close

‘हाइड्रोजन गाडीलाई ईभी सरह नम्बर प्लेट दिनुपर्छ’

टेकपाना टेकपाना

असार २, २०८१ १४:३८

‘हाइड्रोजन गाडीलाई ईभी सरह नम्बर प्लेट दिनुपर्छ’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं सांसद राजेन्द्र लिङदेनले हाइड्रोजन गाडीलाई पनि विद्युतीय गाडी सरह नम्बर प्लेट उपलब्ध गराउन सुझाव दिएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयक माथिको छलफलमा बोल्दै उनले देशकै ऊर्जा खपत गर्ने हाइड्रोजनयुक्त सवारीलाई विद्युतीय सवारी सरह नम्बर प्लेट उपलब्ध गराउनुपर्ने र त्यही सरह कर लगाउनुपर्ने धारणा राखेका हुन् ।

“हाइड्रोजनको कुरा त आयो । तर यसको कुरा जसरी जोड दिएर आउनुपर्ने थियो, त्यसरी आएन,” उनले भने, “यो ऊर्जा मन्त्रालयसँग मात्र सम्बन्धित होइन । त्यसमा अहिले हाइड्रोजनको परीक्षण उत्पादन भइसकेको छ ।”

उनले अगाडि भने, “त्यो हाइड्रोजन प्रयोग भएर काठमाडौंमा गाडी गुडाएर विश्वविद्यालयले देखाइसकेको छ । हामीले भविष्यमा हाम्रो ऊर्जा कहाँ खपत गर्ने भनेर चिन्ता लिइराखेका छौं । हाम्रो ऊर्जा यहाँ खपत गर्न सकिन्छ भनेर हाम्रा वैज्ञानिकहरूले देखाइसके ।”

त्यस्तै उनले उक्त हाइड्रोजन गाडीलाई नम्बर प्लेट लगाइदिने सम्म काम हाम्रो सरकारले गर्न नसकेको उनले टिप्पणी गरे ।

“उनीहरूले कम्पाउन्डभित्रै त्यो गाडी गुडाइराखेका छन्,” उनले अगाडि भने, “कमसेकम त्यसलाई एउटा सानो टिप्पणी उठाएर एकै दिनमा सकिने कुरा ईभी गाडी सरह हाइड्रोजन गाडीलाई पनि नम्बर प्लेट दिने, भनेको कर पनि त्यही सरह लिने र नम्बर प्लेट लगाइदिने भयो भने सायद हाइड्रोजन गाडीको आयात पनि सुरु हुन्छ ।”

हाइड्रोजन उत्पादन कसरी सस्तो बनाउने भन्नेमा छलफल गर्नुपर्ने समय आएको बताए । हाइड्रोजनलाई सस्तो इन्धनका रूपमा प्रयोग गर्न उत्पादनमा जोड दिनुपर्ने भन्दै सरोकारवाला व्यक्तिहरूसँग कुरा गर्नुपर्ने उनको भनाइ छ ।

पछिल्लो अध्यावधिक: असार २, २०८१ १५:१४