close

अनलाइन सम्पर्कमा आयो २४ अर्ब किलोमिटर टाढा रहेको ‘भोयजर’ यान, पृथ्वीमा पठायो नयाँ डेटा

टेकपाना टेकपाना

असार २, २०८१ १३:४५

अनलाइन सम्पर्कमा आयो २४ अर्ब किलोमिटर टाढा रहेको ‘भोयजर’ यान, पृथ्वीमा पठायो नयाँ डेटा

काठमाडौं । पृथ्वीबाट २४ अर्ब किलोमिटर टाढा रहेको मानव निर्मित वस्तु ‘भोयजर-१’ यानले पुन: पृथ्वीमा डेटा पठाएको छ । अमेरिकाको अन्तरिक्ष एजेन्सी नासाको जेट प्रोपल्सन ल्याबाेरेटरीले एक ब्लग लेख्दै पुन: वैज्ञानिक कामका लागि भोयजर १ यानले पृथ्वीमा डेटा पठाएको जानकारी दिएको हो । 

नासाका अनुसार यस अन्तरिक्ष यानमा भएका चार ओटै यन्त्रले सङ्कलन गरेका डेटा पृथ्वीमा पठाइएका छन् । यानमा नोभेम्बर २०२३ देखि समस्या आएर यान सम्पर्क हुन सकेको थिएन । अहिले वैज्ञानिकले यानमा भएको समस्या पहिचान गरेर समाधान गरिसकेका छन् ।

वैज्ञानिकका अनुसार सङ्कलन गरिएका डेटा पृथ्वीमा पठाउन प्रयोग हुने यानको फ्लाइट डेटा सबसिस्टम (एफडीएस)मा समस्या भएको थियो । सो कुराको समाधान गर्न वैज्ञानिकहरूले नयाँ कोड यानमा पठाएका थिए । मर्मत भएपछि यान पहिलो पटक गत अप्रिलमा पुन: सम्पर्कमा आएको थियो ।

४६ वर्ष पुरानो यो यानलाई सुरुमा वृहस्पति र शनि ग्रहको अध्ययन गर्न सन् १९७७ मा प्रक्षेपण गरिएको थियो । सो मिसन औपचारिक रुपमा १९८० मा नै पूरा भएपनि यान अझैसम्म सक्रिय रहेको छ । यसपछि अरुण र वरुण ग्रहको समेत अध्ययन गर्न भोयजर-२ पठाइएको थियो ।

यी दुवै यान इन्टरस्टेलर स्पेस (तारा अथवा ग्रह नभएको स्थान) मा रहेको नासाको भनाइ छ । जसले गर्दा अन्तरिक्षको रहस्यमयी क्षेत्रबारे अझ महत्त्वपूर्ण डेटा प्राप्त हुने वैज्ञानिकले आशा गरेका छन् ।

पछिल्लो अध्यावधिक: असार २, २०८१ १३:५१