close

क्रोमको मोबाइल एपमा आउँदै वेब पेज पढेर सुनाइदिने फिचर

टेकपाना टेकपाना

असार ४, २०८१ १०:१६

क्रोमको मोबाइल एपमा आउँदै वेब पेज पढेर सुनाइदिने फिचर

काठमाडौं । वेब पेजमा भएको कन्टेन्ट पढ्नका लागि गुगलले क्रोममा नयाँ फिचर ल्याउने भएको छ । गुगलले एन्ड्रोइड क्रोम ब्राउजरमा 'लिसन टु दिस पेज' नामक नयाँ फिचर ल्याउन लागेको हो ।

यो फिचर म्युजिक अथवा पोडकास्ट प्लेयरमा हुने प्ले ब्याक कन्ट्रोल जस्तै हुने बताइएको छ । त्यसो हुँदा तपाईंले यो फिचरमार्फत पढिरहँदा पज गर्न, रिडिङ स्पिड कम/बढी गर्न, फर्वाड अथवा स्किप गर्न सक्नु हुनेछ । त्यस्तै तपाईंले आवाज र भाषा समेत परिवर्तन गर्न सक्नहुन्छ । यसले अङ्ग्रेजी, फ्रेन्च, जर्मन, अरबी, हिन्दी र स्पेनिस लगायतका भाषा सपोर्ट गर्ने बताइएको छ । 

गुगल हेल्प पेजका अनुसार यो फिचर प्रयोग गर्न कुनै पनि वेब पेजमा गएपछि माथिल्लो दायाँ भागमा भएको तीन ओटा डटमा क्लिक गर्नुपर्छ । त्यसमा आउने विभिन्न विकल्पमध्ये 'लिसन टु दिस पेज' छनौट गर्नुपर्छ । सो विकल्पमा क्लिक गरेर यो फिचर प्रयोग गर्न सकिनेछ ।

यद्यपि तपाईंले गुगल असिस्टेन्टलाई कुनै पनि वेब पेज पढ्न अथवा अनुवाद गर्न लगाउन सक्नुहुन्छ । तर त्यसो गर्दा ब्राउजर बन्द गरेर गुगल एप खुल्छ । अब भने ब्राउजरमा रहेर नै सो कुरा सुन्न सकिने भएको हो । गुगलले यही फिचर क्रोमको डेस्कटप भर्सन र आईफोनको सफारीमा पनि परीक्षण गरिरहेको छ । यद्यपि यी सबैमा यो फिचर अहिले बेटा भर्सनमा रहेको छ ।

पछिल्लो अध्यावधिक: असार ४, २०८१ १०:१६