काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसइईको पूरक परीक्षा दिने विद्यार्थीहरूलाई लक्षित गर्दै निःशुल्क अनलाइन कक्षा सञ्चालन गर्ने बताएका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन रूपन्देहीले आयोजना गरेको एक कार्यक्रममा बोल्दै ओलीले केही दिनभित्रै विषय विज्ञ शिक्षकहरूबाट मुख्य विषयहरूको अनलाइन कक्षा सञ्चालन गरिने बताए ।
शिक्षकहरू गुणस्तरका नहुँदा धेरै विद्यार्थीहरू एसइई परीक्षामा फेल भएको बताउँदै उनले विज्ञ शिक्षकहरूबाट निःशुल्क अनलाइन कक्षा सञ्चालन गर्ने तयारी भइरहेको बताए ।
‘‘मुख्यगरी अंग्रेजी, गणित, विज्ञान र सामाजिक विषयमा धेरै विद्यार्थीहरू एसइई परीक्षामा अनुत्तीर्ण हुनुभएको छ, अहिले अनुत्तीर्ण भए पनि पूरक परीक्षामा पास बनाउने गरी हामीले निःशुल्क अनलाइन कक्षा सञ्चालन गर्दैछौं, त्यसमा जोडिन सबै विद्यार्थीहरूलाई मेरो आग्रह छ,’’ ओलीले भने।
राष्ट्रिय परीक्षा बोर्डले साउन २३ गतेदेखि २९ गतेसम्म एसइई पूरक परीक्षा तोकेको छ । सोही परीक्षालाई लक्षित गरेर फेसबुक पेज र अनलाइनमार्फत् निःशुल्क कक्षा सञ्चालन गर्न लागिएको ओलीले बताए ।