काठमाडौं । च्याटजीपीटी, जेमिनाई, कोपाइलट जस्ता एआई च्याटबटले कतिपय संवेदनशील र गम्भीर प्रश्नको पनि उत्तर दिइरहेका हुन्छन् । लाग्छ, ती टुलहरूले ‘म’सँग मात्र कुरा गरिरहेको छ ।
तर, गोपनीयताको नजरबाट ती कुराकानी खुलेआम हुन्छन् । किनकि कतिपय विज्ञहरू च्याटबटसँग सामान्य नागरिकले गरेका कुराकानी समेत एआई मोडेलको विकासका लागि प्रयोग हुने बताउँछन् ।
सरल भाषामा बुझ्दा ती एआई टुलसँग गरिएको कुराकानीमा कुनै गोपनीयता हुँदैन । तर, गोपनीयता छैन भन्दैमा टुल नै प्रयोग नगर्ने भन्ने पनि होइन । आज हामी एआईटुलमा गोपनीयता जोगाउने केही तरिकाबारे चर्चा गर्दै छौं:
अकाउन्ट नखोली कुरा गर्ने
यो निकै सामान्य तरिका हो । तर प्रभावकारी पनि छ । किनकि यसो हुँदा तपाईंका व्यक्तिगत जानकारी टुलले पर्याप्त मात्रामा सङ्कलन गर्दैन । अहिले धेरै जसो एआई टुल अकाउन्ट नखोलिकनै पनि चलाउन सकिन्छ ।
तपाईंले एलएमएसवाईएस च्याटबट एरेना (LMSYS chatbot arena) बाट अन्य विभिन्न एआई टुल चलाउन सक्नुहुन्छ । तर, अकाउन्ट नखोली एआई च्याटबट चलाउँदाका केही बेफाइदा पनि छन् । जस्तो कि टुलसँग गरिएका कुराकानी रेकर्ड हुँदैन । यसका साथै कतिपय फिचरहरू तपाईंले चलाउन पाउनु हुन्न ।
अकाउन्ट खोले पनि सर्तकर्ता अपनाउने
एआई टुलमा अकाउन्ट बनाउँदा तपाईंले गुगल, फेसबुक जस्ता थर्ड पार्टी माध्यमबाट एआई च्याटबटमा अकाउन्ट खोल्नु गोपनीयताको नजरबाट अलि राम्रो हुँदैन । किनकि यसो हुँदा तपाईंले टुल बनाउने कम्पनीसँग विभिन्न जानकारी एकै पटक शेयर गरिरहनु भएको हुन्छ । भन्नुको अर्थ 'साइन विथ' गुगल, फेसबुक विकल्प प्रयोग गरी सकेसम्म खाता नखोल्नुहोस् ।
यसको साटो धेरै विवरण नखुलाइएको तपाईंको जिमेलबाट अकाउन्ट खोल्न सक्नुहुन्छ । तर, तपाईंले बलियो पासपर्ड भने राख्नु पर्ने हन्छ । त्यस्तै यसरी अकाउन्ट खोलेपछि तपाईंले आफ्ना पहिलेका कुराकानी डिलिट गर्न सक्नुहुन्छ ।
उदाहरणका लागि यो फिचर ओपनएआईको च्याटजीपीटीमा उपलब्ध छ । यसका साथै यस च्याटबटमा इन्कग्निटो मोड समेत छ । जुन अलि सुरक्षित उपाय पनि हो । त्यस्तै यदि यो च्याटबटको सशुल्क भर्सन चलाउनु हुन्छ भने ‘मेमोरी’ भन्ने फिचर रहिरहँदैन । जुन गोपनीयताको हिसाबले आफैंमा राम्रो फिचर हो ।
फोन अथवा ब्राउजरबाट स्वत: डेटा शेयरिङ हुने फिचर बन्द गर्नु भयो भने च्याटबट लगातार प्रयोग भइरहँदैन । तर, फोन एप छन् भने तिनले लोकेसन, फोटो, माइक्रोफोन, क्यामेराको लगातार एक्सेस लिइरहेका हुन्छन् । के त्यस्तो एक्सेस वास्तवमै आवश्यक परिरहेको हुन्छ ? खासमा हुँदैन । त्यही भएर तपाईंले एपले लिने अनावश्यक एक्सेस बन्द गर्न सक्नुहुन्छ ।
यसका लागि आईफोनमा सेटिङ>एप>एक्सेस>अफ गर्नुहोस् ।
एन्ड्रोइडमा भने सेटिङ>एप्स>पर्मिसन>अलाउड क्लिक गर्नुहोस् । ब्राउजरमा भने तपाईंले सेटिङमार्फत पर्मिसन चेक गर्न सक्नुहुन्छ ।
संवेदनशील कुरा शेयर नगर्ने
एआई टुलसँग जति धेरै सूचना हुन्छ, त्यसले तपाईंको बारेमा त्यति नै धेरै जानकारी दिन्छ । यसो हुँदा तपाईंले आफ्नो बारेमा अनकेन् जानकारी दिन सक्नुहुन्छ ।
तर यसो गर्नु गोपनीयताको नजरबाट आफैंमा खतरनाक हो । एआईले तपाईंको बारेमा बुझ्ने भए पनि सकेसम्म वैयक्तिक जानकारी शेयर नगर्नुहोस् । किनकि एआई टुलका कुरा कुनै सर्भरमा स्टोर भएर बस्छन् ।
अर्थात् अनलाइनमा हुन्छन् । तपाईंलाई थाहा नै छ इन्टरनेटमा भएका कुनै पनि कुरा सुरक्षित अथवा गोप्य हुँदैनन् । यसका साथै कतिपय एआई टुलको क्षमता सुधार गर्न तपाईंका कुराकानी वास्तविक मान्छेहरूले नै हेर्ने गर्छन् । त्यो आफैंमा अकल्पनीय हो ।