close

फोन, ल्यापटप जस्ता डिभाइस अत्यधिक तातिन्छन् ? अपनाउनुहोस् यी महत्त्वपूर्ण सुरक्षा टिप्स

टेकपाना टेकपाना

जेठ २१, २०८१ १४:१७

फोन, ल्यापटप जस्ता डिभाइस अत्यधिक तातिन्छन् ? अपनाउनुहोस् यी महत्त्वपूर्ण सुरक्षा टिप्स

 

काठमाडौं । देशको तराईं लगायतका भूभागमा अचाक्ली गर्मी बढेको छ । यस्तोमा रेफ्रिजेरेटर, फ्यान तथा एसी लगातार जसो चल्ने गर्छन् । अनि तापक्रम उच्च भएको समयमा नै स्मार्टफोन, ल्यापटप लगायतका डिभाइस चार्ज गर्नु पर्ने हुन्छ । तर अत्यधिक तातो भएकै कारण विद्युतीय डिभाइसमा अनाहकमा क्षति पुग्न सक्छ । 

के कारणले डिभाइस अत्यधिक तातो हुन्छन् ? 

अधिकांश विद्युतीय उपकरणले आफ्नाे मुख्य काम गर्नेबाहेक ताप पनि निकास गर्छन् । यदि डिभाइस वरपर नै तापक्रम उच्च छ भने डिभाइस ओभरहिट हुन जान्छन् । जसले गर्दा डिभाइसको कार्य क्षमतामा समेत नकारात्मक प्रभाव पार्छ । सामान्य अर्थमा बुझ्दा अत्यधिक गर्मी मौसममा लामो समयसम्म निरन्तर कुनै पनि डिभाइस चलाउँदा ओभरहिट हुने गर्छ । यसले डिभाइसमा आगो समेत टिप्काउन सक्छ । 

यसैकारण एयरलाइन्स कम्पनीहरूले उडानका क्रममा तपाईंलाई पावर बैंक लगायतका विद्युतीय सामग्री बोक्न दिँदैनन् । सायद तपाईंले पनि साँझ बिहानको तुलनामा दिउँसो आफ्नो स्मार्टफोन, ल्यापटप जस्ता डिभाइस बढी तातिएको महसुस गर्नु भएको होला । तल डिभाइस ओभरहिट हुने केही कारणबारे थपमा चर्चा गरिएको छ:

अपर्याप्त भेन्टिलेसन: ल्यापटप, टिभी जस्ता डिभाइस ताप प्याक्ने गरी डिजाइन गरिएको हुन्छ । अर्थात् यिनमा भेन्टिङ्ग सिस्टम हुन्छन् । जब ती भेन्टहरू कुनै कारणले थुनिए भने हावा प्रवाह गर्ने कार्य प्रभावित हुन्छ । फलस्वरुप डिभाइस ओभरहिट हुन्छन् । 

निरन्तर प्रयोग: निरन्तरको प्रयोगले समेत डिभाइस ओभरहिट हुन्छन् । अझ गेमिङ, भिडिओ एडिटिङ जस्ता बढी प्रोसेसिङ चाहिने डिभाइस छन् भने ओभरहिट हुने सम्भावना बढी हुन्छ । किनकि डिभाइसले चिस्सिने समय पाउँदैनन् । 

वरपर उच्च तापक्रम: माथि उल्लेख गरिए जसरी डिभाइस वरपरको तापक्रमले समेत डिभाइसको ओभरहिटलाई प्रभाव पार्छ । कुनै पनि डिभाइस नजिकै उच्च तापक्रम छ भने तिनलाई चिस्सिन गाह्रो हुन्छ । चाहे डिभाइसमा प्रत्यक्ष सूर्यको किरण लागेको होस् या वरपर उच्च ताप निकाल्ने डिभाइस, यी सबै ओभरहिटका कारण बन्न सक्छन् । 

धुलो: कहिलेकाहीँ डिभाइसको कुलिङ सिस्टमलाई धुलोले असर पार्ने गर्छ । नतिजा स्वरुप कुलिङ सिस्टमले राम्ररी काम नगर्दा डिभाइस तातिन्छ । विशेष गरेर एसी, ल्यापटपमा यस्तो असर देखिन सक्छ । 

ओभरहिटबाट डिभाइसलाई कसरी बचाउने ?
 

-यदि तपाईंलाई आफ्नो डिभाइस ओभरहिट भएको लाग्छ भने तिनलाई केही बेर रोक्नु उचित हुन सक्छ । यसका लागि पावर सोर्सबाट अनप्लग गर्नुहोस् । अनि जबसम्म डिभाइस पूर्ण रुप चिसिँदैन, त्यसबेलासम्म डिभाइस नचलाउनुहोस् । 

-स्मार्टफोन वा ल्यापटपलाई ओभरहिटबाट बचाउने समान्य तरिका अनावश्यक एप्लिकेसन र ब्राइटनेस कम गर्नु हो । यी डिभाइस अत्यधिक तातिएको छ भने तपाईंले एयरप्लेन मोडमा राखेर केही बेर छाड्न सक्नुहुन्छ । 

-ओभरहिट हुनबाट बचाउने अर्को तरिका सूर्यको प्रत्यक्ष किरण नपर्ने गरी डिभाइसलाई राख्नु हो । स्मार्टफोनका हकमा तपाईंले मोबाइलको कभर झिक्न र ल्यापटपको हकमा कुलिङ फ्यान प्रयोग गर्न सक्नुहुन्छ ।

डिभाइसमा आगो लागिहाले के गर्ने ?

कहिलेकाहीँ सावधानी अपनाउँदा पनि दुर्घटना हुन सक्छ । यदि ओभरहिटका कारण आगो लागिहाले निम्न काम गर्नुहाेस्:

-सामान्यत: विद्युतीय उपकरणमा आगलानी हुनु अघि डढेको गन्ध आउँछ । यदि त्यस्तो गन्ध थाहा पाउनु भयाे भने सबैभन्दा सुरुमा डिभाइस अनप्लग गर्नु पर्छ । आगो नै लागिहाले तपाईं आफू सुरक्षित भएर सबैभन्दा पहिले डिभाइसको पावर सप्लाइ बन्द गर्नुपर्छ । 

-यदि आगो सानो र निभाउन सकिने खालको छ भने आगो निभाउने उपकरण प्रयोग गर्नुहोस् । सम्झनु पर्ने कुरा, पानी प्रयोग नगर्नुहोस् । किनकि त्यसले थप क्षति पुर्‍याउन सक्छ ।

-यदि आगो नियन्त्रणभन्दा बाहिर गए तुरुन्तै दमकललाई कल गर्नुहोस् । यसबेला नअतालिकन सुरक्षित स्थानमा जानुहोस् ।

-आगलागीबाट क्षति पुगेका डिभाइस पुन: प्रयोग नगर्नुहोस् । सुरक्षित जस्तो देखि पनि थप क्षति हुने सम्भावना हुन्छ ।

पछिल्लो अध्यावधिक: जेठ २१, २०८१ १४:३०