काठमाडौं । ग्रुप फोटो खिचिदिने मान्छे जहिले मुख्य फोटोमा छुट्छ । त्यस्तो अवस्थामा, ग्रुप बाहेकको बाहिरी व्यक्तिले फोटो खिचिदिनु पर्छ । तर, सधैं बाहिरको मान्छे उपलब्ध हुन्छ भन्ने हुँदैन । यही समस्या समाधान गर्न गुगलले ‘एड मि’ फिचर ल्याएको छ ।
मङ्गलबार सार्वजनिक गरिएको गुगल पिक्सेल नाइन सिरिजमा कम्पनीले यस्तो फिचर ल्याएको हो । यसमा सबैभन्दा पहिले एउटा ग्रुप फोटो खिचिन्छ । त्यसपछि त्यहींबाट एउटा व्यक्ति आएर फोटो खिच्छ भने पहिले फोटो खिच्ने व्यक्ति ग्रुपमा मिसिन्छ । त्यसपछि गुगलको एआईले दुईवटा फोटोलाई जोडेर सबैलाई समावेश गरी एउटा उत्कृष्ट फोटो तयार पार्छ ।
ग्रुप फोटो खिच्दा सबै आ-आफ्नै तालमा हुन्छन् । त्यस्तो अवस्थामा सबैले एउटै तरिका अपनाउँदा पनि फोटो केही न केही अस्वाभाविक देखिन्छ । त्यसलाई सुधार्न ‘बेस्ट टेक’ फिचर ल्याइएको छ । यस फिचरले एकै व्यक्तिको अनुहारका फरक-फरक फोटोहरू राख्छ । पछि कसैको फरक अनुहार राख्न परेमा, त्यही फोटो छानेर एडजस्ट गर्न सकिन्छ ।
त्यस्तै, फोटो खिच्दै गर्दा ब्याकग्राउन्डमा अनावश्यक सामग्री देखिने विषय नौलो होइन । त्यस्तो सामग्री हटाउन वा त्यसको साइज बढाउन र घटाउन गुगलको ‘म्याजिक एडिटर’ प्रयोग गर्न सकिन्छ ।
कहिलेकाहीँ हामीसँग एउटा साइजको फोटो हुन्छ, जसको फ्रेम बढाउँदा फोटो बिग्रिन्छ । बढाएको फ्रेममा फोटोको ब्याकग्राउन्डसँग मिल्ने वस्तु जोडियोस् भन्नका लागि गुगलले अटो फ्रेम फिचर ल्याएको छ ।
यसअघि केही फोनमा फोटोमा देखिएको आकाश परिवर्तन गर्न सकिने सुविधा थियो । खासगरी पहिलेको ब्याकग्राउन्ड हटाएर आकाश राख्न सकिने सुविधा ती फोनमा उपलब्ध थियो ।
तर, गुगलले अब फोटोमा जे आवश्यक पर्यो, त्यो वस्तु थप्न सकिने ‘रि इम्याजिन’ फिचर ल्याएको छ । उदाहरणका लागि, तपाईंले तराईमा फोटो खिच्नुभयो, तर त्यो फोटो हिमालमा खिचेको जस्तो देखियोस् भन्नुभयो भने, त्यही अनुसार फोटो एआईको सहायताले एडिट गर्न सकिन्छ ।