काठमाडौं । मानसी अग्रवाल पेशाले प्रेरक वक्ता तथा कर्पोरेट प्रशिक्षक हुन् । भारतमा जन्मे हुर्के पनि उनी विवाहपछि नेपालमा रहँदै आएकी छिन् । कामको प्रकृति अनुसार उनी विभिन्न ठाउँमा गइ रहनु पर्छ । उसरी यात्रा गरी रहनु पर्ने मानसीलाई गाडी गुडाउन आउँथेन ।
यसको कारण गाडीप्रति उनको रुचि नै थिएन । यही भएर ३८ वर्ष पुग्दा उनले भर्खर गाडी चलाउन सिकेकी हुन् । आफूले गाडी चलाउन नसक्ने सोच्थिन् । तर गाडी चलाउन कुनै गाह्रो काम होइन भन्ने सोच पलाउन थालेपछि भने अन्तत: उनले सिकेरै छाडिन् । यसमा एक त कामले पनि बाध्याता सिर्जना गरिरहेको थियो । गाडी सिकेर उनी एक्लै चितवनसम्म पुगिन् । “गाडी चलाएर एक्लै चितवन जान सक्छु भने म जे पनि गर्न सक्छु”, उनको हौसला बढेको छ ।
अहिले त उनी गाडी गुडाउन मज्जाले सक्छिन् । उनमा त्यो आत्मविश्वास छ । उनको बिजुली गाडी टाटा नेक्सन प्राइम हो । यो उनको पहिलो कार पनि हो । जुन उनले आजभन्दा तीन वर्षअघि ४२ लाख रुपैयाँमा किनेकी थिइन् । गाडी चलाउन उनले यसैबाट सिकेकी हुन् । कुनै समय आफूले ‘गाडी चलाउन नसक्ने’ सोच्ने मानसीले एक पटक विराटनगर जाँदा रहर लागेर भाडाको गाडी समेत मागेर चलाइन् । त्यस बेला कार्यक्रमका लागि उनी विराटनगर पुगेकी थिइन् ।
त्यहाँ एयर्पोर्टमा उनलाई लिन आउने मान्छेले टाटाकै नेक्सन गाडी ल्याएका थिए । अनि चालकलाई अनुरोध गरेर उनले त्यो गाडी चलाइन् । त्यस बेलाको अनुभव अत्यन्त सुन्दर भएको उनी सुनाउँछिन् । तर टाटाकै गाडी किन्छु भनेर उनले सोचेकी भने थिइनन् । श्रीमान्ले गाडी रोजिदिएका थिए । पछि कम्पनीको नाम सुन्दा उनलाई राम्रै लाग्यो । भारतको ब्रान्ड, गाडी बिग्रे पनि सजिलै पाट पुर्जा पाइने । त्यसमाथि प्रदूषण कम गर्ने गाडी । उनलाई गाढा निलो भएको टाटा नेक्सन मन पनि पनि पर्यो ।
प्यारले उनले यस गाडीको नाम राखिदिइन्, ‘आल्केमी’ । जसको अर्थ परिवर्तन अर्थात् रूपान्तरण हुन्छ । आफ्नो लागि यो गाडी रूपान्तरणकारी भएकाले आल्केमी नाम दिएको उनी सुनाउँछिन् । अनि गाडीका लागि उनले आफ्नै केही नियम पनि तर्जुमा गरेकी छिन् । जस्तो: हिँड्नु अघि गाडी एसीले चिसो हुनु पर्छ, ड्राइभिङ गर्दा सङ्गीत बजाउनु हुन्न, खाने कुरा नखाने, खाइहाले जसले खान्छ उसले सफा गर्ने । केही पटक गाडीको तल्लो भागले भुइमा ठोक्काएकी पनि छिन् ।
बाटो अत्यन्त खराब भएकाले गाडीले भुइँ छोएको उनी सुनाउँछन् । यदि बाटो राम्रो भए त्यसरी ठोक्किन थियो होला । अहिलेसम्म यो गाडीलाई उनले टाढामा पोखरा र चितवनसम्म लगेकी छिन् । ती दुवै ठाउँमा जाँदा उनले कुरिनटारमा चार्ज गरेकी थिइन् । उनको धेरै यात्रा काठमाडौंभित्रै हुने गर्छ । यस गाडीबाट उनी दैनिक १०/१५ किलोमिटर यात्रा गर्छिन् । गाडी किनेको तीन वर्ष भएपनि उनी सर्भिस सेन्टर भने जानु परेको छैन । तर गाडी भने अवश्य गएको छ । उनका सहयोगी ‘सिद्दि दाइ’ले गाडी सर्भिस सेन्टर लाने गर्छन् । सिद्दि दाइ टाटाको सर्भिसिङ राम्रो बताएको सुनाउँछन् । बिहान चाँडै जाँदा काम छिटो हुने र ढिलो गए ढिलै हुने उनको अनुभव छ ।
सिद्दि दाइका अनुसार यो गाडीको एसी फिल्टर एक पटक फेरिएको छ । तीन वर्षसम्म नि:शुल्क सर्भिसिङ हुने भएकाले त्यस बेला पैसा पनि लागेन । यस बाहेक गाडीमा अहिलेसम्म अन्य कुनै पाट पुर्जा परिवर्तन गर्नु परेको छैन । तर, गाडीको रेन्ज केही बढी भइदिएको भए लामो यात्रामा निस्कन सहज हुने सिद्दि दाइ सुनाउँछन् । त्यस्तै कच्ची सडकमा जाँदा गाडीको अगाडिको चक्का कहिलेकाहीँ घिस्रने पनि उनको अनुभव छ । तर, गाडीमा अन्य समस्या नभएको सिद्दि दाइ बताउँछन् । मानसीलाई गाडीको डिजाइनमा त्यति गुनासो छैन । तर, उनलाई अघिल्लो सिटमा कफी होल्डर भइदिए अझ राम्रो हुन्थ्यो भन्ने लाग्छ । यस बाहेक आफूलाई सबै कुरामा यो गाडीले राम्रो अनुभव दिएको उनी सुनाउँछिन् ।
गाडीको सुधार गर्नु पर्ने पक्ष बारेमा सोध्दा उनी भन्छिन्, “प्राविधिक पाटोमा सुधार गर्न सकिने ठाउँ होलान् । म त्यति धेरै जान्दिनँ । तर, मेरो लागि यो गाडी ‘गेम चेन्जर’ हो । मलाई मेरो गाडी असाध्यै मन पर्छ,” गाडीमा सनरूफ छ । जुन उनी खासै प्रयोग गर्दिनन् । कहिलेकाहीँ प्रदूषण कम भएको ठाउँ पुग्दा खोल्छिन् । गाडीको बुट स्पेस पनि उनलाई पर्याप्त नै लाग्छ । तर, पछाडिको बुट स्पेसमा ठुलो आकारका दुई सुटकेस भने नअट्ने उनको अनुभव छ । उनले यो गाडीमा छ जनासम्म राखेर पनि चलाएकी छिन् । त्यस बेला बस्न गाह्रो भएता पनि कुदाउन समस्या नभएको उनको भनाई छ । विपरीत दिशाबाट हाई बिम बालेर कुनै गाडी आए हेर्न निकै गाह्रो हुने उनी सुनाउँछन् ।
सायद उनको आँखामा केही समस्या भएर पनि होला । यो गाडीमा उनलाई मन पर्ने फिचर कुदाउन सजिलो हुनु हो । हुन त गाडी चलाउनै उनले यसैबाट सिकेकी हुन् । त्यस्तै गाडी भित्रका गतिविधि खिच्न सक्ने इनबिल्ट क्यामेरा भइ दिए हुन्थ्यो भन्ने उनलाई लाग्छ । किनकि उनी गाडीमा सङ्गीत बजाउँदिनन् । बरु मस्तले गफिन्छिन् । उनलाई ती रमाइला पल सम्झनाको लागि कैद गर्न पाए हुन्थ्यो भन्ने लाग्छ ।