close

रियलमीले ल्यायो ३२० वाटको फास्ट चार्जर, साढे ४ मिनेटमै ब्याट्री फुल चार्ज हुने

टेकपाना टेकपाना

साउन ३१, २०८१ १९:२२

रियलमीले ल्यायो ३२० वाटको फास्ट चार्जर, साढे ४ मिनेटमै ब्याट्री फुल चार्ज हुने

काठमाडौं । हामीले ६५ वाट, १०० वाट र १२० वाटका चार्जरका बारेमा त प्रशस्तै सुनेका छौं । कतिपय फास्ट चार्जर त हामी आफै पनि प्रयोग गर्दै आएका छौं । चिनियाँ स्मार्टफोन निर्माता रियलमीले गत वर्ष २४० वाट चार्जिङ सहितको फोन घोषणा गरेको थियो । त्यस वर्ष त्यो नै सबैभन्दा फास्ट चार्जर थियो । रियलमीले त्यतिमै नरोकिएर अहिले ३२० वाटको फास्ट चार्जर घोषणा गरेको छ ।

यस चार्जरले जम्मा चार मिनेट ३० सेकेन्डमै फोनलाई शून्यदेखि १०० प्रतिशतसम्म चार्ज गर्ने कम्पनीको दाबी छ । तपाईंको जानकारीका लागि भनिहालौं गत वर्ष कम्पनीको २४० वाट चार्जरले फोनलाई साढे नौ मिनेटमा फुल चार्ज गरेको थियो । तर, पछि रियलमी जीटी थ्रीमा भने सो २४० वाटको चार्जले १५ मिनेटमा फोन फुल चार्ज गरेको थियो ।

अहिलेको ३२० वाटको फास्ट चार्जले साढे चार मिनेटमै फोन फुल चार्ज गर्ने दाबी कम्पनीले गरेको भए पनि वास्तविक प्रयोगमा आउँदा केही मिनेट थपिने विश्लेषण गरिएको छ । किनभने अहिलेसम्म यस चार्जरले कति क्षमताको ब्याट्री फुल चार्ज गर्न साढे चार मिनेट लाग्छ भन्ने कम्पनीले खुलाएको छैन । 

रियलमीले चिनियाँ सामाजिक सञ्जाल प्लेटफर्म विबोमा पोस्ट गरेको भिडिओमा कम्पनीका हेड अफ प्रडक्ट मार्केटिङले डेमो देखाएका छन् । सो डेमोमा फास्ट चार्जिङ सपोर्टका लागि फोनको ब्याट्री कसरी डिजाइन गरिएको छ भन्ने देखाइएको छ ।

त्यसबाहेक फास्ट चार्जिङ गर्दा त्यसमा उत्पन्न हुने ताप न्यूनीकरणका लागि कम्पनीले के कस्तो तरिका अपनाएको छ भन्ने देखाइएको छ । यसलाई कम्पनीले अल्ट्रा फास्ट र अल्ट्रा सेफ चार्जिङ भएको दाबी गरेको छ । सोही भिडिओमा फोन साढे चार मिनेटमा फुल चार्ज भएको देखाइएको छ । 

कम्पनीका अनुसार यस चार्जरको सहायताले ५० प्रतिशत चार्ज दुई मिनेटभन्दा पनि कम समयमा गर्न सकिन्छ । खासगरी कतै हतार हुँदा फोन छोटो समयमा बढी चार्ज गर्नुपर्ने बाध्यता आइलाग्छ । त्यस्तोमा यो चार्जर उपयुक्त हुने बताइएको छ । 

फास्ट चार्ज हुँदा त्यसले ब्याट्रीलाई असर गर्छ वा गर्दैन, समय अनुसार ब्याट्री खराब हुन कति समय लाग्छ, समयसँगै ब्याट्री चार्ज हुने गति घट्छ वा घट्दैन यी प्रश्नको उत्तर कम्पनीले दिएको छैन । यो चार्जर रियलमीको कुन फोनमा उपलब्ध हुन्छ भन्ने पनि खुलेको छैन ।

पछिल्लो अध्यावधिक: साउन ३२, २०८१ ७:२८