close

फोन वा पीसी स्क्रिनमा धेरै समय बिताउँदा आँखा, काँध वा टाउको दुख्छ ? यस्ता छन् समाधानका उपाय

टेकपाना टेकपाना

साउन ७, २०८१ १६:५१

फोन वा पीसी स्क्रिनमा धेरै समय बिताउँदा आँखा, काँध वा टाउको दुख्छ ? यस्ता छन् समाधानका उपाय

काठमाडौं । आजकल सबैको हातमा मोबाइल फोन छन् । त्यसमाथि घरबाटै अफिसको काम, ईमेल, सामाजिक सञ्जाल, इन्टरनेट, अनलाइन भुक्तानी जस्ता प्रयोजनले गर्दा ग्याजेटलाई पूर्णतवरले बेवास्ता गर्न पनि सकिंदैन ।

यिनको आदत लाग्ने कुरा जति सजिलो छ, ती आदतलाई हटाउन उत्तिकै मुस्किल पनि छ । फोन, ट्याब, ल्यापटप तथा कम्प्युटरो स्क्रिनको लत महँगो पर्न सक्छ । कसरी राख्ने आफ्नो आँखा, काँध र दिमागको ध्यान ? सबैभन्दा पहिला कुरा गरौं आँखाको ।

धेरै स्क्रिन टाइम अर्थात् स्क्रिनमा धेरै समय बिताउने बानीले आँखालाई नोक्सान पुर्‍याउन सक्छ । डिजिटल उपकरणको अत्यधिक उपयोगले कयौं युवालाई आँखामा चस्मा लगाउनु परिरहेको छ । धेरै स्क्रिन टाइमका कारण युवाहरूमा मायोपियाको खतरा बढ्न सक्छ ।

मायोपिया हुनेहरूमा टाढाको चिज देख्न मुस्किल पर्न सक्छ र यो बच्चामा आम समस्या हुँदै गइरहेको छ । अमेरिकन एकेडेमी अफ अप्टिमोलोजीका अनुसार लामो समयसम्म डिजिटल उपकरण हेर्दा केही असहज हुन सक्छ । जस्तो कि आँखामा सुक्खापन हुने, अँध्यारो देखिने, आँखाबाट पानी बहने र टाउको दुख्ने ।

सामान्यतया मानिसले हर मिनेटमा १५ पल्ट आँखा झिम्काउने गर्छन् । तर स्क्रिन घुर्दाको समयमा वा किताब नजिकबाट पढ्दाको समयमा मानिसहरूको आँखा झिम्काउने गति कम हुने गर्छ । जब हामी स्क्रिनमा ध्यान केन्द्रित गर्छौं, त्यस्तो बेला ध्यान केन्द्रित गर्न मद्दत पुर्‍याउनका लागि आँखाभित्रका साना मांसपेशीहरू खुम्चिने गर्छन् ।

यस कारणले गर्दा आँखाभित्र रहेका लेन्सको आकार बदलिन पुग्छ र आकृति रेटिनामा केन्द्रित हुन्छ । यस्तोमा आँखाका यी मांशपेसीहरूलाई केही बेरका लागि आराम दिनुपर्ने हुन्छ ।

२०-२० को नियम

हरेक २० मिनेटमा २० सेकेन्डका लागि ग्याजेटबाट २० फिट टाढा जानुहोस् । लगभग ६ मिटरको दुरीबाट कुनै चिजलाई हेर्नुहोस्, र आँखालाई आराम दिनुहोस् । यसको असर केवल आँखालाई मात्र नभई शरीरका बाँकी हिस्सालाई पनि राहत मिल्छ ।

कयौं पल्ट त यति धेरै समय स्क्रोलिङमा बिताइन्छ कि गर्धन कसिलो हुन पुग्छ । केही चरम खाले अवस्थामा त दिमागमा हुने रगतको प्रवाह समेत कम हुन सक्छ । विशेषज्ञहरू भन्छन् कि उनीहरू आजकल टेक्स्ट नेकको मामिला समेत देखिरहेका छन् ।

यसको मतलब हो, लामो समयसम्म विद्युतीय उपकरणहरू हेरिरहँदा तपाईं एउटा पोजिसन वा शारीरिक स्थितिमा अडिएर बस्नु हुन्छ । यसले मांसपेशीमा खिचावट आउँछ गर्धन, काँध, कम्मरमा दुखाई निम्त्याउन सक्छ ।

साथै टाउको दुखाई समेत हुन सक्छ । समस्या यो हो कि हामी सबै आफ्नो फोन तथा ल्यापटपको स्क्रिन हेर्नका लागि आफ्नो टाउकोलाई अगाडि तर्फ झुकाउँछौँ र त्यसले हाम्रो गर्धनको अगाडि र पछाडिको हिस्सामा निकै धेरै दबाब बढ्न पुग्छ । केही मामिलामा यस्तो न्युरोलोजिकल स्थिति बन्न सक्छ कि जसमा ती नशा, जो मेरुदण्डको हड्डीदेखि दिमागसम्म जान्छन्, तिनमा सुन्निनेसम्मको समस्या आउन सक्छ अथवा तिनमा चोट लाग्न सक्छ ।

एउटा कुरा स्मरणीय के छ भने कोरोना कालमा जब, कर्फ्यु लाग्यो अनि स्कुल तथा अफिसको काम घरबाट हुन थाल्यो, त्यसपछि मानिसहरूको स्क्रिन टाइम पनि बढ्न पुग्यो । जसबाट आँखा, गर्धन र पिठ्युँ दुखाईको समस्या आउन थाल्यो । लकडाउनकै दौरान एक शब्द चर्चामा आएको थियो, 'डुमस्क्रोलिङ' अर्थात् नरोकिकन स्क्रोलिङ गरिरहनु ।

त्यस्तै अर्को शब्द थियो, 'बिन्ज वाचिङ' अर्थात् लगातार रूपमा कुनै सिरिज हेरिरहनु । लकडाउन त हट्यो, तर त्यसपश्चात् पनि यो खराब आदत भने गएन । अब यस्तो समस्याबाट कसरी छुटकारा पाउने ?

२०-२० नियमको बारेमा त हामीले थाहा पाइसक्यौं । यसका साथै केही अन्य कुराको समेत तपाईंले ख्याल राख्न सक्नु हुन्छ ।

ब्लिङ्किङ

अमेरिकन एकेडेमी अफ अप्टिमोलोजीका अनुसार आँखा झिम्काउँदै गर्नुहोस् । आँखाका परेलीहरूले वाइपरको जस्तै काम गर्छन् । यिनले आँखाको धुलो र फोहोरलाई सफा गर्छन् र आँखाको आद्रतालाई कायम राखिराख्छन् । उक्त आद्रता बिना कर्नियाँ सुख्न सक्छ र नजर मधुरो बन्न सक्छ ।

ब्रेक लिनुहोस्

बिचबिचमा आफ्नो स्क्रिनलाई बन्द गर्नुहोस् । आँखालाई पुर्णरूपमा बन्द गर्नुहोस् । आराम गर्नुहोस् ।

स्क्रिनबाट उचित दुरी बनाउनुहोस्

विशेषज्ञहरू बताउँछन् कि तपाईंको स्क्रिन तपाईंको अनुहारबाट एक हात टाढा अथवा ४० देखि ५० सेन्टिमिटरको दुरीमा हुनु पर्छ । ताकि स्क्रिनबाट आइरहेको परावर्तन वा ग्लेयरलाई कम गर्न सकियोस् ।

आँखालाई सहज हुने किसिमले स्क्रिनको फन्ट अर्थात् अक्षरको आकार पनि ख्याल राख्नुहोस् । तपाईंको स्क्रिनको ब्राइटनेस तपाईं रहेको कोठाको प्रकाशसँग मेल खाओस् । अँध्यारोमा ब्राइट स्क्रिनबाट टाढा रहनु होस् ।

आई लेभल

यसको मतलब हो कि स्क्रिनको अवस्थिति यस्तो होस्, जुन आँखाको हिसाबले सटीक रहोस् र तपाईंलाई स्क्रिनतर्फ झुक्नु नपरोस् । यूकेको नेसनल हेल्थ सर्भिसका अनुसार स्क्रिनको अवस्थिति तपाईंको आँखाको हिसाबले ठिक तल हुनुपर्छ ।

यदि तपाईं कन्ट्याक्ट लेन्स लगाउनु हुन्छ भने केही बेरका लागि तिनलाई हटाउनुहोस् र केही समयका लागि चस्मा लगाउनुहोस् । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) का अनुसार बच्चाहरूलाई स्वस्थ रहनका लागि उनीहरूलाई स्क्रिनमा कम समय बिताउनु पर्ने हुन्छ । राम्रो निन्द्रा लिनुपर्ने हुन्छ । र बाहिर गएर खेल्नु पर्छ । यो सबै उनीहरूको दिनचर्यामा समावेश हुनुपर्छ । 

पछिल्लो अध्यावधिक: साउन ७, २०८१ १६:५२