close

कस्तो छ १२ हजार मूल्य पर्ने नथिङको ‘सीएमएफ वाच प्रो टु’ स्मार्टवाच ?

गणेश सुवेदी गणेश सुवेदी

साउन २६, २०८१ ११:३४

कस्तो छ १२ हजार मूल्य पर्ने नथिङको ‘सीएमएफ वाच प्रो टु’ स्मार्टवाच ?

काठमाडौं । भरपुर फिचर सहित स्मार्टवाच प्रयोग गर्ने सोचमा हुनुहुन्छ भने ‘सीएमएफ वाच प्रो टु’ (CMF Watch Pro 2) एक विकल्प हुन सक्छ । थुप्रै कस्टमाइजेसनको विकल्प भएको स्मार्टवाचमा अन्य सामान्य स्मार्टवाचमा हुने सबै फिचर छन् । यसको डायल (dial) वृत्ताकार भएकाले स्मार्टवाचलाई टाढाबाट पनि मानिसहरूले नियाल्न सक्छन् । नेपाली बजारमा १२ हजार रुपैयाँ पर्ने यो स्मार्टवाच मूल्य अनुसार कामको छ कि छैन ? आज हामी यस समग्रीमा चर्चा गर्ने छौं: 

सबैभन्दा पहिले सीएमएफको बारेमा कुरा गर्दा यो नथिङको सहायक ब्रान्ड हो । सीएमएफ ब्रान्ड अन्तर्गत स्मार्टफोन, स्मार्टवाच लगायतका ग्याजेटहरू उत्पादन हुँदै आएको छ । यस स्मार्टवाचको मुख्य फिचर भने लुक्स र कस्टमाइजेसन नै हो ।

स्मार्टवाचको बाहिरी भाग आल्मुनियमबाट बनाइएको छ । साथै यसको बेजल्स पनि परिवर्तन गर्न मिल्ने छ । अर्थात्, स्मार्टवाचमा भएको बेजल्सलाई खोलेर अर्को बेजल्स लगाउन सकिन्छ । त्यसका लागि छुट्टै बेजल्स खरिद गर्नुपर्ने हुन्छ । 

नेपाली बजारमा यो स्मार्टवाच खरानी, सुन्तला, निलो र गाढा खरानी रङमा पाउन सकिन्छ । स्मार्टवाच खरिद गर्दा सिलिकनको एउटा फिता नि:शुल्क पाइन्छ ।

स्मार्टवाचको बाहिरतिर एउटा बटन छ, जसलाई ‘फङ्सनल क्राउन’ नाम दिइएको छ । यसलाई एकपटक दबाउँदा मुख्य मेनु र घुमाउँदा स्क्रोल अप/डाउन गर्न सकिन्छ । स्मार्टवाचमा दायाँबायाँ स्वाइप गर्दा विभिन्न विजेट्स देख्न सकिन्छ । तिनीहरूलाई तपाईंले आफूअनुकूल कस्टमाइज गर्न सक्नुहुन्छ । 

त्यस्तै स्क्रिनलाई तलतिर स्वाइप गर्दा कन्ट्रोल सेन्ट्रल खुल्छ । जहाँबाट ब्राइटनेस, सेटिङमा जाने विकल्प पाउन सकिन्छ । अनि, तलबाट माथितिर स्वाइप गर्दा भने आएका नोटिफिकेसनहरू देखिन्छन् ।

कम्पनीले यस स्मार्टवाचमा ६० एफपीएसको १.३२ इन्चको एमोलेड डिस्प्ले दिएको छ । जसमा ६२० निट्ससम्मको ब्राइटनेस पाउन सकिन्छ । जसले गर्दा टन्टलापुर घाममा पनि स्मार्टवाच मजाले चलाउन सकिन्छ । अनि, अटो ब्राइनेस भएकाले ब्राइटनेसको तह मिलाइरहनु पर्दैन । त्यसमाथि ‘अल्वेज अन डिस्प्ले’को विकल्प यसमा छुटेको छैन । 

स्मार्टवाचको सेटिङभित्र ‘डिस्प्ले एन्ड ब्राइटनेस’मा एओडी वाच फेसको विकल्प पाइन्छ । यसबाट ‘अल्वेज अन डिस्प्ले’ इनेबल गर्नुका साथै १० ओटासम्म एओडी वाच फेस छान्न सकिन्छ । 

यो स्मार्टवाचलाई स्मार्टफोनसँग कनेक्ट गर्नका लागि सीएमएफको आफ्नै एप ‘सीएमएफ वाच’ दिइएको छ । जसलाई प्लेस्टोर तथा एपस्टोरबाट डाउनलोड गर्न सकिन्छ । यसको मतलब यो स्मार्टवाच एन्ड्रोइड र आईओएस दुवै अपरेटिङ सिस्टममा चलाउन सकिन्छ भन्ने हो ।

स्मार्टवाचमा छ ओटासम्म वाच फेस पाइन्छ । तर, एपबाट भने करिब १०० बढी वाच फेस राख्न सकिन्छ । ती मध्ये कतिपयलाई त आफैंले पनि परिमार्जन गर्न सकिन्छ । 

यसमा चार ओटा विजेट्स दिइएको छ । कुन विजेटमा के राख्ने भन्ने विकल्प आफैंले मिलाउन सकिन्छ ।

स्मार्टवाचको अर्को राम्रो पक्ष ब्लुटुथ कलिङ फिचर हो । होहल्ला भएको ठाउँमा कल गर्दा पनि यस फिचरका कारण मज्जाले कुराकानी गर्न सकिन्छ । बुझिएन, सुनिएन भन्ने गुनासो आउँदैन । कलिङ फिचरलाई अझ राम्रो बनाउन कम्पनीले एआई नोइज रिडक्सन टेक्नोलोजी प्रयोग गरेको छ । 

साथै एपबाट ३० ओटासम्म कन्ट्याक्ट वाच राख्न सकिन्छ । क्विक रिप्लाइको पनि यसमा विकल्प छ । जसमा तपाईंले आफूलाई चाहिने मेसेजहरू पहिल्यै तयार पारेर राख्न सक्नुहुन्छ । अनि, आवश्यक परेको समयमा तुरुन्तै प्रयोग गर्न सक्नुहुन्छ । ‍

स्मार्टवाचमा आउने अन्य फिचर हर्ट रेट, ब्लड अक्सिजन, स्लिप, स्ट्रेस मोनिटर, मेन्सुरेसन साइकल ट्रयाकिङ हुन् । यसका साथै क्यालकुलेटर, क्यालेन्डर, म्युजिक एन्ड क्यामेरा कन्ट्रोल, ब्रिथिङ एक्सरसाइज, भोइस एसिस्टेन्ट, स्टप वाच, टाइमर, अलार्म जस्ता फिचर पनि यसमा छुटेको छैनन् । 

आफूले दैनिक रूपमा गर्ने भौतिक क्रियाकलापहरू रेकर्ड गर्न स्मार्टवाचमा १०० भन्दा बढी स्पोर्ट्स मोड दिइएको छ । एक्सरसाइज भित्र १६ ओटा स्पोर्ट्स मोड छन् । एपबाट भने आफूलाई आवश्यक पर्ने स्पोर्ट्स मोड राख्न वा हटाउन सकिन्छ । 

स्मार्टवाचमा ‘वर्क आउट डिटेक्सन’ भन्ने विकल्प पनि छ । जसले तपाईं हिँड्दा, दगुर्दा वा साइकल चलाउँदा आफैं वर्क आउट गरेको थाहा पाउँछ । र, रेकर्ड गर्न  सुझाव दिन्छ । तर, कतिपय अवस्थामा बाइक चलाउँदा स्मार्टवाचले रेकर्ड गर्न सुझाव दिने गर्छ । जुन भने स्मार्टवाचको नकारात्मक पाटो हो ।

त्यस्तै फोनमा जस्तैं स्मार्टवाचमा पनि जेस्चरको विकल्प पनि पाइन्छ । यसको सेटिङ भित्र रहेको क्विक जेस्चरमा जाने हो भने त्यहाँ जेस्चर इन, रोटेट योर रिस्ट, सेक यो आर्मको विकल्प भेटिन्छन् । रोटेट गर्दा वा सेक गर्दा फोन उठाउने, काट्ने, म्युजिक कन्ट्रोल गर्ने, फोटो खिच्ने जस्ता कामहरू हुने गर्छ । तर यसले काम गरे पनि त्यति धेरै भरपर्दो भने छैन ।

अब यसको फोन एपमा भने विभिन्न मोडहरूले रेकर्ड गरेको दैनिक साप्ताहिक, मासिक र वार्षिक समीक्षा पाउनु हुनेछ । जस्तै: तपाईंले के कति कसरत गर्नु भयो ? तनावको अवस्था कस्तो थियो ? कति समय सुत्नुभयो ? मुटुको अवस्था कस्तो थियो ? तर, दिउँसो सुतेको खण्डमा यसले त्यो पनि पत्ता लगाउँछ ।

यसबाहेक कम्पनीले यस फोनमा एक्सेलोरोमिटर सेन्सर, एम्बियनट लाइट सेन्सर, हर्ज रेट, एसपीओटू ब्लड अक्सिजन स्याचुरेसन सेन्सर राखेको बताएको छ । तर, यसमा इनबिल्ट जीपीएस भने छैन । स्मार्टवाचले फोनकै जीपीएस प्रयोग गर्ने गरेको छ । 

यस स्मार्टवाचले आईपी ६८ वाटर एन्ड डस्ट रेसिस्टेन्ट रेटिङ पाएको छ । यसले गर्दा स्मार्टवाचलाई ३० मिनेटसम्म १.५ मिटरसम्मको गहिराइमा राख्दा केही नहुने कम्पनीले दाबी गरेको छ ।

स्मार्टवाचको ब्याट्रीको बारेमा कुरा गर्दा यसमा ३०५ एमएएचको ब्याट्री दिइएको छ । जसलाई चार्ज गर्न एउटा म्याग्नेटिक चार्जर दिइएको छ । यसबाट स्मार्टवाचलाई चार्ज गर्न औसतमा दुई घण्टा लाग्ने गर्छ । यसपछि सामान्य प्रयोग गर्दा स्मार्टवाचलाई १० दिनभन्दा बढी चलाउन सकिन्छ । तर, अल्वेज अन डिस्प्ले इनेबल गर्दा ब्लुटुथ सधैं अन गर्दा भने यो समय केही कम हुन जान्छ ।

समग्रमा भन्नु पर्दा पाँच/छ हजार रुपैयाङ्गा पाउने स्मार्टवाचभन्दा नथिङको यो स्मार्टफोन अब्बल नै देखिएको छ । कस्टमाइजेसन, क्विक रिप्लाई, जेस्चर कन्ट्रोल, सीएमएफको आफ्नै एप, कस्टमाइज गर्न सकिने विजेट्स, सेन्सर र नथिङ ब्रान्ड जस्ता कुराले यो स्मार्टवाचलाई अरूभन्दा फरक र राम्रो देखाएको हो ।

पछिल्लो अध्यावधिक: साउन २६, २०८१ १३:१८