close

फोटोमा कपिराइट भए/नभएको कसरी थाहा पाउने ?

टेकपाना टेकपाना

असार २५, २०८१ १७:२६

फोटोमा कपिराइट भए/नभएको कसरी थाहा पाउने ?

काठमाडौं । क्रियटर (सर्जक)को अनुमतिबिना कपिराइट लाग्ने फोटो प्रयोग गर्नु अपराध हुन जान्छ । कानुन अनुसार विभिन्न दण्ड सजायको सामना समेत गर्नुपर्छ । यसकारण इन्टरनेटमा पाइने कुनै पनि फोटो प्रयोग गर्नुअघि कपिराइट लाग्छ/लाग्दैन थाहा पाउनु श्रेयस्कर हुन्छ । यसका लागि तरिका छन् । तीमध्ये आज हामी केहीको चर्चा गर्ने छौं:


-कपिराइटबारे सूचना हेर्ने 

इन्टरनेटबाट फोटो डाउनलोड गर्न मूलतः पिक्सेल (pixel), शटरस्टक (shutterstock), अनस्प्लास (unsplash) जस्ता प्लेटफर्मको प्रयोग हुने गरेको छ । यी प्लेटफर्ममा फोटोको बारेमा जानकारी दिइएको हुन्छ । जसमा कपिराइटबारे पनि उल्लेख गरिएको हुन सक्छ । जस्तो: नि:शुल्क प्रयोग गर्न मिल्ने, क्रेडिट दिएर प्रयोग गर्न मिल्ने आदि । यसका साथै फोटोग्राफरलाई सम्पर्क गर्ने विकल्पहरू दिइएको हुन सक्छ । 


-मेटाडेटा हेर्ने  

फोटोको मेटाडेटा अर्थात् ईएक्सआईएफ डेटा हेर्दा पनि कपिराइटबारे थाहा पाउन सकिन्छ । जस्तो: उक्त तस्वीर कहाँ बनेको, कसकोमा कपिराइट छ आदि । फोटोको मेटाडेटा चेक गर्ने आधारभूत तरिका यस्तो छ: 

  • विन्डोज: फाइल एक्स्प्लोरमा भएको फोटोमा राइट क्लिक गर्नुहोस् । अब 'प्रोपर्टिज'मा क्लिक गर्नुहोस् । र 'डिटेल्स' ट्याबमा क्लिक गर्नुहोस् । त्यहाँ तपाईंले क्रियटरका बारेमा थाहा पाउन सक्नुहुन्छ ।

 

  • म्याक: इमेज प्रिभ्यु खोल्नुहोस् । त्यसपछि टुलमा क्लिक गरेर ‘शो इन्स्पेक्टर’मा क्लिक गर्नुहोस् । अब इन्फो आइकनमा क्लिक गरेर ईएक्सआईएफ ट्याब छान्नुहोस् ।  

यद्यपि कपिराइट सम्बन्धी सबैले यसरी विवरण राखेका हुन्छन् भन्ने हुँदैन । तर, यसरी जाँच गर्नु राम्रै उपाय हो ।

-वाटरमार्क हेर्ने

प्राय; फोटोग्राफर तथा डिजिटल कन्टेन्ट क्रियटरले आफ्नो काममा वाटरमार्क हाल्ने गरेका हुन्छन् । यदि तपाईंले डाउनलोड गरेका फोटोमा त्यस्ता वाटरमार्क भए तपाईंले ती कपिराइट हुने फोटो भएको कुरा बुझ्नु पर्छ । यसका साथै त्यस्ता वाटरमार्क भएको फोटो खरिद नगरी प्रयोग गर्नु गैरकानुनी हुन्छन् । 


-रिभर्स इमेज सर्च गर्ने 

यदि माथिका कुनै पनि तरिकाबाट तपाईंले कपिराइट लाग्ने फोटो हो भनेर निश्चित गर्न सक्नुभएन भने गुगलमा रिभर्स सर्च गर्नुहोस् । उक्त फोटो इन्टरनेटमा कहाँ-कहाँ प्रयोग भएको छ भनेर थाहा पाउने यो एउटा तरिका हो । यसका लागि विभिन्न टुल उपलब्ध छन् । तपाईंले भने गुगल लेन्सबाट इमेज सर्च गर्न सक्नुहुन्छ । 

-कपिराइट दर्ता गर्ने 

कम्पनी विवरण हेर्ने केही क्रियटरहरूले औपचारिक रूपमा नै कपिराइट लिएका हुन्छन् । सामान्यतः उनीहरूको विवरण कपिराइट व्यवस्थापन गर्ने कार्यालयको डेटाबेसमा हुने गर्छ । उदाहरणका लागि, अमेरिकी कपिराइटको कार्यालयको डेटाबेसमा कपिराइटको विवरण हेर्न यहाँ र नेपालका लागि यहाँ क्लिक गर्न सक्नुहुन्छ ।

तर, यसो गर्दा तपाईंसँग फोटोग्राफर तथा कन्टेन्टको नाम भने थाहा हुनु पर्छ ।

यी बाहेक पनि अन्य थुप्रै विकल्प छन् । जसमा स्टक इमेज वेबसाइट हेर्ने, क्रियटिभ कमन सर्च गर्ने, फोटोग्राफरलाई नै सम्पर्क गर्ने आदि केही विकल्प हुन्  । पुन: सम्झनुपर्ने कुरा कपिराइट लाग्ने फोटो अनुमति बिना प्रयोग गर्नु गैरकानुनी हुन्छ । यसकारण कुनै पनि फोटो प्रयोग गर्दा सधैं तपाईंले जाँच गर्नु बुद्धिमत्ता हुन्छ ।

पछिल्लो अध्यावधिक: असार २५, २०८१ १७:४३