close

मोबाइलमा हुने टास्क र रिमाइन्डर एपमा झुक्किनु भयो ? यस्तो छ फरक

टेकपाना टेकपाना

असार ५, २०८१ १८:४८

मोबाइलमा हुने टास्क र रिमाइन्डर एपमा झुक्किनु भयो ? यस्तो छ फरक

 

काठमाडौं । प्राय: स्मार्टफोनमा टास्क र रिमाइन्डर एप डिफल्ट रूपमा उपलब्ध हुन्छन् । भविष्यमा गरिने कामका लागि यी दुवै एप छन् । तर प्रकार उस्तै भएकाले यसमा कतिपय प्रयोगकर्ता झुक्किन सक्छन् । यदि फोनमा यी एप छैनन् भने थर्ड पार्टी एप पनि प्रयोग गर्न सकिन्छ । आज हामी यी एपको भिन्नता र प्रयोजनबारे चर्चा गर्दै छौं: 

शाब्दिक रूपमा कुरा गर्ने हो भने पनि यी दुईबीच भिन्नता रहेको थाहा पाउन सकिन्छ । रिमाइन्डर, अर्थात् सम्झाइदिने । टास्क, अर्थात् काम । यसरी शब्दको अर्थ झैं यी एपको प्रयोजनमा पनि भिन्नता छ । अझ सरल भाषामा भन्नु पर्दा रिमाइन्डर एपले तपाईंले के गर्नुपर्छ भनेर सम्झाइदिन्छ भने टास्कले तपाईंले गर्नुपर्ने काम सम्झाउँछ । 

सामान्य रूपमा रिमाइन्डरले क्यालेन्डर अथवा अलार्म एप जसरी काम गर्छ । भविष्यमा तपाईंले कुनै पनि काम गर्दा अथवा कुनै ठाउँ पुग्दा रिमाइन्डर राख्नुभयो भने फोनले अलार्म बजाएर सूचित गर्छ । जसलाई तपाईंले सामान्य अलार्म जसरी लिन सक्नुहुन्छ । अर्थात् तपाईंलाई कहाँ अथवा कतिबेला सम्झाउनुपर्छ भन्ने कुरा रिमाइन्डर एपमा सेट गर्न सकिन्छ । दैनिक कार्यका लागि यो एप उपयोगी हुन्छ । 

टास्क एप भने प्राय: टास्क म्यानेजमेन्ट अथवा प्रोजेक्ट म्यानेजमेन्ट एप खालको हुन्छ । यसले ‘टु डु लिस्ट’ जसरी काम गर्छ । भविष्यमा गरिने कुनै पनि काम अथवा परियोजना सम्झाउन, तिनीहरूलाई प्राथमिकीकरण गर्न टास्क एप उपयोगी हुन्छ । त्यस्तै गर्न बाँकी काम सम्झाउन अथवा शेयर गरेर कुनै पनि काम जिम्मा लगाउन सक्नुहुन्छ । यसका साथै तपाईंले कामभित्र हुने अन्य काम पनि राख्न सक्नुहुन्छ । टास्कको नोटिफिकेसन मात्र आउँछ । 

पुन: दोहोर्‍याउँदा टास्क एक प्रकारको काम हो भने सो काम के हो भनेर सम्झाउने रिमाइन्डर हो । 

रिमाइन्डर कसरी सेट गर्ने ?

  • रिमाइन्डर एप खोल्नुहोस् ।

  • त्यहाँ रहेको ‘प्लस’ चिन्हमा क्लिक गर्नुहोस् ।

  • सुरुमा तपाईंले शीर्षक राख्नुपर्ने हुन्छ । त्यस सम्बन्धी नोट भए त्यो पनि राख्नुहोस् । 

  • यसपछि मिति र स्थान छान्नुहोस् । यसमा तपाईंले सो रिमाइन्डर दोहोर्‍याउने र नोटिफिकेसन तथा आवाज कस्तो बनाउने भनेर छान्न पनि सक्नुहुन्छ ।

टास्क कसरी सेट गर्ने ?

  • टास्क एप खोल्नुहोस् ।

  • त्यहाँ रहेको ‘प्लस’ चिन्हमा क्लिक गर्नुहोस् ।

  • टास्कको नाम दिनुहोस् । यसमा तपाईंले आवश्यक विवरण पनि राख्न सक्नुहुन्छ ।

  • यसमा तपाईंले समय पनि उल्लेख गर्न सक्नुहुन्छ । त्यसलाई दोहोर्‍याउने र सबटास्क राख्ने विकल्प पनि यहाँ रहेको हुन्छ । 

कस्तो अवस्थामा कुन एप प्रयोग गर्ने ?

यी दुवै एपमा नोटिफिकेसन, शेड्युल, अर्गनाइजेसन, क्रस-डिभाइस सिंकिङ जस्ता समानता छन् । यसका साथै यी दुई एपलाई एकीकृत पनि गर्न सकिन्छ । थर्ड पार्टी एपमा भने यी दुवै एपलाई एउटैमा राखिएको हुन सक्छ ।

तर पनि तपाईंले धेरै चरणमा सक्नुपर्ने काम, फिटनेस योजना, सिकाइका तालिका (व्यक्तिगत लक्ष्य) अथवा दैनिक किनमेल सूचीहरूलाई टास्कमा राख्न सक्नुहुन्छ । त्यस्तै जन्मदिन तथा वार्षिकोत्सव जस्ता महत्त्वपूर्ण मिति, अपोइन्टमेन्ट, बैठकहरू, औषधि लिने समय, बिलहरू तिर्ने अथवा नवीकरण गर्ने लगायतका कामहरू रिमाइन्डरमा राख्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असार ५, २०८१ १८:४८