काठमाडौं । सबैभन्दा बढी डाउनलोड भएको नेपाली एप हाम्रोपात्रोको युजर इन्टरफेस (यूआई) परिवर्तन हुने भएको छ । शुक्रबार सामाजिक सञ्जालमा एक डेमो भिडिओ राख्दै हाम्रोपात्रोका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शंकर उप्रेतीले यूआई परिवर्तन हुन लागेकाे जानकारी दिएका हुन् । यो अपडेट ‘हाम्रोपात्रो’को इतिहासमै सबैभन्दा ठूलो हुने उनले जनाएका छन् ।
अहिले हाम्रोपात्रो एपमा जस्तो यूआई छ नयाँ यूआई त्योभन्दा भिन्नै देखिन्छ । सबैभन्दा पहिले नयाँ हेडर आँखामा पर्छ । अहिले हेडरको बायाँपट्टि तीन ओटा मेन्युबार, त्यसको छेउमा प्रयोगकर्ताको प्रोफाइल पिक्चर, त्यसपछि हाम्रोपात्रोको लोगो, भाषाको अप्सन, थिम अप्सन र अन्तिममा इन्बक्सको आइकन राखिएको छ ।
नयाँ यूआईको हेडरमा दायाँपट्टि तीन ओटा बार, त्यसको छेउमा हाम्रोपात्रोको लोगो र दायाँपट्टि प्रयोगकर्ताको प्रोफाइल पिक्चर राखिएको छ । पहिलेको तुलनामा नयाँ यूआई साधारण देखिन्छ । यद्यपि इन्बक्स र भाषाको अप्सन नयाँ यूआईमा कहाँ हुन्छ स्पष्ट छैन ।
अहिलेको हाम्रोपात्रोको यूआईको बटममा ‘स्क्यान एन्ड पे’ अप्सन राखिएको छ । तर, त्यो फुटरभन्दा केही माथि छ । नयाँ यूआईमा भने फुटरमा होम, क्यालेन्डर, एक्सप्लोर र मोर अप्सन रहनेछन् ।
अहिले हाम्रोपात्रोको एन्ड्रोइड र आईओएस एपमा डिफल्ट फन्ट प्रयोग गरिएको छ । अर्थात् डिभाइसमा जुन फन्ट छ, एपमा त्यही फन्ट देखिन्छ । समाचार बुलेटिन सेक्सनमा भने कम्पनीले अनेक फन्ट प्रयोग गरेको छ । नयाँ यूआईमा सबैतिर फरक-फरक नेपाली फन्ट प्रयोग गरेको देखिन्छ ।
हेडरपछि सर्चको आइकन राखिएको छ । त्यसपछि तल ब्यानरमा प्रयोगकर्तालाई स्वागत गरिएको देख्न सकिन्छ भने त्यसैमा तापक्रम र समय उल्लेख भएको देख्न सकिन्छ । उक्त ब्यानरलाई स्लाइड गर्दा पात्रो खुल्छ । त्यसलाई पनि स्लाइड गर्दा आगामी मितिमा भएका पर्वको सूचना राखिएको छ ।
त्यसपछि तल हाम्रोपात्रोका विभिन्न सेवाहरू जस्तै; हाम्रो पे, भिडिओ, राशिफल, समाचार, रेडिओ, हाम्रो रिचार्ज, हाम्रो रेमिट र क्यालेन्डरको अप्सन राखिएको छ । त्योभन्दा तल भएको भ्यु मोरमा हाम्रोपात्रोका अन्य सेवाहरू देख्न सकिन्छ ।
त्यसको तलपट्टि क्विक न्युज रिड अर्थात् समाचार छोटकरीमा लेखेको देख्न सकिन्छ । र, त्यसभन्दा तल अरू समाचारको सेक्सन राखिएको छ ।
हाम्रोपात्रोको नयाँ यूआई अनुभव लिन यहाँ क्लिक गर्नुहोस् ।
कम्पनीका अनुसार फिडमा के के सूचना राख्ने भन्ने अप्सन प्रयोगकर्ताले आफू अनुकूल कस्टमाइज गर्न सक्छन् । अहिलेको डेमोमा भने त्यो सुविधा छैन । डेमोमा केही कमजोरी फेला पारे यहाँ क्लिक गरेर रिपोर्ट गर्न सकिनेछ । नयाँ यूआईसहितको अपडेट हाम्रोपात्रोमा कहिले आउँछ भन्ने स्पष्ट छैन ।