close

गुगल पासवर्ड म्यानेजरमा आयो पासवर्ड शेयर गर्न मिल्ने फिचर

टेकपाना टेकपाना

जेठ १०, २०८१ १३:४२

गुगल पासवर्ड म्यानेजरमा आयो पासवर्ड शेयर गर्न मिल्ने फिचर

काठमाडौं । गुगल पासवर्ड म्यानेजरमा पासवर्ड शेयर गर्न मिल्ने फिचर आउन लागेको चर्चा केही समयदेखि चल्दै आएको छ । गुगल स्वयम्‌ले पनि यो विषयलाई निश्चित गरिसकेको थियो ।अन्ततः यस्तो फिचर सार्वजनिक भएको छ ।

कम्पनीले आफ्नो मे २०२४ को गुगल प्ले सर्भिस अपडेट (v24.20) अन्तर्गत गुगल पासवर्ड म्यानेजरमा पासवर्ड शेयरिङ घोषणा गरेको हो । तर यसको खासै अर्थ छैन, किनभने यसले गुगल अकाउन्ट भएका जोसुकै व्यक्तिसँग नभई तपाईंको फेमिली ग्रुपमा रहेका व्यक्तिहरूसँग मात्रै पासवर्ड शेयर गर्न दिन्छ ।

"यो नयाँ फिचरको साथमा अब तपाईंले गुगल पासवर्ड म्यानेजरमा आफ्नो फेमिली ग्रुपसँग सुरक्षित तवरमा पासवर्ड शेयर गर्न सक्नु हुन्छ । जब तपाईं पासवर्ड शेयर गर्नुहुन्छ, तपाईंका परिवारका सदस्यले त्यसको प्रतिलिपि आफ्नो गुगल पासवर्ड म्यानेजरमा पाउन सक्नु हुनेछ, जुन प्रयोग गर्नका लागि तयार अवस्थामा रहेको हुन्छ," गुगलले आफ्नो सपोर्ट पेजमा भनेको छ ।

गुगलले यसअघि पनि पासवर्ड शेयरिङ फिचरले कसरी सहज बनाउँछ भन्ने कुराका लागि केही दृष्टान्त समेत उल्लेख गरेको थियो । जसमा एउटै अकाउन्टबाट 'डेकेयर' गर्न सकिने अथवा बच्चाको स्कुलको गृहकार्यमा अभिभावकले पहुँच बनाउन सकिने जस्ता विषय रहेका छन् । यति मात्र होइन, यो फिचरले नेटफ्लिक्स जस्ता स्ट्रिमिङ सर्भिस, बीमा सम्बन्धी विवरण, भीपीएन लगायतलाई शेयर गर्न सहज बनाउनेछ । 

 

पछिल्लो अध्यावधिक: जेठ १०, २०८१ १३:४३