close

लामखुट्टेको फोटो खिचेरै मलेरिया छ/छैन पहिचान गरिदिने मोबाइल एप

टेकपाना टेकपाना

भदौ ८, २०८१ १८:५८

लामखुट्टेको फोटो खिचेरै मलेरिया छ/छैन पहिचान गरिदिने मोबाइल एप

काठमाडौं । लामखुट्टेको टोकाइले विभिन्न खतरनाक रोगहरू फैलिन्छन्, जसमा मलेरिया एक प्रमुख रोग हो । नेपालीमा औलो नामले चिनिने यो रोगले हरेक वर्ष विश्वभर लाखौंको ज्यान लिन्छ ।

नाङ्गो आँखाले यस प्रकारको लामखुट्टे पहिचान गर्नु गाह्रो काम हो । यसको लागि प्रयोगशालामै भर पर्नुपर्ने बाध्यता छ । अब भने भेक्टर क्याम (VectorCam) नामक मोबाइल एपबाट लामखुट्टेको तस्बिर खिचेर यसको प्रजाति पहिचान सकिने भएको छ ।

यस एपले उक्त लामखुट्टेमा मलेरिया सार्ने क्षमता छ/छैन भन्ने थाहा पाउन सकिनेछ । सामान्यतया बुझ्दा, यसले फोनलाई नै इन्टोमोलोजिस्ट (कीटविज्ञ) मा बदलिदिनेछ । यो एप अमेरिकाको जोन्स हप्किन्स युनिभर्सिटीका बायोइन्जिनियरहरूले युगान्डाका लागि तयार पारेका हुन् ।

युगान्डामा कीटविज्ञहरूको अभाव र मलेरियाको प्रकोप बढी भएकाले समाधान स्वरूप यो एप बनाइएको हो । यसबाट जोकोहीले पनि मलेरिया सार्ने लामखुट्टेका प्रजातिहरू छुट्टयाउन सक्नेछन् ।

यो एप बनाउन माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सको गेट्स फाउन्डेसन, मेकेरेर युनिभर्सिटी र युगान्डा सरकारको मलेरिया निवारण कोषबाट आर्थिक सहयोग दिइएको छ । यसबारे बिल गेट्सले ब्लग तथा सामाजिक सञ्जालमार्फत समेत जानकारी दिएका छन् । 

अहिले यो एप परीक्षणको चरणमा नै छ । तर, युगान्डाका केही भागहरूमा मलेरिया बोक्ने लामखुट्टे उन्मूलन गर्न यो एप उपयोगी साबित भइसकेको बताइएको छ ।

मोबाइल एपबाट सजिलै लामखुट्टेहरूको पहिचान गर्न यसमा कम्प्युटर भिजन प्रयोग गरिएको छ । यसबाट कुनै पनि लामखुट्टेको फोटो खिच्न, साथै लिङ्ग, प्रजाति, भर्खरै मान्छेले टोकेको छ/छैन लगायतका विवरण देखिने बताइएको छ ।

त्यस्तै, यस एपबाट मलेरियाबाहेक डेङ्गी, जिका जस्ता लामखुट्टेको टोकाइका कारण हुने अन्य रोगहरू सार्ने लामखुट्टे पनि पहिचान गर्न सकिने गेट्सले विश्वास लिएको ब्लगमा लेखेका छन् । 

 

पछिल्लो अध्यावधिक: भदौ ८, २०८१ १८:५८