close

ह्याप्पी बर्थडे एलन मस्क !

टेकपाना टेकपाना

असार १४, २०८१ १२:३०

ह्याप्पी बर्थडे एलन मस्क !

काठमाडौं । एउटा कम्प्युटर गेमबाट १२ वर्षको उमेरमै ५०० अमेरिकी डलर कमाएका एलन मस्क आज आफ्नो ५३औं जन्मदिन मनाउँदै छन् । विद्युतीय सवारी निर्माता टेस्लादेखि अन्तरिक्ष कम्पनी स्पेसएक्स र सामाजिक सञ्जाल एक्सका मालिक प्रविधि क्षेत्रकै एक सफल उद्यमी हुन् ।

२८ जुन १९७१ मा दक्षिण अफ्रिकामा जन्मेका मस्कको सफलताको कथा बाल्यकालदेखि नै सुरु हुन्छ ।

सन् १९८४ मा आफूले बनाएको पहिलो कम्प्युटर गेम ‘ब्लास्टर’ को कोड ५०० अमेरिकी डलरमा म्यागेजिन पीसी एण्ड अफिस टेक्नाेलोजीलाई उनले बेचेका थिए । अन्तरिक्षप्रेमीका रूपमा पनि चिनिने मस्कको सो ब्लास्टर गेम अन्तरिक्ष सम्बन्धी नै थियो ।

बायोग्राफी पोर्टलमा प्रकाशन भएको एक लेखका अनुसार सफ्टवेयर बनाएर बेच्न सक्यो भने पैसा कमाउन सकिन्छ भन्ने थाहा पाएपछि उनले आफ्नो पहिलो गेम बनाएका थिए । त्यतिखेर कमाएको पैसाले उनले नयाँ कम्प्युटर किनेका थिए ।

त्यसपछि ९० काे दशकको मध्यतिर उनले आफ्नो भाइ किम्बलसँग मिलेर ‘जिप२’ (Zip2) सफ्टवेयर विकास गरे, जसलाई सन् १९९९ मा 'कमप्याक' नामको कम्पनीले ३० कराेड ७० लाख अमेरिकी डलरमा खरिद गरेको थियो । 

पैसाको महत्त्व राम्रोसँग बुझेका मस्कले सो सफ्टेयर बेचेको एक महिनापछि नै अनलाइन पेमेन्ट कम्पनी ‘एक्स डट कम’ (X.com) सुरुवात गरे, जो आजको दिनमा पेपाल (PayPal) को नामले परिचित छ ।

त्यसबखत इबे (eBay) सबैभन्दा ठूलो अनलाइन पेमेन्ट कम्पनी थियो । एक्स डट कम सुरु भएको दुई वर्षपछि नै इबेले एक अर्ब ५० करोडमा पेपाल खरिद गरेर इबे र पेपालको सेवालाई मर्ज गरेको थियो ।

सफ्टवेयरको काममा अगाडि बढिरहेका मस्कको भने एउटै लक्ष्य थियो ‘अन्तरिक्ष’ । उनी मानिसहरूमाझ अन्तरिक्षमा नयाँ खोजलाई आकर्षणको विषय बनाउन चाहन्थे । 

यही सिलसिलामा उनी रुस पुगे, जहाँको प्रक्रिया उनको सोचभन्दा जटिल रहेको उनले थाहा पाए । त्यहाँबाट अन्तरिक्षयान किनेर उनी त्यसलाई मंगल ग्रह पुर्‍याउन चाहन्थे । तर, रुसीहरूले उनलाई पहिलो भन्दा दोस्रो भेटको अवसर नै दिएनन् । 

यसकारण पनि २४ फेब्रुअरी २०२२ देखि सुरु भएको युक्रेन र रुसबीचको युद्धमा मस्कले युक्रेनलाई खुलेर समर्थन गरेको अनुमान गरिन्छ । यतिसम्म कि, मस्कले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग लडाइँ गर्न समेत तयार रहेको अभिव्यक्ति दिएका थिए ।

त्यसपछि मस्कले त्यस्तै गरे, जे उनले गर्दै आएका थिए । अर्थात्, अन्तरिक्षयान किन्ने उनको सपना पूरा नभएपछि उनी आफ्नै अन्तरिक्षयान बनाउनतिर लागे । अनि सुरु भयो स्पेसएक्स (SpaceX) ।

सन् २००२ मा निजी स्पेस एक्स्प्लोरेसन कम्पनी स्पेसएक्सको जन्म भयो । कम्पनीले निर्माण गरेको पहिलो अन्तरिक्षयान ‘फाल्कन वान’ पृथ्वीको तल्लो कक्ष (अर्बिट) सम्म पुग्ने तीन ओटा प्रयास असफल भएपछि सन् २००८ को सेप्टेम्बर महिनामा गरिएको चौंथाे प्रयासमा फाल्कन अर्बिटमा पुग्न सफल भयो ।

तीन पटकको प्रयासमा पनि असफल भएको स्पेसएक्स कि त अब बन्छ, कि यो सधैंको लागि भत्कन्छ भन्ने अवस्थामा पुगेको थियो । त्यही समयमा मस्कले आफूसँग भएभरको सबै सम्पत्ति दाउमा राखे र अन्तरिक्षयान प्रक्षेपण गर्ने चौंथाे प्रयास गरे । यो पटक उनी सफल भए । यो सफलतापछि उनले कहिल्यै पछाडि फर्किएर हेर्नुपरेन । 

यही प्रयासले आज स्पेसएक्सलाई विश्वको पहिलो यस्तो निजी कम्पनी बनायो, जसले आफैंले अन्तरिक्षयान बनाएर सफलतापूर्वक पृथ्वीको तल्लो कक्षमा पुर्‍याएको थियो । यसबीच नासाले पनि स्पेसएक्सलाई एक अर्ब ६० करोड अमेरिकी डलरको आर्थिक सहयोग गर्‍यो ।

स्पेसएक्सको ‘फाल्कन ९’ मान्छेहरुकै क्रु (चालकदल) सहित केनेडी स्पेस सेन्टरमा पुगेको थियो । करिब २२ वर्षको यात्रामा स्पेसएक्स एउटा सोचबाट विकसित हुँदै स्पेस एक्सप्लोरेसनको क्षेत्रमा एक चर्चित नाम बन्न पुगेको छ ।

मस्कलाई विश्वमा चर्चित बनाउनुमा उनको अर्को कम्पनी टेस्लाको पनि उत्तिकै याेगदान छ । १ जुलाई २००३ देखि सुरु भएको यो कार कम्पनी मार्टिन एबरहार्ड र मार्क टार्पेनिङले अगाडि बढाउन लगानी खोजिरहँदा मस्कले सन् २००४ मा यस कम्पनीमा लगानी गरेका थिए ।

त्यो बेलादेखि आजसम्म आउँदा टेस्लाले विद्युतीय गाडीहरूको बजारलाई थुप्रै राम्रा गाडी उपलब्ध गराएको छ । झन् वातावरणीय हिसाबले बढ्दै गएको विद्युतीय गाडीको मागका कारण टेस्लाले आजको मितिमा राम्रो बजार बनाउन सफल भएको छ ।

यही टेस्लाको कारण आज मस्क विश्वकै धनी व्यक्ति बन्न सफल भएका छन् । उनको हालको सम्पत्ति करिब २२३ अर्ब अमेरिकी डलरभन्दा माथि (करिब‍ २९६ खर्ब ५९ अर्ब रुपैयाँ) रहेको छ ।

आफू पहिलाे पटक विश्वकै धनी व्यक्तिको सूचीमा पहिलो नम्बरमा रहेको खबर पाएपछि उनले आफ्नो ट्वीटर (अहिलेको एक्स)मा लेखेका थिए, “मैले कमाएको पैसामध्ये आधा पैसा यो पृथ्वीको समस्या समाधान गर्नका लागि खर्चनेछु । बाँकी आधा पैसा केही गरी पृथ्वीमा मानव बस्ती संकटमा पर्‍यो भने मंगल ग्रहमा मानव बस्ती बसाल्नका लागि प्रयोग गर्नेछु ।”

मस्कले आफ्नो जीन्दगीबाट सधैं धेरै नै चाहे, जुन स्वभावले गर्दा आज उनलाई यो स्थानमा ल्याउन मद्दत गरेको छ । यद्यपि उनको यात्राले भने अझै विश्राम लिइसकेको छैन ।

पृथ्वीवासीका लागि इन्टरनेटको नयाँ परियोजना स्टारलिंक, मस्क र उनका भाइ किम्बलले १६ जनवरी २०१५ मा सुरु गरेका थिए । मस्क अहिले पनि स्टारलिङ्कलाई प्रभावकारी रूपमा अगाडि बढाइरहेका छन् । हाल यो इन्टरनेट विश्वका १०० भन्दा बढी देशमा उपलब्ध भइसकेको छ ।

छिमेकी राष्ट्र भारत र हाम्रै देश नेपालमा भने कम्पनीले नियामकीय स्वीकृति पर्खिरहेको वेबसाइटमा उल्लेख गरेको छ । स्पेसएक्सको सन् २०२७ सम्म लो–अर्थ अर्बिटमा ४२ सय स्याटलाइट राख्ने योजना छ । यसले विश्वभर इन्टरनेट दिनसक्ने क्षमता राख्दछ । २०२२ को रिपोर्ट अनुसार हरेक दिन स्टारलिङ्कमा २८५७ नयाँ ग्राहक जोडिएका थिए । स्टारलिङ्कको विस्तार भएसँगै हाल यो सङ्ख्या बढी छ ।  अहिले कम्पनीका ३० लाख सक्रिय प्रयोगकर्ता भएको बताइएको छ ।

व्यावसायिक क्षेत्रमा मात्र होइन मस्क पछिल्लो समयमा सामाजिक सञ्जालहरूमा पनि निकै लोकप्रिय बन्दै गएका छन् । सामाजिक सञ्जालप्रतिकाे माेहकै कारण उनले  २७ अक्टोबर २०२२ मा ४४ अर्ब डलर खर्चेर ट्वीटर नै खरिद गरे । ट्वीटर खरिदपछि लामो समय विभिन्न विषयमा विवादित बनेका उनले कम्पनीको नाम नै परिवर्तन गरेर एक्स राखे । हाल यो प्लेटफर्म एक्स नामले सञ्चालन भइरहेको छ । एक्समा १८ करोड ८३ लाख बढी फलोअरका साथ उनी सबैभन्दा बढी फलोअर भएका व्यक्ति हुन् । 

आफ्नो स्वामित्वमा लिएपछि माइक्रोब्लगिङ साइटका रूपमा चर्चित ट्वीटरलाई उनले सामाजिक सञ्जाल एक्समा रुपान्तरण गरे । अहिले यो प्लेटफर्मबाट लामा टेक्स्ट पोस्ट गर्न, अन्तरक्रिया गर्न र अडिओ, भिडिओ कल गर्न सकिन्छ । यसलाई निजी कम्पनीमा परिणत गरिसकेपछि यो वाक स्वतन्त्रताको पक्षलाई बढावा दिएको मस्कको दाबी छ । यद्यपि एक्स विभिन्न किसिमका विवादमा तानिंदै आएको छ । 

यी बाहेक मस्कको ब्रेन चिप कम्पनी न्युरालिङ्क पनि उत्तिकै चर्चामा आएको छ । पछिल्लो समय कम्पनीले नोल्यान्ड अर्बाउ नामका व्यक्तिमा चिप प्रत्यारोपण गरेको थियो । शारीरिक रूपमा कमजोर नोल्यान्ड चिप प्रत्यारोपणपछि आफू आत्मनिर्भर भएको बताउँछन् ।

हालै मात्र सार्वजनिक भएको पोडकास्टमा अर्बाउले चिपका कारण आफूले कसरी नयाँ जन्म पाएको आभास गरिरहेका छन् भन्ने खुलेर सुनाएका छन् । कम्पनीले अर्का व्यक्तिमा पनि परीक्षण गर्ने तयारी गरेको छ । त्यसका लागि आवेदन पनि खुलाइएको थियो । 

मस्क ५३ वर्ष पुगेको अवसरमा उनकी आमा मेई मस्कले शुभकामना दिएकी छिन् । एक्समा मस्क चौ‌ंथो जन्मदिन मनाउँदै गरेको पोस्ट राख्दे उनले लेखेकी छिन्, “जन्मदिनको शुभकामना एलन मस्क । ५३ वर्षसम्मको हर्ष र उत्साहका लागि धन्यवाद । चौ‌ंथो जन्मदिनमा तिम्रो मुहारमा जति मुस्कान थियो त्योभन्दा बढी मुस्कान आज छ भन्ने आशा छ ।

याे पनि पढ्नुहाेस् : संसारकै धनी एलन मस्कका यी ६ रहस्य, जुन धेरैलाई थाहा नहुन सक्छ

पछिल्लो अध्यावधिक: असार १४, २०८१ १२:५१