close

प्रविधि क्षेत्रमा जागिर खोज्दै हुनुहुन्छ ? यसरी बनाउनुहोस् उत्कृष्ट सीभी

टेकपाना टेकपाना

असार ३१, २०८१ ११:१०

प्रविधि क्षेत्रमा जागिर खोज्दै हुनुहुन्छ ? यसरी बनाउनुहोस् उत्कृष्ट सीभी

काठमाडौं । प्रतिस्पर्धात्मक बजारमा खोजेको जस्तै जागिर पाउन  मुस्किल छ । यसका लागि करिकुलम भिटा (सीभी) निकै महत्त्वपूर्ण हुन्छ । चाहे तपाईं डेभलपर हुनुहोस्, आईटी म्यानेजर हुनुहोस् अथवा अरु कुनै प्राविधिक । जागिर खान तपाईंका लागि राम्रोसँग मिलाइएको सीभी महत्त्वपूर्ण हुन्छ । कतिपयले यसलाई व्यक्तिगत विवरण अर्थात् ‘रेजुमी’ पनि भन्ने गर्छन् । आज हामी प्राविधिक पदका लागि आवेदन दिने क्रममा बनाइने सीभी कस्तो हुनुपर्छ भन्नेबारे चर्चा गर्ने छौं: 

१. उत्कृष्ट प्रोफाइल लेख्नुहोस्

कुनै कम्पनी अथवा रोजगारदाताले सीभीमा सबैभन्दा सुरुमा हेर्ने भनेको तपाईंको व्यक्तिगत प्रोफाइल हो । त्यसैले निकै सटीक र बुँदागत रूपमा सीभी तयार पार्न जरुरी छ । प्राविधिक व्यक्ति भएकाले यसमा तपाईंले आफ्नो प्राविधिक विशेषज्ञता, अनुभव र करियरबारे संक्षिप्त रूपमा हाइलाइट गर्न सक्नुहुन्छ । 

यसका लागि सुरुमा तपाईंले अहिले काम गर्दै गरेको भूमिका (छैन भने पर्दैन) र समग्र अनुभव राख्न सक्नुहुन्छ । तपाईं डेभअप्स वा पाइथन वा जाभा केमा पोख्त हुनुहुन्छ त्यो लेख्नुहोस् । 

२. सीप हाइलाइट गर्नुहोस्  

सीपहरूले नै तपाईंलाई जागिरमा मौका मिल्ने हो । यसर्थ सीभीको सीप उल्लेख गर्ने खण्डलाई विशेष ध्यान दिनुपर्छ । भएका सबै सीप राख्ने नभएर तपाईंले क्षेत्र अनुसारको सीपलाई सरल, तर आकर्षक तरिकाले राख्न सक्नुहुन्छ । 

उदाहरणका लागि, आफ्नो सीप प्रोग्रामिङ ल्याङ्ग्वेजेज, फ्रेमवर्क एन्ड लाइब्रेरिज, टुल्स एन्ड प्लेटफर्म, सफ्ट स्किल्स जस्ता वर्ग बनाएर काम गर्न सक्नुहुन्छ । अनि, ती प्रत्येक वर्गमा तपाईंले आवेदन दिएको कामको लागि सान्दर्भिकता अनुसार आफ्नो सीप सूचीकृत गर्नुहोस् । जस्तै: प्रोग्रामिङ ल्याङ्ग्वेजेज अन्तर्गत पाइथन, जाभा, सी++, एसक्यूआर राख्न सक्नुहुन्छ ।

३. प्राविधिक सफलतामा ध्यान दिनुहोस्

सीभीमा फलानो फलानो काम गरेंभन्दा पनि यो यो सफलता हासिल गरें भनेर राख्दा उत्तम हुन्छ । किनकि यसले तपाईं काम गर्ने मान्छे मात्र नभएर नतिजा पनि देखाउन सक्ने मान्छे हो भनेर बुझ्न सहयोग गर्छ ।

उदाहरणका लागि 'फलानो कम्पनीको वेबसाइट बनाएको' भन्दा पनि 'फलानो कम्पनीको वेबसाइट बनाएर युजर इन्गेजमेन्ट ५० प्रतिशतले बढाएको' भनेर लेख्न सक्नुहुन्छ । सीभी भनेको आवेदनको प्रतिबिम्ब भएकाले पनि यो कुराले विशेष अर्थ राख्ने गर्छ ।

४. योग्यता देखाउनुहोस्

प्राविधिक उद्योगमा काम गर्न शैक्षिक योग्यता आवश्यक नपर्ने बताइने भएता पनि व्यावसायिक संस्थाहरूमा यसले विशेष अर्थ राख्छ । तपाईंले त्यस्ता योग्यता सीभीमा राख्दा तपाईंको व्यावसायिक विकासलाई पनि ठूलो सहयोग पुग्छ ।

विश्वविद्यालयले दिएको प्रमाणपत्र नै राख्नुपर्छ भन्ने छैन । तपाईंले आवेदन दिएको पदलाई सहयोग हुने खालका तालिम लिएको भए ती प्रमाणपत्रहरू समावेश गर्नुहोस् । यसले तपाईंको विशेषज्ञतालाई मात्र हाइलाइट गर्दैन । बरु तपाईं निरन्तर अपडेडेट भइरहनु भएको छ भन्ने पनि अर्थ दिन्छ ।

त्यस्तै अहिले आईटी क्षेत्रमा पनि विभिन्न क्लब अथवा संघसंस्था हुन्छन् । यदि ती मध्ये कुनै एकमा तपाईं हुनुहुन्छ भने आफ्नो सीभीमा त्यसलाई पनि उल्लेख गर्नुहोस् । 

५. पद अनुसारको सीभी 

कतिपयले विभिन्न पदका लागि एउटै सीभी पठाउने गर्छन् । तर त्यसो गर्नु राम्रो होइन । तपाईंले आवेदन दिएको पद अनुसार आफ्नो सीभीलाई परिमार्जन गर्नु पर्छ । यसको अर्थ कम्पनीले माग गरेको भूमिका अनुसार सान्दर्भिक हुने तपाईंका सीप र अनुभवहरू सीभीमा राख्नु हो ।

यसका लागि कम्पनीले खुलाउने कामको विवरण तथा आवश्यकता ध्यान दिएर हेर्नु जरुरी छ । त्यसपछि तपाईंले सीभीमा व्यक्तिगत प्रोफाइल, सीप, उपलब्धिहरूलाई मिलाउन सक्नुहुन्छ ।

आजभोलि त सीभीमा हुने डेटालाई स्क्यान गर्न एप्लिकेन्ट ट्य्राकिङ सिस्टम (एटीएस) प्रयोग गरिन्छ । यसले गर्दा परम्परागत तरिकाले सीभी बनाउनु पर्दैन । उदाहरणका लागि, यदि कुनै कम्पनीले डेटा एनालिटिक्स र क्लाउड कम्प्युटिङमा विशेषज्ञता चाहिन्छ भनेर उल्लेख गरेका छ भने तपाईंले आफ्नो सीभीमा यी सीप उल्लेख गर्नै पर्ने हुन्छ ।

पछिल्लो अध्यावधिक: असार ३१, २०८१ १३:११