काठमाडौं । स्मार्टफोन प्रयोग गर्ने विषयलाई उमेरले खासै फरक पारेको देखिन्न । सबै उमेर समूह स्मार्टफोनसँग घुलमिल भएको देख्न सकिन्छ । तर पनि अलि पाका उमेरका प्रयोगकर्ता कसैकाे सहयाेग बिना राम्ररी स्मार्टफोन प्रयोग गर्न सक्दैनन् । किनकि स्मार्टफोन त्यो पुस्ताभन्दा अलि पछि मात्र आएको हो । यद्यपि तपाईंले केही सेटिङ मिलाइदिएर उहाँहरूका लागि स्मार्टफोन चलाउन सजिलाे बनाइदिन सक्नुहुन्छ:
१. टेक्स्टको आकार बढाउने
ज्येष्ठ नागरिकहरूलाई प्राय: स्मार्टफोनमा भएको टेक्स्ट पढ्न गाह्रो हुन्छ । यसलाई सहज बनाउन तपाईंले टेक्स्टहरूको साइज (आकार) बढाउन सक्नुहुन्छ । यसका लागि एन्ड्रोइड फोनमा निम्न सेटिङ मिलाउनुहोस्:
-सेटिङ (Setting) मा गएर डिस्प्ले (Display) मा जानुहोस् ।
-'डिस्प्ले साइज एन्ड टेक्स्ट' मा ट्याप गर्नुहोस् ।
-त्यहाँ तपाईंले टेक्स्टको आकार बढाउने विकल्प देख्न सक्नुहुन्छ ।
२. थर्ड पार्टी लञ्चर प्रयोग गर्ने
स्क्रिनमा हुने विभिन्न आइकन, विजेटहरू र अन्य कुराहरूले ज्येष्ठ नागरिकहरूलाई स्मार्टफोन चलाउन अप्ठ्यारो हुन सक्छ । उहाँहरूको हकमा सरल खालकाे स्क्रिन उपयोगी हुन्छ ।
त्यसो हुँदा तपाईंले थर्ड पार्टी लञ्चर प्रयोग गर्न सक्नुहुन्छ । बिग लञ्चर वा एल्डर लन्चर जस्ता थर्ड पार्टी सफ्टवेयर प्रयोग गर्दा एपहरूलाई नेभिगेसन गर्न सजिलो बनाउँछ ।
यिनले वृद्ध प्रयोगकर्ताहरूलाई चाहेका एपहरू फेला पार्न र प्रयोग गर्न सजिलो बनाउँछ ।
३. अनावश्यक एप हटाउने
स्मार्टफोनमा कतिपय त्यस्ता एप हुन्छन्, जुन वयोवृद्धलाई उपयोगी नै हुँदैन । त्यस्ता एपहरू हटाइदिनुहाेस् । जे आवश्यक हुन्छ, त्यति मात्र राखिदिँदा हुन्छ । किनकि धेरै एप हुँदा उहाँहरू झुक्किन सक्नुहुन्छ ।
४. किबोर्डको आकार बढाउने
किबोर्डको सामान्य आकारमा वयोवृद्ध स्मार्टफोन प्रयोगकर्तालाई टाइप गर्न गाह्रो हुन सक्छ । त्यस्तो अवस्थामा किबोर्डको आकार अलि ठूलो बनाइदिन सक्नुहुन्छ ।
टाइप गर्दा हेर्नै अप्ठ्यारो हुने गरी भने ठूलो बनाउनु हुन्न । कम्तीमा उहाँहरूले हेर्दा सहज हुने खालको आकार हुनु पर्छ । अधिकांश किबोर्डका एपमा आकार घटाउने अथवा बढाउने विकल्प पाउन सकिन्छ ।
५. 'डिरेक्ट डायल' (Direct Dial) प्रयोग गर्ने
पाका उमेरकाले स्मार्टफोन प्रयोग गर्नुको प्रयोजन खासै धेरै हुँदैन । उहाँहरूले स्मार्टफोन प्रयोग गर्नुको एउटा कारण कल गर्नु हाे । तर कसलाई कल गर्न खोजेको हाे, ठ्याक्कै भेट्न नसक्नुहाेला । यो समस्याबाट हल पाउन तपाईंले फोनमा ‘डिरेक्ट डायल’ सेटअप गरिदिन सक्नुहुन्छ । यसका लागि निम्न प्रक्रिया अपनाउनुहोस्:
- माेबाइलकाे हाेमस्क्रिनमा केही सेकेन्ड ट्याप गरेर आउने विकल्पमध्ये विजेट (Widget) मा ट्याप गर्नुहोस् ।
-त्यसपछि नयाँ पेज खुल्छ । त्यहाँ केही तल गएर ‘कन्ट्याक्स’ (Contacts) मा ट्याप गरेर डिरेक्ट डायल (Direct Dial) मा ट्याप गर्नुहोस् ।
-त्यसपछि कसलाई कल गर्ने, त्याे नम्बर छान्नुहोस् । अब त्याे माेबाइल नम्बर माेबाइलकाे स्क्रिनमा एप आइकन जसरी बस्छ, जसमा ट्याप गर्नासाथ कल जान्छ ।