close

कस्तो छ, ३८ सय रुपैयाँ पर्ने अल्टिमा वाच सर्कल टू ?

टेकपाना टेकपाना

भदौ २०, २०८१ १०:३२

कस्तो छ, ३८ सय रुपैयाँ पर्ने अल्टिमा वाच सर्कल टू ?

काठमाडौं । फोन छँदैछ, घडी किन चाहियो भन्नेहरूलाई समेत अहिले स्मार्टवाचले तानेको छ । किनभने आजकल स्मार्टवाच समय हेर्न मात्र प्रयोग गरिँदैन, यो एउटा फ्यासन स्टेटमेन्ट बनिसकेको छ । यसले तपाईंको व्यक्तित्वलाई राम्रो बनाउने मात्र नभई दैनिकीलाई कुनै न कुनै तवरमा सहज पनि बनाउने गर्छ ।

नेपाली ब्रान्ड अल्टिमा लाइफस्टाइलले बजारमा हालै नयाँ स्मार्टवाच 'सर्कल टू पोइन्ट ओ' ल्याएको छ । कम्पनीले स्मार्टवाच सर्कलको सफलतापछि त्यसैको दोस्रो संस्करणका रूपमा यो स्मार्टवाच बजारमा ल्याएको हो । यस नयाँ स्मार्टवाच सर्कल टू पोइन्ट ओ कस्तो छ, आज हामी यसैबारे चर्चा गर्नेछौं:

यो स्मार्टवाचको डिजाइन सामान्य तर सुन्दर छ । गोलाकार डायल मन पर्नेहरूलाई त झन् प्लस पोइन्ट नै भयो । मुख्य भाग जिन्क एलोइले बनाइएको छ भने स्मार्टवाचको बेल्ट सिलिकनको छ । यो स्मार्टवाचलाई पिङ्क, ब्ल्याक र स्टारलाइट रङमा किन्न सकिन्छ ।

स्मार्टवाचमा १.४३ इन्चको टीआरयू एमोलेड डिस्प्ले पाउन सकिन्छ, जसको उच्चतम ब्राइटनेस १००० निट्सको छ । त्यसैले आउटडोरमा पनि स्मार्टवाचलाई सजिलै चलाउन सकिन्छ ।

स्मार्टवाचको आउटर लेयरमा एउटा नब (knob) दिइएको छ, जसलाई थिच्दा स्मार्टवाच अन हुन्छ भने यसलाई बटार्दा वालपेपर परिवर्तन हुन्छ । साथै, यसबाट स्मार्टवाचभित्र स्क्रोल पनि गर्न सकिन्छ ।

स्मार्टवाचलाई फोनमा कनेक्ट गर्न अल्टिमा फिट एप डाउनलोड गरी सबै फिचरमा पहुँच पाउन सकिन्छ । स्मार्टवाचलाई दायाँतिर स्वाइप गर्दा केही फिचरहरू, जस्तै हर्ट रेट मोनिटरिङ, एसपीओ टू ट्रयाकिङ, र स्लिप ट्रयाकिङमा एक्सेस पाउनुहुन्छ भने आफूलाई मन परेको फिचर यहाँ एड गर्न सक्नुहुन्छ ।

त्यस्तै, बायाँतिर स्वाइप गर्दा मेनुबारमा पुग्न सकिन्छ । डाउन स्क्रोल गर्दा कन्ट्रोल प्यानल र अपस्क्रोल गर्दा आएको मेसेज हेर्न सक्नुहुन्छ ।

यस स्मार्टवाचको विशेषताहरू वास्तवमै मुख्य आकर्षण हुन् । उदाहरणका लागि, यसमा एआई एकीकृत गरिएको छ, जसले गर्दा एआई भोइस र च्याटजीपीटी प्रयोग गर्न सकिन्छ । यसमा च्याटजीपीटी ३.५ भर्सन छ, जसले गर्दा सामान्य जानकारी लिन फोन अनलक गरिरहनु पर्दैन । च्याटजीपीटी आजभोलि लोकप्रिय छ, र तपाईंले यो फिचरको लाभ उठाउन सक्नुहुन्छ ।

स्मार्टवाचमा ब्लुटुथ ५.३ भर्सन प्रयोग भएको छ, जसले लगभग १० मिटरको रेन्ज दिने कम्पनीले जनाएको छ । तर, दैनिक जीवनमा चलाउँदा फोनबाट अलिकति टाढा हुँदा स्मार्टवाच डिस्कनेक्ट हुन सक्छ । अनि, फेरि डिभाइसको नजिक जाँदा कहिलेकाहीँ अटो कनेक्ट हुन्छ, कहिलेकाहीँ हुँदैन । यदि भएन भने फोनबाट ब्लुटुथ अन/अफ गर्नुपर्ने हुन्छ ।

अर्को अलि खट्किने कुरा भनेको यसबाट कल उठाउँदा वा गर्दा आउने आवाज पर्याप्त छैन । आवाज अझै ठूलो भइदिएको भए राम्रो हुन्थ्यो भन्ने लाग्छ ।

बाँकी सामान्य स्मार्टवाचमा हुने सबै फिचरहरू पनि यसमा छन् । फिटनेस ट्रयाकिङ, १०० भन्दा बढी स्पोर्ट्स मोड, हर्ट रेट मोनिटरिङ, स्लिप ट्रयाकिङ जस्ता फिचर छुटेका छैनन् । यसमा प्रिमियम स्मार्टवाचमा हुने अल्वेज अन डिस्प्ले फिचर पनि उपलब्ध छ ।

ब्याट्रीको कुरा गर्दा, यसमा २५० एमएएच क्षमताको ब्याट्री छ, जसले फास्ट चार्जिङ सपोर्ट गर्छ, जुन यसको प्लस पोइन्ट हो । यसलाई करिब १ घण्टा १५ मिनेटमा फुल चार्ज गर्न सकिन्छ ।

यदि स्मार्टवाचमा ब्राइटनेस फुल गरेर धेरै प्रयोग गर्ने हो भने २ देखि ३ दिनसम्म चलाउन सकिन्छ । सामान्य प्रयोग गर्दा ४ देखि ५ दिनसम्म मजाले चल्छ । नेपाली बजारमा यस स्मार्टवाचको मूल्य तीन हजार ७९९ रुपैयाँ रहेको छ, जसमा एक वर्षको वारेन्टी पनि पाइन्छ ।


 

पछिल्लो अध्यावधिक: भदौ २०, २०८१ १०:३८