close

नेटा र सीएटीएल बिच १० वर्षे रणनीतिक साझेदारी

टेकपाना टेकपाना

जेठ १४, २०८१ १९:१२

नेटा र सीएटीएल बिच १० वर्षे रणनीतिक साझेदारी

काठमाडौं । ब्याट्री उत्पादक कन्टेम्परेरी एम्पेरेक्स टेक्नोलोजी कम्पनी लिमिटेड (सीएटीएल) र चिनियाँ विद्युतीय कार निर्माता स्टार्टअप नेटा अटोसँग रणनीतिक साझेदारीका लागि सम्झौता भएको छ । यही २४ मेमा नेटाको मुख्यालय रहेको चीनको साङ्घाईमा दुई कम्पनीबिच १० वर्षे रणनीतिक साझेदारी सम्झौतामा हस्ताक्षर भएको हो ।

अब दुई कम्पनीले २०२५ देखि २०३४ सम्म रणनीतिक साझेदारी गर्नेछन् । यसअन्तर्गत नेटाले आफ्नो ब्याट्रीको मुख्य आपूर्तिकर्ता सीएटीएललाई बनाउने छ । त्यसै गरी सीएटीएलले नेटालाई ब्याट्रीहरू उचित मूल्यमा बिक्री गर्ने तथा आवश्यक सेवाहरू प्रदान गर्नेछ।

यसका साथै दुवै कम्पनीले शून्य कार्बन, सीएटीएल इन्टिग्रेटेड इन्टेलिजेन्ट च्यासिस (सीआईआईसी), ब्याट्री स्वाप, भेहिकल टु ग्रिड (भीटूजी), ब्याट्री रिसाइकलिङ र बजार विस्तारमा पनि मिलेर काम गर्ने छन् ।

त्यसो त यी दुवै कम्पनीले यसअघिदेखि नै सँगै काम गर्दै आएका छन् । यसअघि पनि ८ नोभेम्बर, २०२१ मा प्रविधि विकास र आपूर्ति श्रृंखलामा सहकार्य गर्न समेत यी कम्पनीले रणनीतिक सहकार्यमा सम्झौता गरेका थिए । 

हालै मात्र बजारमा आएको नेटाको नयाँ गाडीमा सीएटीएलका ब्याट्री राखिएका छन् । यसका साथै नेटाको अब आउने नयाँ कार एस शुटिङ ब्रेकमा विशेष खालको बडी स्टाइल हुने जनाइएको छ । 

जसलाई सीएटीलको नयाँ प्लेटफर्ममा डिजाइन गरिएको छ । अब यो नयाँ साझेदारीले ‘चीनको नेटा’लाई ‘संसारको नेटा’ बनाउन भूमिका खेल्ने नेटाले जनाएको छ । 

नेटा होजोन अटोको ईभी ब्रान्ड हो, जुन अक्टोबर २०१४ मा स्थापना भएको थियो । नेटाले आफ्नो पहिलो पहिलो मोडेल एन जिरो वन (N01) नोभेम्बर २०१८ मा लञ्च गरेको थियो । अहिले भने उक्त मोडेल बन्द भइसकेको छ । 

सीएटीएल भने बिजुली गाडीका लागि संसारको सबैभन्दा ठूलो ब्याट्री निर्माता हो । दक्षिण कोरियाली बजार अनुसन्धानकर्ता एसएनईका अनुसार सन् २०२३ मा विश्व बजारमध्ये ३६.८ प्रतिशत हिस्सा सीएटीएलको मात्रै थियो ।
 

पछिल्लो अध्यावधिक: जेठ १४, २०८१ १९:१२