काठमाडौं । आइएमई लिमिटेड र सहकारी संस्थालाई प्रविधिमैत्री बनाउने कम्पनी एमबैंक (मोबाइल बैंकिङ)बीच विदेशबाट पठाएको रकम सिधै सहकारीको खातामा जम्मा गर्न सकिने सम्झौता भएको छ ।
यस सम्झौतासँगै एमबैंकसँग आबद्ध सहकारी सदस्यहरूले आइएमई रेमिटमार्फत पठाएको पैसा सिधै आफ्नो खातामा जम्मा गर्न सक्नेछन् । यसरी मोबाइल बैंकिङ तथा भुक्तानी प्लेटफर्म ‘एमबैंक’ मार्फत सहकारीका सदस्यहरूले सिधै आफ्नो खातामा पैसा जम्मा गर्न सक्नेछन् ।
आइएमई लिमिटेड र एमबैंक टेक्नोलोजी प्रालिबीच रेमिटेन्स रकम सिधै खातामा जम्मा गर्न सकिने सम्झौता भएको हो । आइएमईको तर्फबाट प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र एमबैंक टेक्नोलोजीका संस्थापक तथा प्रबन्ध निर्देशक सञ्जय महासेठले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
एमबैंकले नेपालभरका करिब ५०० सहकारी संस्थालाई मोबाइल बैंकिङ तथा भुक्तानी प्लेटफर्म प्रदान गरिरहेको छ । एमबैंकसँग आबद्ध सहकारीहरूले रेमिटेन्स रकम सिधै आफ्नो सहकारीको खातामा प्राप्त गर्न सक्नेछन् । मोबाइलबाटै आफ्नै सहकारीको खातामा रेमिटेन्स रकमको भुक्तानी लिन सकिने यस व्यवस्थाले धेरै सदस्यहरू लाभान्वित हुने विश्वास एमबैंकका प्रमुख महासेठले जानकारी दिए ।
शुक्रवारबाट नवौं वर्षमा प्रवेश गरेको एमबैंक सहकारी क्षेत्रमा लोकप्रिय मोबाइल बैंकिङ तथा भुक्तानी प्लेटफर्म कम्पनी हो । स्थापना दिवसकै अवसरमा आइएमईसँग सहकार्य गरी रेमिटेन्स सेवाको सुरुवात गरिएको एमबैंकले जनाएको छ ।
एमबैंक मार्फत सहकारीका सदस्यहरूले आफ्नो खातामा रहेको ब्यालेन्स ट्रान्सफर गर्न, ब्यालेन्स चेक गर्न, स्टेटमेन्ट हेर्न, लोनको जानकारी लिन, फोन, नेट, टिभी रिचार्ज गर्ने, डिजिटल वालेट लोड गर्न, बिजुलीको बिल, खानेपानी बिल भुक्तानी गर्ने, बस तथा हवाई टिकट बुक गर्ने, क्यूआर कोड भुक्तानी गर्ने र विभिन्न सरकारी सेवाको भुक्तानी गर्ने लगायतका सेवा पनि सहजै लिन सक्ने सुविधा छ ।