close

तपाईंको एन्ड्रोइड फोन चार्ज भइरहेको छैन ? यसरी गर्नुहोस् समाधान

टेकपाना टेकपाना

असार ३, २०८१ १७:४

तपाईंको एन्ड्रोइड फोन चार्ज भइरहेको छैन ? यसरी गर्नुहोस् समाधान

काठमाडौं । आजभोलि स्मार्टफोन मानव जीवनको एक अभिन्न अङ्ग बनिसकेको छ । फोटो खिच्न, भिडिओ हेर्न, साथी भाइसँग गफिन, खेल हेर्न, सूचना लिन सबै सबै काममा स्मार्टफोन जोडिने गर्छ । स्मार्टफोनलाई यी सबै काम गर्न ब्याट्री अत्यावश्यक हुन्छ । सोहीकारण प्रयोगकर्ताले अलि लामो समय  ब्याट्री टिक्ने स्मार्टफोन खोज्छन् । कहिलेकाहीँ चार्जिङमा समस्या आउँदा पनि ब्याट्रीका लागि गम्भीर विषय बनिदिन्छ । चार्जरमा समस्या आउने बाहेक फोनले चार्ज नै नलिन पनि सक्छ ।

चार्जिङ पोर्ट, तार, मौसम आदिका कारण यसो हुने गर्छ । यदि तपाईंले पनि यस्तै समस्या भोगिरहनु भएको छ भने आज हामी समाधानका केही उपायबारे बताउँदै छौं ।

चार्जिङ पोर्ट चेक गर्ने  

मोबाइल चार्ज नहुने समस्या देखिए सबैभन्दा पहिला चार्जिङ पोर्ट हेर्नुहोस् । यदि फोनको चार्जिङ पोर्टमा कभर लगायतका वस्तुले अवरोध पुर्‍याएको छ भने त्यसलाई हटाउनुहोस् । कतिपय अवस्थामा फोन कभरका कारण पनि चार्ज नहुन सक्छ । यसका साथै तारहरू निकै अव्यवस्थित छन् भने पनि राम्ररी चार्ज नहुन सक्छ । 

त्यस्तै फोनको चार्जिङ पोर्टमा केही वस्तु अड्किंदा पनि समस्या देखिन सक्छ । यसका साथै त्यहाँ जोडिने चार्जरको तार हल्लिदा‍ पनि चार्ज नहुने समस्या आउँछ । 

फोनको अवस्था हेर्ने 

चार्जिङ नहुनुको कारण फोनको अवस्था पनि हुन सक्छ । फोन पानीमा खस्दा, अग्लो स्थानबाट झर्दा, भौतिक क्षति पुग्दा चार्ज नलिने समस्या आउन सक्छ । आजभोलिका पानी प्रतिरोधी फोनहरूमा समेत यस्तो समस्या देखिने गर्छ । यस कारण पानीमा खसे लगत्तै चार्ज गर्दा नहुन सक्छ ।

वातावरण हेर्ने 

यदि अत्यधिक गर्मीको मौसम छ भने पनि फोनले चार्ज नलिन सक्छ । आवश्यकभन्दा बढी तापक्रम भएमा फोनले त्यसको पहिचान गर्दा ब्याट्रीको सुरक्षाका लागि फोन आफैंले चार्ज रोक्ने गर्छ । यसकारण फोनलाई केही चिस्याएर पुन: चार्ज गर्न सक्नुहुन्छ ।

केबुल चेक गर्ने 

बिग्रेका, पुराना केबुल प्रयोग गर्दा पनि चार्ज नहुन सक्छ । त्यस्तो केबुल भएको चार्जर प्रयोग गर्दा निकै जोखिम पनि हुन सक्छ । केबुल भित्रको तारलाई आँखाले हेर्न सकिंदैन । त्यस कारण यदि अन्य चार्जर छन् भने ती प्रयोग गरी हेर्नुहोस् । त्यसो गर्दा चार्ज भए पहिलेको केबुल बिग्रिएको बुझ्न सक्नु हुन्छ ।

प्लग सकेट हेर्ने

फोन र चार्जर ठीक भए पनि सकेटका कारण पनि चार्ज नहुन सक्छ । यदि सकेटमा क्षति पुगेको भए कुनै समस्या आएको हुन सक्छ । त्यस्तो अवस्थामा इलेक्ट्रिसियनलाई बोलाएर सकेट मर्मत गर्न सक्नुहुन्छ ।

बढी ब्याट्री खपत गर्ने एप बन्द गर्ने  

अलि पुराना फोनहरूमा चार्ज गर्दा पनि ब्याट्रीमा चार्जको प्रतिशत बढ्दै बढ्दैन । यो समस्या बढी ब्याट्री खपत गर्ने एपका कारण हुने गर्छ । एकातर्फ चार्ज भइरहेको हुन्छ, अर्को तर्फ त्यत्तिकै खपत पनि भइरहेको हुन्छ । त्यस्तो अवस्थामा तपाईंले ती एपहरू बन्द गर्न सक्नुहुन्छ । अथवा चार्जिङ गर्ने क्रममा मोबाइल अफ गर्न सक्नुहुन्छ ।

वायरलेस चार्जिङको प्रयास गर्ने 

यदि तपाईंको फोनले वायरलेस चार्जिङ सपोर्ट गर्छ भने एक पटक त्यो पनि प्रयास गर्नुहोस् । सो क्रममा चार्ज भए तारयुक्त चार्जिङमा समस्या रहेको बुझ्न सकिन्छ । यद्यपि वायरलेस चार्जिङका पनि आफ्नै बेफाइदा भने रहेका छन् ।

ब्याट्री फेर्ने  

माथि उल्लिखित कारण बाहेक फोन चार्ज नुहुनुमा स्वयँ ब्याट्री कै कारण पनि हुन सक्छ । यदि तपाईंको फोन तीन/चार वर्ष पुरानो छ भने चार्ज नुहुनुको कारण ब्याट्री हुन सक्छ ।  त्यस्तो अवस्थामा ब्याट्री फेर्नुबाहेक अन्य विकल्प प्रभावकारी हुँदैन । तर अहिलेका अधिकांश आधुनिक फोनमा सिल गरिएको ब्याक प्यानल हुने गर्छ ।  

यति गर्दा पनि चार्ज नभए के गर्ने ? 

माथिका सबै उपाय अपनाउँदा पनि चार्जिङको समस्या समाधान नहुन सक्छ । यदि तपाईंको फोन अझै पनि वारेन्टी अवधि भित्र छ भने तपाईंले फोन किनेको स्थानमा जान सक्नुहुन्छ । जहाँ प्राविधिकले फोनमा भएका समस्या समाधान गर्न सक्छन् । तर फोनको वारेन्टी समाप्त भइसकेको अवस्थामा भने तपाईंले आफ्नै खर्चमा फोन मर्मत गराउनु पर्ने हुन्छ ।

पछिल्लो अध्यावधिक: असार ३, २०८१ १७:४