काठमाडौं । नेपाली बजारमा ‘अवतार’ नामकाे चिनियाँ ब्रान्डको विद्युतीय गाडी आउने भएको छ । सीजी मोटर्स र एमएडब्लू ग्रुपले अवतार टेक्नोलोजीले उत्पादन गरेकाे ‘अवतार ११’ माेडेलकाे ईभी ल्याउने तयारी गरेका हुन् ।
केही समयअघि सम्पन्न बेइजिङ अटो शोमा यस ईभी ल्याउन अवतार, सीजी मोटर्स र एमएडब्लू ग्रुपबीच सहकार्यको घोषणा भएको थियो । यसै अन्तर्गत चीनमा अवस्थित अवतारकाे कारखानाबाट ‘अवतार ११’ आज नेपालतर्फ हिंडेकाे सीजी माेटर्सले जानकारी दिएको छ ।
अबको दुई हप्ताभित्र यो गाडी नेपाल भित्रिसक्ने बताइएको छ । पूर्ण विद्युतीय रहेको यो गाडीलाई मध्यम वर्गको लक्जरी क्रशओभर एसयूभी मानिएकाे छ ।
यस गाडीमा चाङ्गन अटोमोबाइल, लिथियम आयन ब्याट्री बनाउने सीएटीएल र ह्वावेको संयुक्त लगानी रहेको छ । ‘अवतार ११’ मा अत्याधुनिक हेलो (Halo) स्क्रिन प्रयोग भएको छ, जुन विद्युतीय गाडीमध्यकै पहिलाे भएकाे बताइएकाे छ ।
चिनियाँ बजारमा यो माेडेलकाे गाडीमा ९०.३८ र ११६.७९ किलोवाट आवरको ब्याट्री अप्सन दिइएको छ । जसमध्ये ९०.३८ किलोवाट ब्याट्री भेरियन्टले ५५५ किलोमिटर र ११६.७९ किलोवाट क्षमता भएको भेरियन्टले ६८० किलोमिटर रेञ्ज दिने बताइएको छ ।
नेपालमा ११६.७९ किलोवाट भेरियन्टको माेडेल आउने चर्चा छ । त्यस्तै यसमा शक्तिशाली ४२४ किलाेवाट इलेक्ट्रिक माेटर रहेकाे छ ।
यस गाडीले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति केवल ३.९८ सेकेन्डभित्रै पकड्ने बताइएको छ । साथै गाडीकाे अधिकतम गति २०० किलोमिटर प्रति घण्टा हुनेछ ।
कम्पनीले यो गाडीलाई १० मिनेट चार्ज गर्दा २०० किलोमिटरको रेञ्ज दिने दाबी गरेकाे छ । यसमा पाँच ओटा सिट छ भने ती सबै लेदरबाट बनेका छन् ।
कम्पनीका अनुसार यसमा ह्वावेको हार्मोनीओएस अपरेटिङ सिस्टम र हाईकार अटोनोमस ड्राइभ टेक्नोलोजी प्रयोग गरिएको हुने छ । ५४५ लिटर बुट स्पेस क्षमता भएको यस गाडीमा अधिक टर्क ६५० न्यूटन मिटर हुने छ ।
हाल चिनियाँ बजारमा ५६ हजार ७०० डलर (७५ लाख नेपाली रुपैयाँ बढी) मूल्य रहेकाे याे गाडी नेपालमा भने दुई कराेड रुपैयाँ वरपरमा बिक्री हुने अनुमान छ । भन्सार, अन्त:शुल्क, भ्याट, बीमा, कम्पनीकाे नाफा आदिका आधारमा नेपालमा गाडीकाे मूल्य निर्धारण हुने गरेकाे छ ।