close

एप्पलले आफ्ना डिभाइसबाट किन हटाउँदै छ ‘आई’ अक्षर ?

टेकपाना टेकपाना

जेठ ११, २०८१ २०:४

एप्पलले आफ्ना डिभाइसबाट किन हटाउँदै छ ‘आई’ अक्षर ?

 

काठमाडौं । सन् १९९० मा पहिलो आईम्याक (iMac) सार्वजनिक गरेदेखि आजसम्म पनि एप्पलको प्रतिनिधित्व ‘आई’ अक्षरले गर्दै आएको छ । आईफोनदेखि आईप्याडसम्म ‘आई’ नै जाेडिएका छन् । आईम्याकले सफलता पाएसँगै कम्पनीले आफ्ना विभिन्न हार्डवेयर, सफ्टवेयरसहित ३० प्रडक्टको नाम ‘आई’ अक्षरलाई पछ्याउँदै राखेको छ । 

तर तपाईँले याद गर्नुभएको छ, एप्पलका पछिल्ला प्रडक्टहरू ‘आई’ अक्षर बिनै आएका छन् । जस्तै; कम्पनीले स्मार्टवाचका रूपमा आईवाच, टिभीका रूपमा आईटिभी वा भिआर हेडसेटमा आईभिजन प्रो ल्याएन ।

हुन त ‘आई’ एक अक्षर मात्र हो । तर, एप्पलसँग यो जसरी जोडिएको छ कि, त्यसलाई हेर्दा मानिसहरू एप्पल वाचलाई पनि ‘आईवाच’ नै भनिरहेका हुन्छन् । 

‘आई’ अक्षरलाई कम्पनीले आफ्ना हरेक प्रडक्टमा उपसर्ग (नामका अगाडि जोडिएर आउने)का रूपमा राख्दै आएको पछिल्लो उदाहरण २०११ मा सार्वजनिक गरेको आईक्लाउड र आईएड हो । त्यस्तै हार्डवेयर डिभाइसकाे सन्दर्भमा एप्पलले ‘आई’लाई उपसर्गका रूपमा सन् २०१० मा आईप्याड ल्याएपछि प्रयोग गरेको छैन । 

कहिलेदेखि हटाउन थाल्यो एप्पलले ‘आई’ ?

हुन त यो एउटा संयोग मात्र पनि हुन सक्छ । तर, आईप्याड स्टिभ जब्सले सार्वजनिक गरेको अन्तिम प्रडक्ट हो । ‘आई’ अक्षरप्रति स्टिभ जब्सको मोह निकै बढी थियो । उनले नै एप्पलले आफ्ना प्रडक्टको नाम ‘आई’ अक्षरबाट सुरु गर्नुपर्छ भन्ने विचार राखेका थिए । तर, सन् २०११ मा उनको निधन भएपछि भने कम्पनीले नयाँ प्रडक्टको नाम ‘आई’ अक्षरबाट राखेको छैन । 

वायर्डसँग कुरा गर्दै कम्पनीका मार्केटिङ प्रमुख केन सेगलले आईम्याक र त्यसमा जोडिएको ‘आई’ अक्षर कै कारण मानिसहरूमा एप्पलका प्रडक्टप्रति रुचि बढेको बताए । यसले दशकौं लामो एप्पलको विरासत धान्दै आएको उनकाे धारणा छ ।

“अब भने ‘आई’ लाई छुट्करा दिनुपर्छ,” उनले भने, “अहिले यसको कुनै अर्थ नै छैन ।” उनका अनुसार सुरुवातमा एप्पलले मात्र प्रयोग गर्दै आएको भए पनि पछिल्लो समय ‘आई’ अक्षर थुप्रै कम्पनीले प्रयोग गर्दै आएका छन् । 

हुन त आईम्याकमा भएको ‘आई’ अक्षरको अर्थ इन्टरनेट समयसँगै असम्बन्धित बन्दै गएको छ । जब पहिलो पटक आईम्याक सार्वजनिक भएको थियो, त्यतिबेला इन्टरनेट कनेक्टिभिटी नै त्यसको सबैभन्दा महत्त्वपूर्ण विशेषता थियो ।

इन्टरनेटको क्षेत्रमा क्रान्ति ल्याउन आईम्याकको भूमिका महत्त्वपूर्ण छ । तर, पछिल्लो समय इन्टरनेट सामान्य विषय बनिसक्यो । इन्टरनेट कनेक्टिभिटी सामान्यभन्दा पनि सामान्य डिभाइसमै उपलब्ध हुन थालिसक्यो । त्यसैले जुन अर्थ आईम्याकको ‘आई’ले बोकेको थियो, त्यो अहिले सान्दर्भिक नभएको उनको तर्क छ ।  

सेगलका अनुसार अहिले ‘आई’को ट्रेडमार्क लिन सम्भव छैन । ट्रेडमार्क नै नभएपछि सुरक्षित राख्न पनि सकिंदैन । त्यसैले एप्पलले विस्तारै यो अक्षर हटाउँदै गइरहेको उनले सुनाए । 

पहिलो पटक यो प्रडक्टमा हटेको थियो एप्पलले ‘आई’

सन् २००६ मा एप्पलले टेलिभिजन सेट-टप बक्सको घोषणा गर्‍यो । त्यतिबेला यसलाई आईटिभी भनिएको थियो । तर, यो नाम लामो समयसम्म रहेन । एप्पलले प्रडक्ट सार्वजनिक गर्नुअघि आई अक्षर हटाएर नयाँ नाम ‘एप्पल टिभी’ राख्यो र प्रडक्ट सार्वजनिक गर्‍याे । त्यतिबेला बेलायतमा आईटिभी नामको कम्पनी पाँच दशकदेखि सञ्चालनमा थियो । टिभी सेट-टप बक्सको नाम आईटिभी राख्दा कानूनी झमेला हुने भएपछि कम्पनीले नयाँ नाम राखेको थियो । 

आफूले चाहेको नाम कसैले पहिले त्यो प्रयोग गरेका छन् कि छैनन् भन्ने कुरा एप्पललाई त्यति वास्ता हुँदैन । तर, आईप्याडका लागि ‘आई’ अक्षर नाममा इन्टिग्रेट गर्न कम्पनीले संघर्ष नै गर्नुपर्‍यो । यसका लागि एप्पलले झन्डै सात वर्ष ट्रेडमार्कका लागि कानूनी लडाईं लड्नुपर्‍यो । सुरुवातमा पनि कम्पनीले यो नाम फुजित्सु नामको कम्पनीबाट खरिद गरेको थियो ।

हुन त एप्पलकाे भिजन प्रोका लागि पनि उजुरी परेको छ । चीनमा यो सार्वजनिक हुनुअघि नै कम्पनीले यो मामला सामसुम पार्नुपर्ने अवस्था छ । 

‘आई’को भविष्य

हुन त कुनै नामले कम्पनीको विरासतलाई नै धानिरहेको छ भने त्यस्तोमा नाम चटक्क हटाउने काम त्यति सजिलो छैन । त्यो पनि इतिहासकै सबैभन्दा ठूलो ब्रान्डका लागि । “तर, यसलाई कम्पनीले लामो समयसम्म जोगाउन सक्दैन,” सेगलले भने, “इन्टरनेट, इनोभेसन जस्ता विषयसँग जोडिएका कम्पनीले ‘आई’ अक्षर आफ्नै तरिकाले प्रयोग गरिरहेका हुन्छन् ।”

सेगलका अनुसार पहिलेको तुलनामा प्रडक्टको नाम गर्ने कुरा अहिले बढी सतर्कता अपनाउनुपर्ने हुन्छ । किनभने एप्पलले सन् २००६ मा ‘पावरबुक’ लाई म्याकबुकका साथ प्रतिस्थापन गर्दा ठूलो जोखिमको सामना गर्नु परेको थियो । त्यसैले एप्पल यस्ता घटना नदोहोरिउन् भन्नेमा सजग छ । 

तर यता एप्पलको आईफोन इतिहासको सबैभन्दा सफल प्रडक्टमध्येको एक हो । एप्पलले यसको नाम पनि परिवर्तन गर्न सक्छ, तर त्यसका लागि उपयुक्त कारण पनि चाहिन्छ । पहिलेको तुलनामा ‘आई’ को महत्त्व बढी नभएकै कारण एप्पल आईफोनबाट याे अक्षर भने हटाउन नसक्ने उनले सुनाए ।

अहिले पनि एप्पलले आईफोन, आईप्याड, आईम्याक, आईक्लाउड र आईमेसेजलाई निरन्तरता दिंदै आएको छ । तर, कम्पनीले आईपड, आईसाइट, आईबुक (एप्पलको ल्यापटप) लाई हटाइसकेको छ । 

कम्पनीले आईबुकको नाम एप्पल बुक राखेको छ । त्यस्तै आईटुल्स, आईडिस्क, आईवेब, आईच्याट र आईसिङ्कलाई विस्थापित गरिसकेको छ । यसका साथै एप्पल आईट्युन्सलाई विस्थापित गर्ने दौडमा छ । अहिले कम्पनीले आफ्नो स्ट्रिमिङ सर्भिस एप्पल म्युजिकलाई प्राथमिकता दिइरहेको छ । यसअघि आईफोटोज नामको सेवा अहिले फोटोज मात्र भएको छ । 

यसरी कम्पनीले विस्तारै ‘आई’ अक्षरलाई विस्तारै विस्थापित गर्दै गइरहेको सेगलले सुनाए ।

पछिल्लो अध्यावधिक: जेठ ११, २०८१ २०:४