काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साना डिजिटल कारोबारलाई नि:शुल्क बनाउने विषयमा छलफल भइरहेको जानकारी दिएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमा पोस्ट राख्दै प्रधानमन्त्री ओलीले डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने विषयमा छलफल भइरहेको बताएका हुन् ।
मोबाइल बैंकिङमार्फत ट्रान्सफर गर्दा लाग्ने अतिरिक्त शुल्कको विषयमा जनगुनासो बढ्दै गइरहेको भन्दै प्रधानमन्त्री शर्मा ओलीले यसबारे सरकारको ध्यानाकर्षण भएको जनाएका छन् ।
“आजभोलि हामी धेरैजसो डिजिटल माध्यमबाट रकम ट्रान्सफर गर्ने गरेका छौं,” उनले लेखेका छन्, “इन्टरनेटको सहजताले होला, सानोसानो कारोबारमा पनि हामी क्यासलेस गर्न अभ्यस्त छौं ।”
मोबाइल बैंकिङमा साना कारोबार गर्दा लाग्ने शुल्कको समस्या समाधान गर्न सम्बन्धित अधिकारीसँग छलफल गरिरहेको उनले जानकारी दिएका छन् ।