काठमाडौं । गत जनवरीमा पहिलो पटक सफलतापूर्वक मानव मस्तिष्कमा चिप प्रत्यारोपण गरिएको थियो । पक्षघातबाट ग्रसित अमेरिकाका २९ वर्षीय नोल्यान्ड अर्बाउले न्युरालिङ्कको चिप परीक्षण गर्ने अवसर पाएका थिए । मानव मस्तिष्कमा सफलतापूर्वक चिप प्रत्यारोपण भएको यो नै पहिलो घटना हो ।
त्यसपछिका दिनमा नोल्यान्डमा क्रमशः सुधार आइरहेको बताइएको छ । उनको अवस्था सुधारोन्मुख भए पनि धेरैलाई उक्त चिप ह्याक हुन सक्छ कि सक्दैन भन्ने अन्यौलता छ ।
हालै सार्वजनिक भएको एक पोडकास्टमा नोल्यान्डले यसको विषयमा आफ्नो धारणा राखेका छन् । उनले चिप ह्याक हुने विषयमा कुनै शंका नै नभएको धारणा राखेका छन् ।
तर, कसैले केही गरी ब्रेन इम्प्लान्ट ह्याक गरिहाले पनि त्यसले खासै फरक नपार्ने उनको तर्क छ । उनले भने, “ह्याक भयो भने पनि त्यसबाट ब्रेन सिग्नल मात्र देख्न सकिन्छ । त्यसबाहेक न्युरालिङ्कले के कस्ता डेटा सङ्कलन गर्छ भन्ने पनि थाहा पाउन सकिनेछ ।”
उनले डेटाको कुरा गरे पनि न्युरालिङ्क चिपले कति र कस्तो किसिमको डेटा सङ्कलन गर्छ भन्ने खुलाएका छैनन् । उनका अनुसार उक्त चिप एउटा सिक्काभन्दा पनि सानो छ । यसमा थुप्रै इलेक्ट्रोडहरू छन्, जसले मस्तिष्कको गतिविधि निगरानी तथा स्टिमुलेट गर्ने काम गर्छ ।
न्युरालिङ्कका अनुसार यो डिभाइसमा भएको डेटा डिजिटल रूपमा ट्रान्फर गर्न सकिने किसिमको हुन्छ । नोल्यान्डका अनुसार उनले ह्याकिङको कोर्स गर्दा उनलाई कम्प्युटरसँग कनेक्ट गराइएको थियो ।
कस्तो रह्यो नोल्यान्डको अनुभव ?
पक्ष्यघातबाट ग्रसित नोल्यान्डले चिप प्रत्यारोपण गरिसकेपछि आफू आत्मनिर्भर बनेकाे बताएका छन् । चिप लगाएपछि सामाजिक रूपमा मानिसहरूसँग जोडिन सहज भएको उनको भनाइ छ ।
“मैले यो चिपको सहयोगले एक्समा मानिसहरूलाई मेसेज पठाउन, इन्स्टाग्राम प्रयोग गर्न, ईमेलहरूको रिप्लाई दिन, अनलाइन पुस्तक पढ्न, फ्यान्टासी स्पोर्ट खेल्न, र जापानी भाषा सिक्न प्रयोग गर्ने साइट पहुँच गर्न सकिरहेको छु,” उनले अगाडि भने, “त्यति मात्र नभई मैले न्युरालिङ्कको मुख्यालय भ्रमण गर्नुअघि आफैले होटेल बुक गरेको थिएँ ।”
यसका सम्भावित सुरक्षा कमजोरीबारे आफू त्यति जानकार नभएको नोल्यान्डले सुनाए । उनका अनुसार कसैले उनको कम्प्युटर ह्याक गर्यो भने माउसको कर्सरलाई म्यानुपुलेट गर्न र मेसेज वा ईमेलमा पहुँच पाउन सक्नेछन् ।
यद्यपि, यस्ता जोखिमबारे उनी चिन्तित छैनन् । किनभने यसको अध्ययन सुरु हुनुअघि नै नोल्यान्डलाई ह्याकिङसँग सम्बन्धित विषयको जानकारी दिइएको थियो ।
शारीरिक रूपमा कमजोर भएको, तर मानसिक रूपमा स्वस्थ रहेको व्यक्तिलाई विद्युतीय उपकरण प्रयोग गर्न सघाउने उद्देश्यका साथ न्युरालिङ्क परियोजना अगाडि बढेको थियो । न्युरालिङ्कका संस्थापक एलन मस्कका अनुसार अटिजम तथा पक्षघातका मानिसहरूका लागि यो निकै उपयोगी टुल हुनेछ ।