काठमाडौं । अहिले एआई टुलले धेरै व्यक्तिहरूलाई उत्पादनशील बनाउन भूमिका खेलिरहेका छन् । विभिन्न कामका लागि फरक फरक एआई टुल उपलब्ध छन् ।
बजारमा उपलब्ध विभिन्न एआई टुल मध्ये कोपाइलट पनि एक हो । माइक्रोसफ्टको स्वामित्वमा रहेको यो टुललाई विन्डोज कम्प्युटर तथा मोबाइलबाट सजिलै चलाउन सकिन्छ । हुन त ओपनएआईको एआई मोडल च्याटजीपीटीमा आधारित भए पनि यो अलि फरक छ ।
यसमा विभिन्न फिचरहरू उपलब्ध छन् । आज हामी कोपाइलट चलाउने केही स्मार्ट तरिकाहरू चर्चा गर्ने छौं:
१. कोपाइलट नोटबुक
यदि तपाईं लामो आकारको प्रोम्प्ट लेख्नुहुन्छ भने कोपाइलट नोटबुक नामक फिचर उपयोगी हुन्छ । किनकि यसले १८ हजार क्यारेक्टरसम्म सपोर्ट गर्छ । विशेष गरी लामो आकारका टेक्स्ट अथवा कोडहरू सिर्जना गर्नका लागि तपाईंले यसलाई प्रयोग गर्न सक्नुहुन्छ । यसको इन्टरफेस पनि निकै सामान्य छ ।
अहिलेलाई जम्मा दुई ओटा बक्स दिइएका छन् । एउटा प्रोम्प्टका लागि र अर्को जेनेरेट हुने कन्टेन्टका लागि । यसमा पहुँच पाउन तपाईंले कम्प्युटरमा कोपाइलटलाई फुल स्क्रिनमा खोल्नु पर्छ । त्
यसपछि माथि दायाँ भागमा कोपाइलटसँगै नोटबुकको विकल्प देखिन्छ ।
२. रोयल्टी तिर्नु नपर्ने तस्विर तयार पार्ने
माइक्रोसफ्ट कोपाइलटले टेक्स्ट र कोड सँगसँगै तस्विर पनि तयार पार्न सक्छ । जुन ओपनएआईको ड्यालईबाट सञ्चालित छ । यसका लागि तपाईंले छुट्टै वेबसाइट खोलिरहनु पनि पर्दैन ।
कोपाइलट भित्रै सामान्य रूपमा प्रोम्प्ट लेखेर तपाईंले तस्विर तयार पार्न सक्नुहुन्छ । त्यसलाई केही सम्पादन गर्न आवश्यक ठान्नु भयो भने त्यसका लागि पनि विकल्प दिइएको छ ।
जुन काम माइक्रोसफ्ट डिजाइनरबाट गर्न सकिन्छ । कोपाइलटले तयार पारेको तस्विरमा क्लिक गर्नु भयो भने तपाईं सोझै माइक्रोसफ्ट डिजानइरमा पुग्नु हुनेछ ।
जसबाट कुनै फिल्टर राख्ने, कलर टोन मिलाउने, ब्याकग्राउन्ड हटाउने जस्ता काम गर्न सकिन्छ ।
३. प्लग इन प्रयोग गर्ने
माइक्रोसफ्टले कोपाइलटमा हालै थपेको फिचर हो, प्लगइन । यो भनेको अन्य एआई टुलहरूमा कोपाइलटबाटै पहुँच पाउनु हो । यी प्लगइन प्रयोग गर्दा नजिता सटीक पाउन सकिन्छ ।
यसका लागि तपाईंले कोपाइलटको इन्टरफेसमा दायाँ भागतिर 'प्लगइन्स'को विकल्प देख्न सक्नुहुन्छ । जुन 'रिसेन्ट एक्टिभिटी'को छेवैमा रहेको छ ।
४. बोलेर निर्देशन दिने
कोपाइलटमा टेक्स्ट तथा अडिओ दुवै माध्यमबाट इन्पुट दिन सकिन्छ । टाइप गरेर प्रोम्प्ट लेख्न झ्याउ लागे तपाईंले बोलेरै कोपाइटलाई निर्देशन दिन सक्नुहुन्छ । यसका लागि प्रोम्प्ट लेख्ने बक्सको दायाँ भागमा माइक्रोफोनको चिन्ह दिइएको हुन्छ ।
त्यसमा क्लिक गरेर तपाईंले निर्देशन दिनु भयो भने कोपाइलटले पनि अडिओमा नै प्रतिक्रिया दिन्छ ।
५. इमेज सर्च गर्ने
सायद तपाईंलाई गुगल लेन्स बारे पक्कै थाहा छ । त्यसमा कुनै पनि फोटो राखेर इन्टरनेटमा सर्च गर्न सकिन्छ । ठ्याक्कै त्यस्तै नभए पनि माइक्रोसफ्टको कोपाइलटमा पनि तस्विर राखेर सर्च गर्न सकिने फिचर उपलब्ध छ ।
अनि यसको सबैभन्दा राम्रो पक्ष कोपाइलटले दिने उत्तरहरूमा प्रति प्रश्नहरू गर्न सकिने विकल्प हो । अर्को अर्थमा भन्नु पर्दा प्रयोगकर्ताले कोपाइलटलाई उस्तै प्रकारको तस्विर बनाउने, इमेजमा भएको टेक्स्ट झिक्ने लगायत अन्य विभिन्न काम पनि गर्न सक्छन् ।