close

टिकटक, इन्स्टाग्राम र फेसबुकमा विज्ञापन देखेर सामान किन्दै हुनुहुन्छ ? ध्यान दिनुहोस् यी कुरा

टेकपाना टेकपाना

साउन २०, २०८१ १०:३३

टिकटक, इन्स्टाग्राम र फेसबुकमा विज्ञापन देखेर सामान किन्दै हुनुहुन्छ ? ध्यान दिनुहोस् यी कुरा

काठमाडौं । आजकल हामी अनलाइनमा समय बिताइरहेका हुन्छौं, जहाँ विभिन्न वस्तु र उत्पादनहरूको विज्ञापन देख्न पाइन्छ । यी विज्ञापनहरू देखेर हामीलाई सामग्री खरिद गरौं गरौं लाग्न सक्छ । 

उदाहरणका लागि, तपाईंले फेसबुक वा इन्स्टाग्राममा रिल्स तथा टिकटक हेर्दा विभिन्न प्रकारका सामग्रीहरूको विज्ञापन देख्न थाल्नुहुन्छ । यस्ता विज्ञापनमा घरको भान्सादेखि कपडा र अन्य वस्तुहरूसम्म देखाइन्छ । केवल विज्ञापन मात्र होइन, सिधै सामान बेच्नका लागि सामाजिक सञ्जालमा अकाउन्टहरू पनि खोलिएका हुन्छन् ।

इन्टरनेटको पहुँच बढेसँगै साना तथा मझौला उद्यमीहरू सम्भावित ग्राहकसम्म पुग्न सजिलो भएको त छ, तर यही कुराको फाइदा उठाएर कतिपयले ठगी गर्ने धन्दा चलाएका छन् । विशेषगरी अनलाइन किनमेलको नाममा मानिसहरू ठगीको सिकार भइरहेका छन् । फेसबुक, इन्स्टाग्राम, टिकटकजस्ता सामाजिक सञ्जाललाई ठगी गर्नेहरूले हतियार बनाइरहेका छन् ।

अनलाइन ठगी कसरी हुन्छ ?

यसलाई एक उदाहरणबाट बुझ्न सकिन्छ । मानौं, तपाईंले फेसबुकमा सारीको विज्ञापन देख्नुभयो र किन्ने सोच बनाउनुभयो । त्यसपछि, तपाईंले उक्त अकाउन्टमा सम्पर्क गरी मूल्य सोध्नुभयो र पैसा पठाउनुभयो । तर, पैसा पठाएपछि सामान डेलिभरी हुँदैन, बरु सम्पर्क नम्बर ब्लक गरिन्छ ।

यो एक प्रकारको ठगी हो । यस्तै, गुणस्तरीय सामानको नाममा गुणस्तरहीन सामग्री उपलब्ध गराउने, एउटा भनेको सामानको सट्टा अर्को पठाउनेजस्ता विभिन्न ठगीका तरिकाहरू छन् ।

ठगीबाट कसरी बच्ने ?

ठगी गर्ने अकाउन्ट ठ्याक्कै चिन्ने कुनै सूत्र त छैन, तर निम्न तरिकाबाट अनुमान भने गर्न सकिन्छ:

१. वेबसाइट जाँच गर्नुहोस् : सामाजिक सञ्जालमा व्यापार प्रवर्द्धन गर्ने ईकमर्स कम्पनीहरूले आफ्नो वेबसाइट चलाउँछन् । कुनै पनि उत्पादन खरिद गर्नुअघि वेबसाइट छ/छैन जाँच गर्नुहोस् ।

२. पेज खोलिएको मिति जाँच गर्नुहोस् : फेसबुकमा पेज कहिले खोलियो भनेर हेर्न सकिन्छ । भर्खरै खोलिएको पेज भए सतर्क रहनुहोस् ।

३. पोस्टको नियमितता हेर्नुहोस् : वास्तविक पसलहरूले नियमित रूपमा पेज अपडेट गरिरहन्छन् । कम पोस्ट भएका पेजहरूमा सतर्क रहनुहोस् ।

४. कार्यालय अथवा भौतिक पसल जाँच गर्नुहोस् : वास्तविक पसलहरूले ग्राहकहरूलाई आफ्नो कार्यालय वा भौतिक पसलमा आउन पनि प्रोत्साहित गर्छन् ।

५. रिभ्यूहरू वा फलोअर्स हेर्नुहोस् : पहिलेका ग्राहकहरूले दिने प्रतिक्रियाहरूलाई ध्यान दिनुहोस् । नकारात्मक प्रतिक्रिया वा कम फलोअर्स भएका पेजहरूमा सतर्क रहनुहोस् ।

६. अनुहार देखाउने/नदेखाउने जाँच गर्नुहोस् : वास्तविक पसलहरूले उत्पादनबारे जानकारी दिन भिडिओ प्रस्तोता राख्न सक्छन् । यदि कुनै पनि पोस्टमा मान्छे देखिन्न भने सतर्क रहनुहोस् ।

७. भुक्तानीका लागि जोड दिए सतर्क हुनुहोस् : ईकमर्स साइटहरूले सामान हात परेपछि मात्र भुक्तानी गर्ने विकल्प दिन्छन् । लगातार भुक्तानीका लागि मात्र जोड दिने अकाउन्टहरूबाट सतर्क रहनुहोस् ।

ठगी भएमा के गर्ने ?

ठगी भएमा नजिकको प्रहरी कार्यालय वा साइबर ब्यूरोको ड्युटी अफिसरको नम्बर ९८५१२८६७७० वा ९८५१२८६७७१ मा सम्पर्क गर्नुहोस् । त्यस्तै, साइबर ब्यूरोको आधिकारिक ईमेल एड्रेस [email protected] मा समस्या लेखेर मेल गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: साउन २०, २०८१ १०:४७