close

फोल्डेबल फोनमा सामसङलाई उछिन्न गुगलले ल्यायो अढाई लाख पर्ने ‘पिक्सेल ९ प्रो फोल्ड’

टेकपाना टेकपाना

साउन ३२, २०८१ १०:१४

फोल्डेबल फोनमा सामसङलाई उछिन्न गुगलले ल्यायो अढाई लाख पर्ने ‘पिक्सेल ९ प्रो फोल्ड’

काठमाडौं । गुगलले पिक्सेल नाइन प्रो फोल्ड मोडेलको फोल्डेबल फोन सार्वजनिक गरेको छ । मङ्गलबार आयोजित ‘मेड बाई गुगल’ कार्यक्रममा कम्पनीले फोल्डेबल फोनका रूपमा यो फोन सार्वजनिक गरेको हो । 

गुगलले गत वर्ष आफ्नो पहिलो फोल्डेबल फोन बजारमा ल्याएको थियो । त्यसैको दोस्रो संस्करण पिक्सेल नाइन प्रो फोल्ड हो ।

कम्पनीले यस फोनलाई अहिलेसम्मकै सबैभन्दा ठूलो डिस्प्ले भएको फोनका रूपमा दाबी गरेको छ । पिक्सेल नाइनका अन्य सिरिज जस्तो यसमा पनि गुगलको शक्तिशाली टेन्सर जी फोर प्रोसेर समावेश छ । 

ठूलो डिस्प्ले, पातलो र टिकाउ फोन 

गुगलले पिक्सेल नाइन प्रो फोल्डलाई सबैभन्दा पातलो फोल्डेबल फोनका रूपमा चिनाएको छ । र, मोबाइल डिस्प्लेको सन्दर्भमा यो नै अहिलेसम्मको सबैभन्दा ठूलो इनर डिस्प्ले रहेको कम्पनीको दाबी छ । यसको सुरक्षाका लागि कम्पनीले कोर्निङ गोरिल्ला ग्लास भिक्टस टु समावेश गरेको छ ।

फोनले आईपीएक्स ८ रेटिङ पाएको छ । भने आधा घण्टासम्म १.५ मिटर गहिराइ भएको पानीमा डुबाउँदा कुनै फरक नपर्ने कम्पनीको दाबी छ । 

पिक्सेल सिरिजको अन्य फोन जस्तै यसमा पनि थुप्रै एआई फिचरहरू छन् । एआई फिचर जस्तै जेमिनाई एआई, एड मी, पिक्सेल स्टुडियो, स्क्रिनशट एप, कल नोट्स लगायतका फिचरहरू समावेश छन् । त्यस्तै सर्कल टु सर्च, समराइज, एआई फोटोग्राफी फिचर, म्याजिक एडिटर, भिडिओ बुस्ट, बेस्ट टेक लगायतका फिचर पनि यसमा छन् । 

क्यामेराका सन्दर्भमा यसमा ४८ मेगापिक्सेलको मुख्य, १०.८ मेगापिक्सेलको टेलिफोटो क्यामेरा र १०.५ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा छ । सेल्फी क्यामेरा १० मेगापिक्सेलको क्यामेरा छ ।

एन्ड्रोइड १४ द्वारा सञ्चालित यस फोनमा सात वर्षसम्म ओएस अपडेट उपलब्ध गराउने कम्पनीले जनाएको छ । 

यसमा स्याटलाइट एसओएस सेवा दिइएको छ । त्यस्तै अल्ट्रावाइड ब्यान्ड सपोर्ट, फिङ्गरप्रिन्ट सेन्सर, एक्सेलेरोमिटर, जाइरो, प्रोक्सिमिटी, कम्पास, ब्यारोमिटर लगायतका सेन्सर छन् ।

फोनमा ४६५० एमएएच क्षमताको ब्याट्री छ भने चार्ज गर्न ७.५ वाटको वायरलेस चार्जर दिइएको छ । 

फोल्डेबल फोन प्रयोग गर्दा  टेबलटप मोड अन गरियो भने त्यसमा भिन्नै किसिमको एनिमेसन देखिन्छ । त्यस्तै मनोरञ्जनका लागि ठूलो स्क्रिनमा टिभी शो वा अन्य कार्यक्रम हेर्न मल्टिभ्युको सुविधा छ ।

त्यस्तै गेमिङका लागि कम्पनीले गेम डेभलपरसँग सहकार्य गरेर स्तरीय बनाउने प्रयास गरिरहेको जनाएको छ ।

यो फोनको मूल्य कम्पनीले १७९९ डलर (करिब दुई लाख ४१ हजार रुपैयाँ) तोकिएको छ । यसलाई अफर मूल्य भनेकाले बजारमा आइसकेपछि यसको मूल्य कति हुने भन्ने स्पष्ट छैन । 

केही समयअघि मात्र सामसङले ग्यालेक्सी जेड फोल्ड ६ र जेड फ्लिप ६ सार्वजनिक गरेको थियो । फोल्डका सन्दर्भमा सामसङले सुरुवाती मूल्य १९०० डलर (करिब दुई लाख ५४ हजार रुपैयाँ) तोकेको छ । एआई फिचरका सन्दर्भमा ग्यालेक्सीभन्दा गुगल पिक्सेल अगाडि भएको विश्लेषण गरिएको छ ।

त्यसबाहेक एन्ड्रोइड इकोसिस्टम गुगलको आफ्नै भएकाले केही प्रिमियम फिचर पिक्सेल नाइन प्रो फोल्डमा मात्र उपलब्ध हुने बताइएको छ । त्यसैले बजारमा ग्यालेक्सी जेड फोल्ड सिक्ससँग पिक्सेल नाइन प्रो फोल्डले कडा प्रतिस्पर्धा गर्ने देखिन्छ ।

पछिल्लो अध्यावधिक: साउन ३२, २०८१ १०:१४