काठमाडौं । पेट्रोल र हाइड्रोजन दुवै इन्धनबाट गाडी चलाउन मिल्ने इन्जिन तयार भएको छ । रिन्यु जेन रिसोर्सेस नेपाल, बेलायतको एक विश्वविद्यालय र इन्जिनियरिङ अध्ययन संस्थान (त्रिवि) को सहकार्यमा यस्तो इन्जिन तयार पारिएको हो ।
सोमबार मात्रै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, सांसद ठाकुर गैरे, पूर्वमन्त्री कर्णबहादुर थापा लगायतले यस इन्जिन प्रयोग गरिएको गाडी चढेर केही बेर यात्रा गरेका थिए । यससँगै हाइब्रिड इन्जिनको औपचारिक सुरुवात भएको बताइएको छ ।
दुई प्रकारको इन्धनबाट चल्ने भएकाले यसलाई ‘डुअल मोडल हाइड्रोजन कम्बस्चन इन्जिन’ नाम दिइएको छ । आईओई मेकानिकल तथा एरोस्पेस विभागका सह प्राध्यापक डा. सूर्यप्रसाद अधिकारीका अनुसार चालकले आफूले चाहेको समयमा गाडी चलाउने इन्धन परिवर्तन गर्न सक्छ । उनका अनुसार यसका लागि एउटा छुट्टै बटन राखिएको छ ।
यस प्रकारको इन्जिन बनाउन पुरानो मारुती सुजुकी जेनको इन्जिनलाई परिमार्जन गरिएको हो । यसमा ६० प्रतिशत पेट्रोल र ४० प्रतिशत हाइड्रोजन राखिएको हुन्छ । अहिलेका लागि भने हाइड्रोजन भारतबाट आयात गरिएको छ ।
यसले पुराना गाडीको इन्जिनलाई परिमार्जन गरेर हाइड्रोजन राखेर चलाउन सकिने कुरा स्थापित गरेको रिन्यु जेन रिसोर्सेसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. प्रमोद टण्डनले बताए । यसअघि पुरानो भए पछि कि त नयाँ किन्ने अथवा बिजुली गाडीमा परिमार्जन गर्नुपर्ने भएकोमा अब नयाँ विकल्प थपिएको उनको भनाई छ ।
अहिले तयार भएको यो इन्जिन एक प्रकारको प्रोटोटाइप हो । तर यसबाट गाडीलाई गुडाउन सकिन्छ । यसले अहिलेको पेट्रोलियम इन्जिनभन्दा बढी रेन्ज दिने उनले बताए ।
उता काठमाडौं विश्वविद्यालयले देशभित्रै हाइड्रोजन उत्पादन थालिसकेको छ । तर प्राविधिक पक्षले गर्दा त्यहाँ उत्पादन भएको हाइड्रोजन आफूले तयार पारेको इन्जिनमा प्रयोग गर्न नमिल्ने उनले सुनाए । यद्यपि भविष्यमा भने आफूहरूले नै हाइड्रोजन प्लान्ट पनि बनाउने योजना रहेको उनको भनाई छ ।
त्यस्तै आर्थिक हिसाबले सस्तो र प्राविधिक हिसाबले सजिलो भएकाले अब बस र ट्रक जस्ता ठुला गाडीका लागि यस्तो इन्जिन बनाउने उनले सुनाए ।