close

फोनबाटै यसरी निःशुल्क बनाउनुहोस् चित्र बनाएको जस्तै भिडिओ

टेकपाना टेकपाना

जेठ २२, २०८१ १३:३७

फोनबाटै यसरी निःशुल्क बनाउनुहोस् चित्र बनाएको जस्तै भिडिओ

काठमाडौं । तपाईं कुनै प्रेजेन्टेसन बनाउँदै हुनुहुन्छ वा कुनै शीर्षकमा भिडिओ बनाउँदै हुनुहुन्छ भने एनिमेटेड भिडिओ निकै महत्त्वपूर्ण हुन्छ । फोटोलाई नै भिडिओका रूपमा प्रस्तुत गर्दा अडियन्सले रुचाउँछन् । त्यसबाहेक फोटोले नै बी-रोलको भूमिका निभाउनु पर्‍यो भने एनिमेटेड फोटो महत्त्वपूर्ण हुन्छ । 

दर्शकलाई भिडिओमा अडाएर राख्नका लागि स्पिड पेन्टर एनिमेसन बढी प्रयोग भइरहेको हुन्छ । स्पिड पेन्टर भन्नाले कुनै पनि फोटोलाई चित्र बनाएको जस्तै इफेक्टमा देखाउन सघाउने टुल हो । यसलाई ह्वाइट बोर्ड एनिमेसन पनि भनिन्छ ।

यस्तो एनिमेसन कसरी बनाउने भन्ने खोज्नुभयो भने अधिकांश सशुल्क भर्सनको सुझाव आइरहेको हुन्छ । आज हामी फोनबाटै निःशुल्क कसरी स्पिड पेन्टर एनिमेसन बनाउने भन्ने विषयमा जानकारी दिंदैछौं । 

त्यसका लागि सबैभन्दा पहिले यहाँ क्लिक गरेर क्यान्भा एप इन्स्टल गर्नुहोस् । (एन्ड्रोइड र आईओएस दुवै प्रयोगकर्ताले माथिको लिङ्कमा क्लिक गरेर एप इन्स्टल गर्न सक्नुहुन्छ ।) 

  • त्यसपछि इन्स्टल गरेको एप खोल्नुहोस् । 

  • यति भएपछि तपाईंले गुगल, फेसबुक वा अन्य प्लेटफर्मबाट अकाउन्ट बनाउन सक्नुहुन्छ । त्यसमध्ये सबैभन्दा उपयुक्त गुगल अकाउन्ट हुन सक्छ । 

  • त्यसका लागि ‘कन्टिन्यु विथ गुगल अकाउन्ट’ को अप्सनमा ट्याप गर्नुहोस् । 

  • अनि, आफूले चाहेको गुगल अकाउन्ट छान्नुहोस् ।  त्यसरी क्यान्भामा तपाईंको अकाउन्ट खुल्छ । 

यति गरेपछि तपाईं एनिमेसन बनाउने चरणमा प्रवेश गर्नुहोस् । एनिमेसन बनाउनका लागि तपाईंले सबैभन्दा पहिले माथि देखिने भिडिओको आइकनमा ट्याप गर्नुपर्ने हुन्छ । 

  • त्यसपछि सबैभन्दा पहिले देखिने भिडिओको अप्सन छान्नुहोस् । 

  • यति गरेपछि त्यहाँ विभिन्न टेम्प्लेटका भिडिओ देखिन्छन् । तपाईंले सबैभन्दा माथि देखिने ब्ल्याङ्क भिडिओको टेम्प्लेट छान्नुपर्ने हुन्छ । 

  • त्यसपछि तलपट्टि बारमा विभिन्न टुलहरू देखिन्छ । त्यसलाई बायाँपट्टि सार्दै ‘एप्स’ (Apps) को बटनमा ट्याप गर्नुहोस् । 

  • अनि सर्च बारमा ‘Speed Painter’ सर्च गर्नुहोस् । 

  • हामीले यहाँ प्रयोग गर्न खोजेको एनिमेसन सदबैभन्दा पहिलो स्थानमा देखिन्छ । सो अप्सनमा गएर ओपनको बटनमा ट्याप गर्नुहोस् । 

  • यति गरेपछि तपाईंलाई कुन फोटोलाई एनिमेट गर्न चाहनु भएको त्यो फाइल छान्नुपर्ने हुन्छ । त्यसका लागि ‘Choose File’ मा ट्याप गर्नुहोस् । 

  • फोटो छानिसकेपछि त्यहाँ स्केच बनाएको कति सेकेन्ड देखाउने अनि कलर भरेको कति सेकेन्डसम्म देखाउने भन्ने अप्सन छान्नुपर्छ । डिफल्ट तीन सेकेन्डको राखिएको हुन्छ । यो भनेको उक्त क्लिप छ सेकेन्डको हुन्छ । तपाईंले आफ्नो आवश्यकता अनुसार समय थपघट गर्न सक्नुहुन्छ । 

  • यति भएपछि तलपट्टि देखिएको ‘जेनेरेट’ (Generate) को बटनमा ट्याप गर्नुहोस् । 

  • तपाईंले फोनमा यो बनाउँदा बढी समय लाग्छ । कम्प्युटरको ब्राउजर वा वेब एपबाट बनाउँदा केही सेकेन्डमै भिडिओ तयार हुन्छ । त्यसैले फोनमा बनाउँदा केही समय धैर्य गर्नुपर्ने हुन्छ ।
    (साधारणतः ३ सेकेन्डको एनिमेटेड भिडिओ वेब एप वा ब्राउजरमा ३० सेकेन्डमै भिडिओ तयार हुन्छ भने मोबाइल एपमा पाँचदेखि १० मिनेटसम्म लाग्न सक्छ ।)

यसरी भिडिओ तयार भइसकेपछि  त्यहाँ ‘एड भिडिओ टु डिजाइन’ (Add Video to design) को बटनमा ट्याप गर्नुपर्ने हुन्छ । त्यति भएपछि भिडिओ तपाईंले छानेको ब्ल्याङ्क टेम्प्लेटमा देखिन्छ । 

भिडिओलाई आफ्नो आवश्यकता अनुसार एडजस्ट गरिसकेपछि माथि दायाँपट्टि छेउमा हुने भिडिओ डाउनलोड गर्ने आइकन छान्नुहोस् । र, तलपट्टि देखिएको डाउनलोड लेखेको अप्सनमा ट्याप गर्नुहोस् । 

त्यति गरेपछि स्वचालित रूपमा उक्त फाइल भिडिओका रूपमा डाउनलोड हुने भनेर छनौट हुन्छ । यति गरेर तलपट्टि देखिएको डाउनलोडको बटनमा ट्याप गर्नुभयो भने एनिमेटेड भिडिओ डाउनलोड हुन्छ । 

पछिल्लो अध्यावधिक: जेठ २२, २०८१ १३:४४