काठमाडौं । नागरिक एपमा आएको अपडेट इन्स्टल गर्नासाथ एप नै नचल्ने समस्या आएको छ । एपको एन्ड्रोइड भर्सनमा उपलब्ध भर्सन २.०.१६ अपडेट गर्दा एप नचल्ने समस्या आएको हो ।
प्रयोगकर्ताले एप खोल्नासाथ अपडेट उपलब्ध भएको पपअप जानकारी आउँछ । त्यसलाई पछ्याउँदै एप अपडेट गर्ने हो भने 'एप रिस्टार्ट गर्नुहोस्' भनिएको नोटिफिकेसन देखिन्छ । तर एप रिस्टार्ट गर्दा समेत पुनः त्यही नोटिफिकेसन आउने गर्छ ।
यस विषयमा नागरिक एपका एक प्रतिनिधिले टेकपानासँग भने, “हामीले महत्त्वपूर्ण सेक्युरिटी अपडेट पठाएका थियौं । त्यसले ‘फोर्स रिस्टार्ट’ भइरहेको छ ।” उनका अनुसार एप अनइन्स्टल गरेर पुनः इन्स्टल गर्दा यो समस्या समाधान हुन्छ ।
एप पुनः इन्स्टल गरेर प्रयोग गर्नका लागि प्रयोगकर्ताले आफ्नो मोबाइल नम्बर, नागरिकता नम्बर, जन्ममिति, नागरिकता जारी भएको मिति र नागरिकता जारी भएको जिल्लाको विवरण भर्नुपर्ने हुन्छ । यी सबै विवरण भरिसकेपछि भने एप खुल्छ ।