काठमाडौं । सवारी साधनको सबैभन्दा ठूलो प्रदर्शनी ‘नाडा अटो शो २०२४’ मङ्गलबारदेखि सुरु भएको छ । ११ भाद्रदेखि १६ भाद्रसम्म चल्ने यस प्रदर्शनीमा यसपटक विद्युतीय सवारी साधनको वर्चस्व देखिएको छ ।
यस वर्ष दुई पाङ्ग्रे, चार पाङ्ग्रे, र प्यासेन्जर सेगमेन्टमा विद्युतीय सवारी साधनको उल्लेखनीय उपस्थिति छ । यसले यो प्रदर्शनीलाई अझै विशेष बनाएको छ ।
चार पाङ्ग्रे विद्युतीय सवारी साधनहरूमध्ये १९ लाख ९६ हजार रुपैयाँ पर्ने केईको ईक्विट ०२ देखि एक करोड ४९ लाख रुपैयाँ पर्ने जिकर एक्स फ्ल्यागशिप अल ह्विल ड्राइभसम्मका गाडीहरू प्रदर्शनीमा राखिएका छन् । नाडा अटो शो कमिटीका संयोजक अनुपकुमार बरालले भने, “यस वर्षको अटो शो विगतको तुलनामा विशेष छ किनकि ८० प्रतिशत स्टलहरू विद्युतीय सवारी साधनहरूले भरिएका छन्। विश्वभर लोकप्रिय भएका विद्युतीय सवारी ब्रान्डहरू यहाँ प्रदर्शित छन्, जसले यस अटो शोको आकर्षण अझै बढाएको छ ।”