काठमाडौं । तपाईं यो वर्ष फोन खरिद गर्ने विचारमा हुनुहुन्छ ? कस्तो फोन खरिद गर्ने सोच छ ? अनि, ब्रान्ड नि ? आज हामी तपाईंले जुन ब्रान्डको फोन खरिद गर्न खोजेको भए पनि त्यसमा के ख्याल गर्ने भन्ने विषयमा जानकारी दिंदैछौं:
१) उच्च रिफ्रेश रेट भएको डिस्प्ले
रिफ्रेश रेट कम हुँदा हाम्रो मस्तिष्कलाई फोन ढिलो चलेको हो कि भन्ने अनुभूति भइदिन्छ । हुन त तपाईंले नयाँ फोन खरिद गर्दा पहिले प्रयोग गरिरहेको फोनमा कति रिफ्रेशरेट थियो, अनि अब कति रिफ्रेश रेट भएको फोन खरिद गर्दा होला भन्ने कुरालाई विचार गर्न सक्नुहुन्छ । पछिल्लो समय बजार आएका अधिकांश फोनमा १२० हर्ज रिफ्रेशरेट रहेको छ । त्यसैले तपाईंले राम्रो फोन लिने विचार गरिरहनु भएको छ भने १२० हर्ज रिफ्रेश रेट भएकै फोन रोज्नुहोस् ।
यदि तपाईंले उच्च रिफ्रेश रेट भएको फोन प्रयोग गर्नुभइको छैन र तपाईंले रिफ्रेश रेटमा कम्प्रमाइज गर्नु पर्ने भयो भने ९० हर्ज रिफ्रेश रेट भएको फोन लिन सक्नुहुन्छ ।
२) तीन ओटा क्यामेरा सेटअप
हुन त फोनमा जति बढी क्यामेरा भयो फोटोको क्वालिटी त्यति राम्रो हुन्छ भन्ने हुँदैन । त्यस्तै क्यामेराको मेगापिक्सेल मात्रै पनि सबैथोक होइन । तर, तीन ओटा क्यामेरा सेट भएको फोन लिनुभयो भने त्यसमा विभिन्न मोड अन गरेर विभिन्न दृश्यको फोटो चाहे जसरी खिच्न सक्नुहुन्छ ।
अधिकांश हाई-इन्ड फोनको मुख्य लेन्सले नै राम्रो फोटो खिच्छ । तर, त्यसमा हुने अल्ट्रावाइड र टेलिफोटो लेन्स पनि उत्तिकै स्तरीय छ भन्ने कुरा सुनिश्चित गर्नुपर्छ । किनभने तपाईंले जति खर्च गर्नु भएको छ त्यसको भ्यालु अनुसार फोटो खिच्न सकियोस् ।
यदि तपाईं मिड-रेञ्जको फोन लिन खोजिरहनु भएको छ भने कम्तीमा दुई ओटा क्यामेरा भएको फोन पनि ठीकै हुन्छ । त्यसमा एउटा मुख्य क्यामेरा हुन्छ भने अर्को टेलिफोटो वा अल्ट्रावाइडमध्ये एक हुन सक्छ ।
३) ओएलईडी डिस्प्ले
तपाईं मिडरेन्ज वा हाई इन्ड स्मार्टफोन खरिद गर्दै हुनुहुन्छ भने ओएलईडी डिस्प्ले भएको फोन लिनुहोस् । डिस्प्लेको सन्दर्भमा ओएलईडी नै स्टान्डर्ड डिस्प्ले हो । एलसीडी प्यानलको तुलनामा एमोलेड वा ओएलईडी डिस्प्ले धेरै स्तरीय मानिन्छ ।
४) फ्ल्यागशिप प्रोसेसर
फोनमा सबैभन्दा महत्त्वपूर्ण सामग्री नै त्यसको प्रोसेसर हो । अहिले एन्ड्रोइडको सन्दर्भमा स्नापड्रागन ८ जेन थ्रि चिप आएको छ भने आईओएसका सन्दर्भमा ए१७ प्रो बायोनिक चिप आएको छ । तपाईंले राम्रै मूल्य तिर्न खोज्नु भएको छ भने हाई-इन्ड डिभाइसमा यी प्रोसेसर खोज्नुहोस् ।
होइन, मिड-रेञ्ज नै लिन्छु भन्नुभयो भने स्नापड्रागन ८ जेन टु वा ए१६ बायोनिक चिप भएको फ्ल्यागशिप खोन लिन सक्नुहुन्छ । जति स्तरीय प्रोसेसर भयो फोन त्यति नै फास्ट र स्तरीय हुन्छ । र, राम्रो प्रोसेसर भएको फोन लामो समयसम्म टिकिरहन्छ । जसले गर्दा तपाईंले तुरुन्तै आफ्नो स्मार्टफोन अपग्रेड गरिरहनु पर्ने अवस्था आउँदैन ।
५) कम्तीमा ८ जीबी र्याम भएको फोन लिनुहोस्
तपाईंले २, ३ वा ४ जीबी र्याम भएको फोन प्रयोग गर्ने दिन गइसके भन्दा फरक नपर्ला । २०२४ मा ८ जीबी र्याम त न्यूनतम जस्तै बनिसक्यो । हुन त आईफोन हो भने ६ जीबी र्याम पनि पर्याप्त नै मानिन्छ । किनभने त्यसले राम्रै मेमोरी मेनेजमेन्टको काम गर्छ ।
तपाईंले जति बढी र्याम भएको फोन लिनुभयो, त्यति नै सहजै मल्टिटास्किङ गर्न सक्नुहुन्छ । फोनमा कम्तीमा ८ जीबी र्याम छ भने एप ब्याकग्राउन्डमा रन हुँदा त्यति समस्या आउँदैन । अहिले बजारमा आएका अधिकांश फ्ल्यागशिप फोनमा १२ जीबीदेखि १६ जीबीसम्मको र्याम दिइएको हुन्छ ।
६) दिनभर ब्याट्री टिक्ने फोन
तपाईंले जस्तो फोन खरिद गरे पनि सामान्य प्रयोजनका लागि प्रयोग गर्दा त्यसको ब्याट्री कम्तीमा एक दिन त टिक्ने हुनै पर्छ । हुन त अहिले फास्ट चार्जरहरू पनि आएका छन् । जसले केही मिनेटमै फोनलाई फुल चार्ज गरिदिन्छ । तर पनि चार्जर वा पावरबैंक बोकिरहने झन्झट गर्नुभन्दा फोन राम्रै ब्याट्री टिक्ने खरिद गर्दा राम्रो हुन्छ ।
त्यसका लागि एन्ड्रोइड फोनको सन्दर्भमा ५००० एमएएच वा त्योभन्दा बढी ब्याट्री क्षमता भएको फोन लिनुहोस् । आईफोनका सन्दर्भमा भने ब्याट्री क्षमता कम हुन सक्छ । तर, फोन ठूलोभन्दा पनि ब्याट्री राम्रो भएकोलाई प्राथमिकता दिनुहोस् ।
७) कम्तीमा २५६ जीबी स्टोरेज
आजका फोनले फोटो र भिडिओ हाई रेजोलुसनका खिच्छन्, जसले गर्दा फोनको स्टोरेज बढी खपत हुन्छ । आईफोन १५ प्रोको कुरा गर्ने हो भने त्यसले डिफल्ट सेटिङमा खिचेको फोटो नै २४ मेगापिक्सेल खपत गर्छ भने त्यत्तिकै स्टोरेको फोरके भिडिओ खिच्छ । यदि तपाईंले प्रोरके फर्म्याटमा फोटो खिच्नु भयो भने २५६ जीबी स्टोरेज पनि तपाईंलाई कम पर्न जान्छ ।
आज स्मार्टफोनका लागि बन्ने एपको साइज दिनानुदिन बढ्दै गइरहेको छ । त्यसमा आउने नयाँ-नयाँ अपडेटले बढी मेमोरी खपत गरेका हुन्छन् । स्टाेरेज सकिएला कि भन्ने डरले फोन प्रयोग गर्नुभन्दा समयमै बढी स्टोरेज भएको फोन खरिद गर्नु उपयुक्त हुन्छ । हुन त तपाईंले पछि मासिक वा वार्षिक शुल्क तिरेर क्लाउड स्टोरेज खरिद गर्न सक्नुहुन्छ ।
तर, सुरुमै २५६ जीबी स्टोरेजको फोन लिनुभयो भने त्यति चाँडै स्टोरेज सकिएला कि भन्ने पिर लिएर बस्नु पर्दैन । त्यस्तै तपाईं एन्ड्रोइड फोन लिंदै हुनुहुन्छ भने एसडी कार्ड स्लट भएको लिँदा स्टोरेजका लागि तनाव लिनै पर्दैन ।
८) लामो समयसम्म सफ्टवेयर सपोर्ट पाइने फाेन
यदि तपाईं सुरुमै राम्रै मूल्य तिरेर स्तरीय फोन लिंदै हुनुहुन्छ भने सफ्टवेयर अपडेट र ओएस अपडेटबारे बुझ्नुहोस् । कम्पनीले कति वर्षसम्मको सफ्टवेयर र ओएस अपडेट दिन्छ भन्ने अध्ययन गर्नुहोस् ।
पछिल्लो समय बजार आएको सामसङको ग्यालेक्सी एस २४ सिरिज, गुगलको पिक्सेल ८ आदिमा सात वर्षसम्मको ओएस ओडेट दिने प्रतिबद्धता दिइएको छ । त्यसैले जसले ओएस, सफ्टवेयर र सेक्युरिटी अपडेटको प्रतिबद्धता दिएको हुन्छ, त्यही फोनलाई आफ्नो प्राथमिकतामा राख्नुहोस् ।
यी बाहेक तपाईंले वायेरलेस चार्जिङको सुविधा भएको, उच्च वाटर रेसिस्टेन्स रेटिङ भएको र नयाँ फिचरहरू कुन फोनमा आइरहेका छन् भन्ने विषयलाई मध्यनजर गरेर फोन खरिद गर्न सक्नुहुन्छ ।