close

डाबरको मुद्दापछि युट्युबले हटाएको ध्रुव राठीको भिडिओ डेढ वर्षपछि पुनः अपलोड, के थियो विवाद ?*

टेकपाना टेकपाना

भदौ १६, २०८१ १४:४२

डाबरको मुद्दापछि युट्युबले हटाएको ध्रुव राठीको भिडिओ डेढ वर्षपछि पुनः अपलोड, के थियो विवाद ?*

काठमाडौं । डाबर इन्डिया लिमिटेड र युट्युबर ध्रुव राठी बीचको एक वर्ष लामो विवाद समाप्त भएको छ । राठीले शनिबार एक भिडिओ अपलोड गर्दै विवाद अन्त्य भएको जानकारी दिएका हुन् । 

“मैले डेढ वर्षसम्म अदालतमा मुद्दा लडें,” राठीले भनेका छन्, “अन्ततः न्यायको जीत भयो । र, अदालतले मलाई यो भिडिओ पुनः अपलोड गर्ने अनुमति दियो ।”

राठीले आफ्नो युट्युब भिडिओमा डाबरको रियल फ्रुट जुस प्याकेटसँग मिल्दोजुल्दो दृश्यलाई ब्लर गर्ने सहमति जनाएसँगै यो विवाद मिलेको बताइएको छ ।

बार एन्ड बेन्चका अनुसार डाबरले आफ्नो प्रचारका लागि तयार पारेको सामग्री राठीले आफ्नो युट्युब भिडिओमा क्लिपका रूपमा प्रयोग गरेको आरोप लगाएको थियो । मुद्दा जितेपछि राठीले उक्त भिडिओ परिमार्जन गरी पुनः अपलोड गरेका छन् ।

भएको के थियो ?

१४ फेब्रुअरी २०२३ मा युट्युबर ध्रुव राठीले आफ्नो युट्युब च्यानलमा ‘रियालिटी अफ जुसेस’ (प्याकेटमा हुने फलफूल जुसको वास्तविकता) शीर्षकको भिडिओ अपलोड गरेका थिए । सो भिडिओमा उनले प्याकेटमा हुने फलफूलको जुसको वास्तविकता खुलाएका थिए । प्याकेटमा आउने फलफूलको जुस कहाँ र कसरी बनाइन्छ र त्यसले स्वास्थ्यमा कस्तो असर पुर्‍याउँछ भन्ने बारेमा उनले चर्चा गरेका थिए ।

सो भिडिओ त्यतिबेला सामाजिक सञ्जालमा चर्चाको विषय बन्यो । भिडिओमा आफ्नो कम्पनीको उत्पादनको विज्ञापनका लागि बनाएको क्लिप प्रयोग गरेको भन्दै डाबर इन्डिया लिमिटेडले राठी विरुद्ध कलकत्ता उच्च अदालतमा मुद्दा हालेपछि यस विषयले चर्चा पाएको थियो । डाबरले एउटा कपिराइटको सवाल उठाएको थियो भने अर्कोतिर ब्रान्डलाई असर गर्नेगरी भिडिओ बनाएको आरोप लगाएको थियो ।

भारतीय सञ्चारमाध्यमका अनुसार डाबरले पहिले नै उक्त क्लिप हटाउन राठीलाई अनुरोध गरेको थियो । तर, राठीले कम्पनीको प्रस्ताव अस्वीकार गरेपछि डाबरले अदालतको ढोका ढकढकाएको थियो ।

अदालतले सो भिडिओले ब्रान्डलाई “प्रत्यक्ष र अप्रत्यक्ष रूपमा” लक्षित गरेको निष्कर्ष निकाल्यो । न्यायाधीश रवि कृष्ण कपुरले भनेका थिए, “यसले ट्रेड मार्क्स एक्ट, १९९९ को धारा २९ (९) र प्रतिलिपि अधिकार अधिनियम, १९५७ को उल्लङ्घन गरेको छ ।”

त्यसपछि अदालतले सामाजिक सञ्जालका विभिन्न माध्यमलाई राठीको सो भिडिओ सबै प्लेटफर्मबाट हटाउन निर्देशन दिएको थियो । आदेश आएपछि सो भिडिओ सबै प्लेटफर्मले हटाएका थिए ।

पछि राठी भिडिओमा प्रयोग भएको डाबरको प्रडक्टको फुटेज र लोगो ब्लर गर्न सहमति भएपछि यो मुद्दा मिलेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

(*शीर्षक परिवर्तन गरिएको छ । -स.)

पछिल्लो अध्यावधिक: भदौ १६, २०८१ १५:७