close

१० रुपैयाँ डिजिटल पेमेन्ट गर्दा २१ काटिने विषयमा प्रधानमन्त्रीका सल्लाहकारले मागे सुझाव

टेकपाना टेकपाना

भदौ २४, २०८१ १७:२३

१० रुपैयाँ डिजिटल पेमेन्ट गर्दा २१ काटिने विषयमा प्रधानमन्त्रीका सल्लाहकारले मागे सुझाव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकार विष्णु रिमालले डिजिटल भुक्तानीमा लाग्दै आएको शुल्कको विषयमा चासो व्यक्त गरेका छन् । सोमबार सामाजिक सञ्जालमा एक पोस्ट राख्दै उनले १० रुपैयाँ भुक्तानी गर्दा २१ रुपैयाँ काटिनु जायज नभएको उल्लेख गर्दै सार्वजनिक रूपमा सुझाव माग गरेका हुन् ।

"धेरैको गुनासो छ- अहिले सबैजसो ठाउँमा डिजिटल पेमेन्ट सिस्टम छ । १० रुपैयाँको बिस्कुट किनेर डिजिटल पेमेन्ट गर्दा बैंकहरूले १० रुपैयाँ शुल्क लिन्छ, त्यसमा १३ प्रतिशत भ्याट जोडेर ११ रुपैयाँ ३० पैसा काटिन्छ," उनले भनेका छन् ।

"चिया खाएको, साग किनेको जस्ता साना कारोबारमा पनि ११ रुपैयाँ ३० पैसा काटिन्छ । १० रुपैयाँ तिर्दा २१ रुपैयाँ काटिने, यस्तो त हुँदै भएन । मलाई यो गुनासो जायज लाग्यो ।" सल्लाहकार रिमालले पाँच हजार रुपैयाँभन्दा थोरै कारोबारमा यस्तो शुल्क लगाउन नहुने तर्क समेत अगाडि सारेका छन् ।

मर्चेन्ट क्यूआरमा यस्तो शुल्क नलाग्ने भए पनि व्यक्तिगत खातामा भुक्तानी गर्दा वा रकम ट्रान्सफरको माध्यमबाट भुक्तानी गर्दा ग्राहकले यस्तो शुल्क तिर्नुपर्ने हुन्छ । त्यसो त सरकारले व्यावसायिक कारोबारको रकम व्यक्तिगत खातामा स्वीकार गर्ने कार्यलाई समेत निरुत्साहित गर्दै आइरहेको छ ।

तर सबै व्यवसायमा मर्चेन्ट क्यूआर नहुँदा ग्राहकले चर्को शुल्क तिर्न बाध्य भएका छन् । 

सरकारले १ साउन २०८१ देखि नेपाल क्लियरिङ हाउस र फोनपे जस्ता भुक्तानी सेवा प्रदायकलाई भ्याट छुटको दायराबाट हटाएको थियो । अर्थात् आर्थिक ऐन, २०८१ मा यी भुक्तानी सेवा प्रदायकलाई मूल्य अभिवृद्धि कर छुट सूचीबाट हटाइयो । यसले गर्दा डिजिटल भुक्तानीमा मूल्य अभिवृद्धि कर (भ्याट) लाग्न थाल्यो ।

यस अन्तर्गत फोनपे, ईसेवा, खल्ती, कनेक्ट आईपीएस लगायत प्रयोग गरे बापत सेवा शुल्क बढेको थियो । यी कम्पनीले प्रदान गर्ने सेवा शुल्कमा भ्याट लाग्ने भएपछि त्यसको भार सेवाग्राहीलाई परेको हो । पछिल्लो समय डिजिटल वालेट ईसेवा र खल्तीले पनि पियर-टु-पियर (एउटा व्यक्तिगत अकाउन्टबाट अर्को व्यक्तिगत अकाउन्टमा गरिने भुक्तानी) मा हुने कारोबारमा १०० रुपैयाँभन्दा बढी भुक्तानी गर्दा १० रुपैयाँ सेवा शुल्क लाग्ने बनाए ।

हुन त दिनमा अधिकतम तीन पटक र महिनामा ३० पटक १०० रुपैयाँभन्दा बढीको रकम व्यक्तिगत अकाउन्टमा भुक्तानी गर्दा सेवा शुल्क नलाग्ने व्यवस्था पनि मिलाइएको छ । त्यस्तै व्यक्तिगत अकाउन्टमा १०० रुपैयाँभन्दा कम भुक्तानी गर्दा पनि सेवा शुल्क लाग्दैन ।

तर, मर्चन्ट क्यूआर प्रयोग नगर्ने ससाना व्यवसायी वा राइडरहरूलाई भुक्तानी गर्दा सेवाग्राहीले अतिरिक्त रकम तिर्नुपर्ने अवस्था छ ।

 

पछिल्लो अध्यावधिक: भदौ २४, २०८१ १८:३२