close

सङ्गीत मन, प्रविधि मस्तिष्क

सापेक्ष सापेक्ष

भदौ २९, २०८१ १२:१२

सङ्गीत मन, प्रविधि मस्तिष्क

 

ठ्याक्कै तपाईंलाई सुनाउन मसँग सङ्गीतको परिभाषा छैन । व्यक्तिपिच्छे सङ्गीतको अर्थ फरक हुन सक्छ । यति भनुँ कि सङ्गीतले तपाईंलाई निराश र हतास बनाउँदैन । सङ्गीत त्यस्तो धुन अथवा तरङ्ग हो, जसले तपाईंलाई एक्लोपनको महसुस गराउँदैन । 

तिनै सङ्गीत धेरै हदसम्म प्रविधिसँग जोडिएको छ । एक अर्थले बुझ्दा सङ्गीत प्रविधिमय छ । संगीतको आधार ध्वनि हो । ध्वनि स्वयं एक प्राविधिक प्रक्रिया हो । जब ध्वनि उत्पन्न हुन्छ, त्यो ध्वनि तरङ्गको रूपमा उत्पन्न भई हावामा फैलन्छ ।

उक्त ध्वनि तरङ्गलाई संगीतमा बदल्न बाजा, आवाज, कम्प्युटर जस्ता विभिन्न यन्त्रहरू (प्रविधि) प्रयोग गरिन्छ । त्यसमा पनि उक्त ध्वनि तरङ्गलाई संरचना दिन र ध्वनिहरूलाई मिलाउन अहिले त आधुनिक प्रविधि प्रयोग गर्ने गरिन्छ ।

संगीतको संरचना नै गणितीय छ । ध्वनिको आवृत्ति (फ्रिक्वेन्सी), ताल (राइम) र सुर (नोट्स) को निर्माण विज्ञान र गणितमा आधारित छ । विभिन्न सुर र तालको संयोजनले नै कुनै एक मिठो संगीतको सिर्जना हुन्छ । त्यसपछि ध्वनि रेकर्डिङ, सम्पादन, मिक्सिङ र मास्टरिङ गर्न पनि प्रविधि नै प्रयोग गरिन्छ । 

यी त सङ्गीत उत्पादनसँग प्रविधि जोडिएको विषय भयो । तर सङ्गीतको वितरण र उपभोगमा पनि प्रविधि जोडिएकै हुन्छ । रेडिओ, टेलिभिजन, क्यासेट, सीडी, एमपीथ्रीदेखि अहिलेका विभिन्न स्ट्रिमिङ प्लेटफर्महरू यसका उदाहरण हुन् । 

थप कुरा गर्नुअघि प्रविधि र सङ्गीतको सम्बन्धबारे म तपाईंलाई केही उदाहरण सुनाउँछु । 

उदाहरण १

गिटारमा अलि रुचि छ भने सायद तपाईंले जिमी हेन्ड्रिक्सको नाम पक्कै सुन्नु भएकै होला । छैन भने थाहा पाउनुस् कि उनी सन् १९६० को दशकका प्रसिद्ध गिटारिस्ट हुन् । उनको सम्बन्ध इलेक्ट्रिक गिटार र एम्प्लिफायरसँग अझ बढी छ । डिस्टोर्सन, फिडब्याक जस्ता गिटारमा नयाँ ध्वनि सिर्जना गरेर उनले यसलाई नयाँ संगीतको विधाकै रूपमा स्थापित गरेका थिए । जुन प्रविधिबिना सम्भव थिएन ।

उदाहरण २

चर्चित म्युजिकल ब्यान्ड (साङ्गितिक समूह) बिटल्स (Beatles) नेपालीसामु पनि उत्तिकै प्रिय छ । यस ब्यान्डका मूल गायक जोन लेननले ‘नाउ एन्ड देन’ (Now and Then) बोलको एउटा गीत बनाएका थिए । जुन धेरै समयसम्म अधुरै रह्यो । तर उनको निधन भइसकेको धेरै समयपछि त्यस गीतले पूर्णता पायो । यो गीत अहिले सार्वजनिक पनि भइसकेको छ । यसका लागि ब्यान्डले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरेको थियो ।

उदाहरण ३

र्‍याप सङ्गीतको पारखी हुनुहुन्छ भने अमेरिकी र्‍यापर टी-पेनबारे पक्कै सुन्नु भएकै होला । उनीसँगै अटो-ट्यून प्रविधि पनि चर्चामा छ । यो त्यस्तो प्रविधि हो जसले तपाईंको स्वरलाई सुर अनुसार मिलाइदिन्छ । आफ्नो ‘बारटेन्डर’, ‘बाइ यू अ ड्रान्क’मा जस्ता हिट गीतहरू उनले भरपुर अटो-ट्यूनको प्रयोग गरेका छन् । यो प्रविधिलाई हाम्रा कलाकारहरूले पनि प्रयोग गर्ने गरेका छन् ।

अब उदाहरणलाई यही टुङ्ग्याउँ । यस्ता उदाहरण अनेकन् भेटिन्छ । सङ्गीत सुन्ने प्रविधि र प्रवृत्तिमा आएको परिवर्तनबारे केही चर्चा गरौं:

अफलाइनबाट अनलाइनसम्म

अहिले रेडिओ, टेलिभिजन अनलाइनबाट पनि सुन्न/हेर्न सकिन्छ । तर केही समयअघि फर्केर जाँदा यी माध्यम अफलाइन सरह थिए । यसकारण पहिलेको समयलाई मैले अफलाइन भनेँ । 

त्यसताका सङ्गीत सुन्न रेडिओ, टिभी, क्यासेट, सीडी आदि जस्ता भौतिक माध्यमहरूमा निर्भर भइन्थ्यो । नयाँ गीतहरू पत्ता लगाउन पनि ढिला हुन्थ्यो । मुख्यत: गीत सुन्न सीमित स्थान वा उपकरण हुन्थे ।

आजकल स्पोटिफाई, एप्पल म्युजिक, युट्युब जस्ता प्लेटफर्महरू मार्फत विश्वभरका गीतहरू सजिलै सुन्न सकिन्छ । यी प्लेटफर्महरू अनलाइन भएकाले जुनसुकै समयमा गीत सुन्न सकिन्छ । यिनीहरूको एल्गोरिदमका कारण नयाँ कलाकार भेट्टाउन पनि सजिलो छ । 

अफलाइन जमानाको आईपड, वाकम्यान, एमपीथ्रीबाट गीत सुनेको समय त्यति पुरानो होइन । 

म्युजिक बिजनेस वर्ल्ड वाइडका अनुसार आज विश्वभर हरेक दिन एक लाख बढी गीत निस्कन्छन् । सायद यो संख्या जीवनभर सुनेको गीतको संख्याभन्दा बढी हो । तर विगतमा सायद वर्षभर यति अङ्क बराबरको सङ्गीत निस्कन्थे । यसले के सुझाउँछ भने हामीसँग सुन्नलाई अनगिन्ती विकल्प छन् । कुन विधाको गीत सुन्ने ? कस्तो सुन्ने ? कुन देशको सुन्ने ? कहिलेको सुन्ने?के विषयको सुन्ने ? 

पङ्क्तिकार स्वयं समय र सन्दर्भ अनुसार गीत सुन्ने गर्छ । पङ्क्तिकार अहिलेको समयको प्रतिनिधि पात्र भएकाले अनुमान गर्न सकिन्छ कि अहिले गीत सुन्ने प्रक्रियामा आमूल परिवर्तन आएको छ । 

तपाईंले राम्ररी सुनेको पछिल्लो गीत कुन हो ? 

यो प्रश्न पेचिलो बन्दै गइरहेको छ । किनकि गीत सजिलै सुन्न सकिने भएकाले यो व्यक्तिको सहारा जस्तो बन्दै गइरहेको छ । प्रविधिको विकासले श्रोताहरूको गीत सुन्ने बानीमा धेरै परिवर्तन ल्याएकोमा होइन भन्न सकिन्न । पहिले गीत सुन्नलाई विशेष समय छुट्याउनु पर्थ्यो । 

चाहे त्यो रेडियोमा होस्, क्यासेट प्लेयरमा होस् अथवा लाइभ कन्सर्टमा । सङ्गीतलाई ध्यानपूर्वक सुन्ने र भावनात्मक रूपमा जोडिने चलन थियो । तर डिजिटल युगको आगमनसँगै संगीतलाई पृष्ठभूमिमा सुन्ने र अन्य कामसँगै सुनिने बानी बढ्दै गएको छ । 

अहिलेको व्यस्त जीवनशैलीले गर्दा धेरैले काम, यात्रा अथवा अन्य क्रियाकलाप गर्दा पृष्ठभूमिमा बजाउने माध्यमको रूपमा संगीतलाई लिन थालेका छन् । यसले गर्दा श्रोताहरूले गीतमा ध्यान नदिइ केवल ‘मुड सेटिङ’ को रूपमा संगीत प्रयोग गर्ने चलन बढेको छ । यसको असर गीतको भावनात्मक वा कलात्मक पक्षमा देखिने निश्चित छ ।

त्यसमाथि डिजिटल प्लेटफर्महरूले गीत सुन्ने सुविधा दिए पनि धेरै विकल्प भएका कारण श्रोताहरूको पूरा समय नसुन्न सक्छन् । भन्नुको अर्थ सुरुका केही सेकेन्ड मन परेन भने पाँच मिनेटको पूरा गीत मन नपर्ने अवस्था सिर्जना भएको छ । अनि कलाकारले सिर्जना गरेको सम्पूर्ण एल्बम सुन्ने श्रोता त कहाँ पाउनु !

अब सिर्जना र सर्जकको पनि कुरा गरौं:

प्रविधिको विस्तारले केवल सङ्गीत सुन्ने श्रोताको बानीलाई मात्र होइन सङ्गीत स्वयंको अर्थ र कलाकारको अवधारणालाई पनि फेरबदल गरिदिएको छ । 

पहिले सङ्गीतलाई विशुद्ध कलात्मक अभिव्यक्ति मानिन्थ्यो । गीत/सङ्गीतमार्फत कलाकारले आफ्नो भावना र कलात्मक सन्देश व्यक्त गर्थे । अहिले मनस्थिति (मुड), क्रियाकलाप (एक्टिभिटी) अथवा विषयवस्तु (थिम) अनुसारका प्लेलिस्ट बनाउने चलन बढेको छ । स्पोटिफाई जस्ता स्ट्रिमिङ प्लेटफर्ममा यो मज्जैले देख्न पाइन्छ । 

तर यसले सङ्गीतलाई केवल मनोरञ्जनको साधन वा पृष्ठभूमिमा राख्न मिल्ने माध्यमको रूपमा परिवर्तन गरेको छ । भनौं अब सङ्गीत कला मात्र रहेन । यो त व्यक्तिको भावनात्मक वा मानसिक स्थितिलाई उही अवस्थामा राखिरहन प्रयोग गरिने हतियार बनेको छ । 

त्यसमाथि अहिले अपवादबाहेक म्युजिक भिडिओ नबनाई गीत नचल्ने अवस्था सिर्जना भएको छ । टिकटक, युट्युब, फेसबुक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालले यस कुरालाई थप मलजल गरेको छ । गीत राम्रो भएर मात्र पुग्दैन, त्यसको म्युजिक भिडिओ उत्तिकै दर्शक तान्ने खालको हुनु पर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ । 

धेरैजसो श्रोता पहिले गीतको भिडिओ वा टिकटक क्लिप हेर्छन्, त्यसपछि मात्र गीत सुन्न थाल्छन् । यो अहिलेको यथार्थ हो । यसले सङ्गीतकारहरूलाई श्रोता आकर्षित गर्न भिजुअल सामग्रीमा पनि समय र स्रोत खर्च गर्न बाध्य बनाएको छ ।

पहिले कुनै श्रोताले गायकहरूलाई भेट्न पाउनु निकै मुस्किल थियो । तर अहिले सामाजिक सञ्जालको कारण यो यति सजिलो छ भएको छ को कलाकारले के गरिरहेको छ, थाहा पाउन सकिन्छ । पहिले गीत श्रोता कहाँ पुग्थ्यो, अहिले सर्जक श्रोता कहाँ पुगिरहेको छ । 

यहीकारण आजकल केवल गीत गाएर मात्र कलाकारलाई सफल हुन गाह्रो छ । उनीहरूको जीवनशैली, सामाजिक सञ्जालमा उपस्थिति, ब्रान्डिङ आदिले ठूलो भूमिका खेल्न थालेका छन् । 

किनकि सामाजिक सञ्जालले कलाकारहरूलाई आफ्नो नयाँ गीतको प्रचार-प्रसार गर्न ठाउँ दिन्छ । कुन गीत कति खेर चल्छ कुनै ठेगान छैन । कलाकार र श्रोताबीच प्रत्यक्ष अन्तर्क्रिया पनि सामाजिक सञ्जालले नै सम्भव बनाएको छ । नेपालमा पनि इन्स्टाग्राम अथवा टिकटकतिर सर्जकहरू लाइभ बसेको देख्न सकिन्छ । जहाँ उनीहरू आफ्ना फ्यानहरूसँग गफिरहेका हुन्छन् । 

खासमा श्रोताहरूले कलाकारको गीत मात्र नभई तिनको व्यक्तिगत जीवन, शैली र व्यक्तित्व पनि जान्न चाहन्छन् । जुन काममा प्रविधि ठूलै टेवा पुर्‍याएको छ । तर !

सकारात्मक पक्षहरू भए तापनि प्रविधिको विकासले सङ्गीतमा केही नकारात्मक असर ल्याएको छ । माथिल्ला अनुच्छेदमै उल्लेख भइसकेको छ कि अहिले दिनहुँ लाखौँ गीतहरू अपलोड हुन्छन् । अत्यधिक गीत हुँदा पनि श्रोतालाई कुन सुनौं भनेर चयन गर्न गाह्रो हुन्छ । सुने पनि बजारमा क्षणिक चल्ने गीतहरू मात्र सुन्ने चलन बस्छ । यसले राम्रा कलाकार ओझेलमा पर्न सक्छन् भने क्षमतावान् नयाँ कलाकारलाई मौका पाउन झन् जटिल हुन्छ । 

अहिले श्रोतालाई कलाकारले निकाल्ने एल्बमबारे सायद कुनै उत्साह छैन । एल्बम भनेको एउटा कलाकारको केही गीतहरूको सङ्ग्रह जस्तै हो । तर, अनलाइन स्ट्रिमिङ संस्कृतिका कारण एल्बमको महत्त्व घट्दै गएको छ । एल्बम मन पराउने होइन कि 'सिङ्गल सङ' मन पराउने प्रवृत्ति हाबीि हुँदै छ । त्यसमाथि केवल भाइरल वा लोकप्रिय भएका गीतहरूमा मात्र धेरै श्रोताको ध्यान गइरहेको छ । 

यसले एल्मब संस्कृति त अन्त्य हुँदै छ, सँगै कलाकारहरू आर्थिक समस्यामा पनि परिरहेका छन् । स्पोटिफाई, एप्पल म्युजिक जस्ता स्ट्रिमिङ प्लेटफर्महरूले कलाकारहरूलाई प्रति स्ट्रीम थोरै मात्र रकम भुक्तानी गर्छन् ।

यसबारे त टेलर स्विफ्ट जस्ता प्रसिद्ध कलाकारले समेत असन्तुष्टि व्यक्त गरेका छन्। सङ्गीतमा आउनेहरूको संख्या बढी भएपनि सङ्गीतलाई नै पेशा बनाउन आर्थिक रूपमा अझैं चुनौतीपूर्ण छ । त्यही भएर कलाकारहरूले लाइभ कन्सर्टको अलावा मर्चेन्डाइज बिक्री गर्नु पर्ने बाध्यता छ । 

यसबाहेक अनलाइन पाइरेसी (चोरी) ले संगीत क्षेत्रलाई ठूलो चुनौती दिइरहेको छ । कलाकारले आफ्नै सिर्जना मेरो हो भन्न नपाउने स्थिति सिर्जना भएको छ । अहिले यसको सिकार ‘चिहानकी परी’, ‘बज्र’ जस्ता गीतका सर्जक शिरिष खड्का भएका छन् । उनी अनलाइन पाइरेसीको प्रतिनिधि उदाहरण हुन् ।

डिजिटल संसारमा गीतहरू सजिलै डाउनलोड वा अनधिकृत रूपमा शेयर/अपलोड गर्न सकिने भएकाले कलाकारहरूले पर्याप्त आर्थिक लाभ प्राप्त गर्न नसकेको कुरा तीतोसत्य हो । यसको प्रत्यक्ष असर सिर्जनात्मकता र गुणस्तरमा देखिने निश्चित छ । 

हुन त सम्बन्धित निकायहरूले नियमन गरे यो कुरा रोक्न सकिने बताइन्छ । साथै डिजिटल अधिकार व्यवस्थापन (डीआरएम) र ब्लकचेन प्रविधिले अनलाइन चोरीलाई केही हदसम्म नियन्त्रण गर्न सक्छ भन्ने आशा गरिएको छ ।  तर यी पूर्ण रूपमा लागू भइसकेका छैनन् ।

आजको यस लेखमा मैले सङ्गीत र प्रविधिको सम्बन्ध, सङ्गीत सुन्ने प्रविधि र प्रवृत्तिमा आएको परिवर्तन र त्यसले सर्जक र श्रोताको सम्बन्धमा पारिरहेको प्रभाव र असरबारे चर्चा गरेँ । संगीतमाथि एआई र अटो-ट्युनको प्रभावबारे उति चर्चा गरिनँ । आगामी दिनमा गराैँला । 

समग्रमा के-पप होस् वा अफ्रिकी बीट्स, ल्याटिन पप होस् वा सबै नेपाली भाका, सबै शैलीका गीत/सङ्गीत सुन्न अहिले निकै सजिलै भएको छ । कतिपय कलाकार रेकर्ड लेबलको सहयोग बिना नै सफल पनि भएका छन् । अनि श्रोताहरूले पनि आफू अनकुलता अनुसारका गीत सुन्न सक्छन् ।

निष्कर्षमा भन्नु पर्दा संगीत अब केवल बाजा बजाउने वा गाउने कलामा मात्र सीमित रहेन, यो प्रविधिको सहयोगमा निर्माण हुने र लगातार परिवर्तन हुने एउटा प्राविधिक क्रान्तिको हिस्सा बनेको छ । 

जसको साथी तपाईं आफैं पनि हुनुहुन्छ ।

पछिल्लो अध्यावधिक: भदौ २९, २०८१ १७:४