close

इतिहास रचेर पृथ्वी फर्कियो ४ यात्रु बोकेको एलन मस्कको अन्तरिक्षयान

टेकपाना टेकपाना

भदौ ३०, २०८१ १९:५४

इतिहास रचेर पृथ्वी फर्कियो ४ यात्रु बोकेको एलन मस्कको अन्तरिक्षयान

काठमाडौं । अमेरिकी अर्बपति एलन मस्कको कम्पनी स्पेसएक्सले चार जना निजी अन्तरिक्षयात्री सहित प्रक्षेपण गरेको यान सफलतापूर्वक पृथ्वीमा फिर्ता भएको छ । अन्तरिक्षमा पाँच दिन बिताएको यान इस्टर्न टाइम अनुसार आइतवार बिहान ३ः३७ बजे फ्लोरिडामा अवतरण भएको हो । 

‘पोलारिस डाउन मिसन’ अन्तर्गत स्पेसएक्सले अन्तरिक्षमा स्पेसवाकका लागि चार यात्री पठाएको थियो । पाँच दशकपछि मानवले यात्रा गरेको यो नै सबैभन्दा बढी उचाइ हो । गएको बिहीवार बिहान गरिएको स्पेसवाक इतिहासमै पहिलो पटक निजी कम्पनीको लगानीमा सञ्चालित मिसन (कमर्सियल स्पेसवाक) पनि बनेको छ । 

अन्तरिक्ष मिसनको सबैभन्दा खतरनाक चरण नै पृथ्वीमा फर्किनु हो । सुरक्षित रूपमा पृथ्वीमा फर्कनका लागि क्रु ड्रागन क्याप्सुलले ‘डी-अर्बिट बर्न’ नामक प्रक्रिया पूरा गरेको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनका अनुसार यस यानले १९०० डिग्री सेल्सियसको ताप सहेको थियो ।

प्रतिघण्टा २७ हजार किलोमिटरको गतिमा उड्दा यानमा हावाको चाप र घर्षणले गर्दा ताप उत्पन्न भएको थियो । तर, भित्र रहेका क्रु भने साधारण तापक्रममा रहे । यात्रुहरू १३ फिट चौडा क्याप्सुलको तलपट्टि रहेका थिए । उक्त भागलाई तापबाट जोगाउन विशेष किसिमको हिट शिल्ड प्रयोग गरिएको थियो । 

यस फ्लाइटमा फिनटेक कम्पनी सिफ्टफोर पेमेन्ट्सका सीईओ एवं​ अर्बपति ज्यारेड आइज्याकम्यान, उनका साथी अमेरिकी वायु सेनाका पूर्व पाइलट स्टक किड पोटीट र स्पेसएक्सका इन्जिनियरद्वय आन्ना मेनन् र सारा गिल्स थिए ।

सीएनएनका अनुसार उनीहरू पृथ्वीभन्दा १४ हजार किलोमिटर उचाइमा थिए । यो मानवले परिक्रमा गरेको सबैभन्दा बढी उचाइ हो । यसअघि सन् १९६६ मा नासाको जेमिनाइ मिसटका अन्तरिक्षयात्री १३७३ किलोमिटरको उचाइमा पुगेका थिए । 

यस फ्लाइटसँगै गिल्स र मेनन पृथ्वीबाट सबैभन्दा टाढाको उचाइमा यात्रा गर्ने पहिलो महिला यात्री बनेका छन् । स्पेसवाक गर्नका लागि क्रु ड्रागन क्याप्सुलको अल्टिट्युड घटाइएको थियो । पाँच दिनको मिसनमा अन्तरिक्षयात्रीले विभिन्न ४० ओटा एक्सपेरिमेन्ट (वैज्ञानिक परीक्षण) गरेका छन् ।

त्यस समयमा उनीहरूले मानव स्वास्थ्यमा अन्तरिक्ष मिसनहरूको प्रभावबारे अनुसन्धान र ड्रागन स्पेसक्राफ्ट र स्पेसएक्सको स्टारलिङ्क स्याटलाइटबीचको इन्टरस्याटलाइट लेजर सञ्चारको परीक्षण पनि गरेका थिए ।

पछिल्लो अध्यावधिक: भदौ ३०, २०८१ २०:४