close

काम ठप्प पारेर दूरसञ्चार प्राधिकरणका कर्मचारी धर्नामा

टेकपाना टेकपाना

साउन १६, २०८१ १५:११

काम ठप्प पारेर दूरसञ्चार प्राधिकरणका कर्मचारी धर्नामा

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारीहरूले संस्थागत सुधारका लागि तेस्रो चरणको आन्दोलन थालेका छन् । प्राधिकरणको स्वतन्त्र कर्मचारी युनियनमा आबद्ध कर्मचारीहरूले विभिन्न समयमा पेश गरेका मागहरू सुनुवाइ नभएको भन्दै बुधवारदेखि कार्यालय परिसरमा धर्ना दिएका हुन् ।

पहिलो चरणमा कर्मचारीहरूले चार दिनसम्म कालो ब्यानर तथा कालो पट्टी बाँधेर विरोध जनाएका थिए भने दोस्रो चरणमा दुई दिनसम्म पेन डाउन गरेका थिए ।

यस अवधिमा पनि माग सुनुवाइ नभएपछि प्राधिकरणको कार्य सम्पूर्ण रूपमा ठप्प पार्दै कार्यालय प्रमुखको कार्यकक्षअघि धर्ना दिएका हुन् । धर्नाको कार्यक्रम एक हप्तासम्म सञ्चालन हुने बताइएको छ । माग सम्बोधन नभए कर्मचारीहरूले कार्यालय प्रमुखलाई कार्यालय प्रवेश निषेध गर्नेसम्मका कार्यक्रम राखेका छन् ।

कर्मचारीहरूले प्राधिकरण व्यवस्थापनसमक्ष चार बुँदे माग राखेका छन् । पहिलो र महत्त्वपूर्ण माग कार्यकक्षको प्रतिकूल वातावरणसँग सम्बन्धित छ । यसअघि कमलादीमा रहेको कार्यालय तीन वर्षअघि राष्ट्रिय नाचघर जमलमा सारिएको थियो । नाचघरको भुइँतला र पार्किङमा अक्सिजनको कमी र कार्बनडाइअक्साइड धेरै हुँदा कर्मचारी तथा सेवाग्राहीको स्वास्थ्यमा जोखिम भएकाले कर्मचारीहरूले समस्या समाधान गर्न आवाज उठाएका थिए।

प्राधिकरणको भवनमा कार्य सम्पादनका दृष्टिकोणले उचित र पर्याप्त अक्सिजन र प्रकाशको न्यूनतम मापदण्ड समेत नपुगेको भन्दै अधिकांश कर्मचारीहरूमा स्वास्थ्य समस्या देखिएको गुनासो गरिएको छ ।

त्यस्तै, कर्मचारीहरूले प्राधिकरणको आफ्नै स्वामित्वको घर जग्गा तथा भवन निर्माण कार्यको सुनिश्चितता गर्न माग राखेका छन्।

कर्मचारीहरूसँग सम्बन्धित नीति, नियम, गुरुयोजना, पदपूर्ति तथा ओ एन्ड एम सर्भे लगायतका विषयहरूमा कर्मचारीहरूको हक, हित, उत्प्रेरणा, पूर्वानुमानयोग्य वृत्ति विकास सुनिश्चितता हुने गरी तत्काल अगाडि बढाउन पनि माग गरिएको छ ।

पछिल्लो अध्यावधिक: साउन १६, २०८१ १५:११