close

फेसबुक मार्केटप्लेसबाट सामान खरिद गर्दा गर्दा ध्यान दिनुहोस् यी ४ कुरा

टेकपाना टेकपाना

असार ६, २०८१ १६:२२

फेसबुक मार्केटप्लेसबाट सामान खरिद गर्दा  गर्दा ध्यान दिनुहोस् यी ४ कुरा

काठमाडौं । सामान खरिद बिक्रीका लागि फेसबुक मार्केटप्लेस उपयुक्त विकल्प बन्दै आएको छ । विशेषगरी कुनै तेस्रो पक्षको संलग्नताबिनै खरिद बिक्री गर्न सकिने भएकाले यो प्लेटफर्ममा सामान सुपथ मूल्यमा पाइन्छ । त्यसमा पनि खरिदकर्तालाई आवश्यक पर्ने सामान सस्तोमा पाइनु र बिक्री गर्न चाहेको बिक्रेताले सजिलै बिक्री गर्न सक्नु यो प्लेटफर्मको अर्को विशेषता हो । 

सेकेन्ड ह्यान्ड सामान खरिद बिक्री गर्नेका लागि नेपालमा फेसबुक मार्केटप्लेसको प्रयोग बढ्दाे छ । सक्रिय प्रयोगकर्ता बढी हुने भएकाले यसमा ठगी हुने सम्भावना पनि उत्तिकै छ ।

खरिदकर्ता वा बिक्रेता जो पनि सहजै ठगिन सक्छन् । हालै मात्र फेसबुक मार्केटप्लेसबाट एक व्यक्तिले बाइक खरिद गर्ने भन्दै लिएर फरार भएको घटना बाहिर आएको थियो । बाइक लिएर फरार भएका व्यक्तिले सोही बाहेक अर्को व्यक्तिलाई बिक्री गरेका थिए ।

आज हामी यस प्लेटफर्मबाट ठगीमा नपर्न कस्ता तरिका अपनाउने भन्ने विषयमा चर्चा गर्दैछौं: 

१) कम मूल्य राखेर बिक्रीका लागि राखिएका सामानमा विश्वास नगर्नुहोस्

सामान सस्तो मूल्यमा राख्ने अनि रकम अग्रिम भुक्तानी गर्न लगाएर फरार हुने प्रवृत्ति फेसबुक मार्केटप्लेसमा अत्यधिक हुन्छ । त्यसबाहेक चोरीका सामानहरू पनि सस्तोमा बिक्रीका लागि राखिएका हुन्छन् । विशेषगरी नक्कली ब्लुबुक सहितका बाइक, चोरीका फोन लगायतका सामानहरू सस्तोमा बिक्री भइरहेका हुन्छन् । त्यस्तोमा तपाईंले बिक्रेतासँग सामानबारे राम्रोसँग बुझेर मात्र खरिद गर्नुपर्ने हुन्छ । 

२) परीक्षण गर्ने क्रममा सजगता अपनाउनुहोस् 

सवारी साधन वा अन्य कुनै विद्युतीय उपकरण देख्नासाथ खरिद गर्न सकिंदैन । त्यसका लागि उक्त उपकरण कस्तो छ भन्ने परीक्षण गर्नुपर्ने हुन्छ । त्यसैले यस्ता सामान खरिद गर्नुअघि राम्रोसँग परीक्षण गर्नुपर्ने हुन्छ ।

सबै तवरबाट आफूलाई चित्त बुझेको अवस्थामा मात्र खरिद गर्दा उपयुक्त हुन्छ । त्यस्तै तपाईं बिक्रेता हुनुहुन्छ र परीक्षणका लागि खरिदकर्ताले मागेको छ भने त्यस्तो बेला पनि सजगता अपनाउनु पर्ने हुन्छ । सुरक्षित र आफूलाई पायक पर्ने ठाउँमा खरिदकर्ता वा बिक्रेता बोलाउन उपयुक्त हुन्छ । 

३) अग्रिम‍ भुक्तानी गर्दा सजगता अपनाउनुहोस् 

फेसबुक मार्केटप्लेसमा अधिकांश सर्वसाधारण अग्रिम भुक्तानी गर्दा ठगिन पुगेका हुन्छन् । स्क्यामरले विभिन्न प्रलोभन देखाएर अग्रिम भुक्तानी गर्न लगाएका हुन्छन् । उनीहरूको जालोमा परी अगाडि भुक्तानी दिनेहरू ठगिन्छन् । त्यस्तो अवस्थामा तपाईंले विभिन्न वालेटमा उपलब्ध ‘ईस्क्रो’ सेवा प्रयोग गर्न सक्नुहुन्छ । ईसेवा र खल्ती जस्ता डिजिटल वालेटमा यो सेवा छ ।

खासगरी तपाईंले यो सेवा प्रयोग गरेर रकम पठाउनु भयो भने तपाईंले सामान नपाएसम्म अर्को व्यक्तिले भुक्तानी पाउँदैन । यसमा डिजिटल वालेट कम्पनी मध्यस्थकर्ताको भूमिकामा हुने भएकाले ठगिने जोखिम कम हुन्छ । भरसक सामान पाइसकेपछि मात्र रकम दिनुहोस् । त्यसमा पनि अनलाइन माध्यमबाट भुक्तानी गर्नुभयो भने पछि ठगिंदा कानूनी उपचार खोज्न सहज हुन्छ ।  

४) डिस्क्रिप्सन राम्रोसँग पढ्नुहोस् 

फेसबुक मार्केटप्लेसमा कुनै सामा‍न खरिद गर्नुअघि वा सेवा लिनुअघि त्यस विषयमा राखिएको डिस्क्रिप्सन राम्रोसँग पढ्नुहोस् । डिस्क्रिप्सन स्पष्ट रूपमा लेखिएको छैन भने त्यस्तो सामान वा सेवामा शंका गर्न सकिन्छ ।

यी बाहेक खरिदकर्ता वा बिक्रेता प्रमाणित गर्नु निकै आवश्यक हुन्छ । यदि उनीहरू खरिद गर्ने वा बिक्री गर्ने होइनन् भने त्यस्ता अकाउन्ट बेवास्ता गर्न सकिन्छ । व्यक्तिको प्रोफाइल हेरेर पनि कत्तिको जेन्युअन व्यक्ति हो भन्ने पहिचान गर्न सकिन्छ । कतिपयले सामान डेलिभरीकै लागि पठाइसकेको भन्दै झुक्याउन सक्छन् त्यस्तोमा पनि सजग हुनुपर्छ । त्यसबाहेक व्यक्तिगत विवरण वा भुक्तानीका माध्यमको विवरण लिएर त्यसका माध्यमबाट पनि ठगी गर्न सक्नेहरू हुन्छ । त्यसबाट पनि तपाईं जोगिनुपर्छ । यस्तोमा आधिकारिक साइट वा प्लेटफर्म नै रोज्नु उपयुक्त हुन्छ ।

यदि तपाईं फेसबुक मार्केटप्लेसबाट ठगिनु भएको छ भने नजिकको प्रहरी कार्यालय वा साइबर ब्युरोमा अनलाइन मार्फत उजुरी दिन सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असार १६, २०८१ १०:१०