्त बनाउँदा त्यसलाई मात्र सर्च गर्ने फिचरलाई गुगलले सुधार गर्ने भएको छ । अब यसबाट गणित र विज्ञानका विभिन्न समस्याहरू समाधान गर्न पनि सकिने गुगलको भनाइ छ । यसअघि नै केही फोनमा सार्वजनिक भइसकेको यो फिचरले विद्यार्थीलाई गृहकार्य गर्न सहयोग गर्ने बताइएको छ ।
भिओ (Veo)
यो गुगलको टेक्स्ट टू भिडिओ टुलको नाम हो । यसले ओपनएआईको सोरासँग प्रतिस्पर्धा गर्ने छ । यो टुलले १०८० पिक्सेल बराबरको भिडिओ क्लिप बनाउन सक्नेछ । प्रयोगकर्ताले यसबाट सिनेम्याटिक स्टाइल, ल्यान्डस्केप, टाइमल्याप्स जस्ता भिडिओ बनाउन सक्नेछन् ।
प्रोजेक्ट आईडीएक्स
गुगलको भावी पुस्ताको डेभलपमेन्ट परियोजनालाई गुगलले सबै डेभलपरका लागि बेटा भर्सनमा खुला राखेको छ । यसले विभिन्न डेभलपमेन्टका काम गर्न एआई प्रयोग गर्नेछ । यसमा क्रोम डेभ टुल्स, लाइट हाउस जस्ता एपलाई एकीकृत समेत गरेको छ ।
इमाजेन थ्री
गुगलले आफ्नो टेक्स्ट टु इमेजको सबैभन्दा पछिल्लो भर्सन इमाजेन थ्री घोषणा गरेको छ । गुगलका अनुसार फोटो तयार पार्न यो टुल निकै अब्बल छ । यसले वास्तविक झै लाग्ने फोटो बनाउने सामर्थ्य राख्छ । त्यस्तै यसले प्रोम्प्ट (लिखित निर्देशन) लाई अझ राम्ररी बुझेर आकर्षक फोटो बनाउन सक्छ ।
एआई इन सर्च
गुगलले आफ्नो सर्च इन्जिनमा एआई एकीकृत गर्ने भएको छ । आफ्ना प्रतिस्पर्धीलाई पछि पार्न गुगलले सर्चमा भएको एआईलाई अझ राम्रो बनाउने भएको हो । गुगलले यस अन्तर्गत सर्च रिजल्टलाई व्यवस्थित गर्ने, खोजेको शीर्षकको सारांश तयार पार्ने जस्ता काम गर्नेछ । हुन त यो फिचर केही समय अघि सार्वजनिक भइसकेको हो । तर अब यसलाई झनै व्यवस्थित गर्ने गुगलको भनाइ छ ।
टेन्सर चिपमा सुधार
गुगलले आफ्नो टेन्सर प्रोसेसिङ युनिट (टीपीयू) को छैटौं पुस्ता सार्वजनिक गरेको छ । यो पाँचौँ पुस्ताको टेन्सर चिपको तुलनामा ४.७ गुणा चाँडो हुने कम्पनीको दाबी छ । यो चिपले एआई अनुभवलाई पनि सुदृढ गर्ने गुगलको भनाइ छ ।
फायरबेस जेनकिट
गुगलले फायरबेस जेनकिट नामक फायरबेस प्लेटफर्मको नयाँ संस्करण सार्वजनिक गरेको छ । यसले जाभास्क्रिप्ट तथा टाइपस्क्रिप्ट प्रयोग गरेर एआई एकीकृत गरिने एप बनाउन सहयोग गर्ने गुगलको भनाइ छ । यो ओपन सोर्स फ्रेमवर्क अपाचे २.० नामक लाइसेन्स प्राप्त छ । सोही कारण डेभलपरले आफ्नो एप बनाउन प्रयोग गर्न सक्ने छन् ।