close

राष्ट्रिय परिचयपत्रमा ड्राइभिङ लाइसेन्स लिङ्कका लागि के गर्ने ?

टेकपाना टेकपाना

असार २, २०८१ १६:२०

राष्ट्रिय परिचयपत्रमा ड्राइभिङ लाइसेन्स लिङ्कका लागि के गर्ने ?

काठमाडौं । १ साउनदेखि नागरिकले ट्राफिक प्रहरीलाई सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को सट्टा राष्ट्रिय परिचयपत्र देखाए पुग्ने भएको छ । गृह मन्त्रालय, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र  यातायात व्यवस्था विभागको समन्वयमा यस्तो व्यवस्था लागू गर्न लागिएको हो । 

कतिपय सेवाग्राहीसँग ड्राइभिङ लाइसेन्स भएपनि राष्ट्रिय परिचयपत्र नहुन सक्छ । त्यस्तै कतिपयसँग राष्ट्रिय परिचयपत्र भएको तर ड्राइभिङ लाइसेन्स नभएको हुन सक्छ । यसैगरी कसैसँग राष्ट्रिय परिचयपत्र र ड्राइभिङ लाइसेन्स दुवै छुट्टाछुट्टै हुन सक्छ । यस्तोमा राष्ट्रिय परिचयपत्रमा ड्राइभिङ लाइसेन्स लिङ्क गर्न के गर्ने भन्ने जिज्ञासा हुन सक्छ । 

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालका अनुसार राष्ट्रिय परिचयपत्रमा लाइसेन्सको डेटा इन्टिग्रेट (एकीकृत) वा लिङ्क गर्ने काम सिस्टमले नै गर्नेछ । अर्थात् सेवाग्राहीले डेटा लिङ्क गर्न केही गर्नु पर्दैन ।

“सवारी चालक अनुमतिपत्र पनि भएको र राष्ट्रिय परिचयपत्र पनि छ भने सेवाग्राहीले केही गर्नु पर्दैन,” महानिर्देशक रिजालले भने, “सबै हाम्रो सिस्टमबाट लिङ्क हुने काम भइसक्यो ।”

राष्ट्रिय परिचयपत्र नपाएका तर सवारी चालक अनुमतिपत्र पाएका सेवाग्राहीकाे हकमा अब राष्ट्रिय परिचयपत्र पाउँदा त्यसमा पनि स्वतः ड्राइभिङ लाइसेन्स लिङ्क भएर आउने उनले बताए । अर्थात् सवारी चालक भएका तर राष्ट्रिय परिचयपत्र नलिएका सेवाग्राहीले पनि कुनै झन्झट लिनुपर्ने छैन । उनीहरूले पाउने राष्ट्रिय परिचयपत्रमा लाइसेन्स लिङ्क भएर आउनेछ ।

ड्राइभिङ लाइसेन्सकाे परीक्षा सफल नयाँ सेवाग्राहीको हकमा स्मार्ट ड्राइभिङ लाइसेन्स नभई राष्ट्रिय परिचयपत्र नै उपलब्ध गराउने व्यवस्था मिलाएको रिजालको भनाइ छ । उनले भने, “सवारी चालक अनुमति पाउन बाँकी छ र राष्ट्रिय परिचयपत्र पनि नपाएका सेवाग्राहीलाई प्राथमिकतामा राखेर राष्ट्रिय परिचयपत्र उपलब्ध गराउँछौं ।”

पछिल्लो अध्यावधिक: असार २, २०८१ १६:२३