close

कत्तिको कठिन छ अन्तरिक्षको जीवन ?

टेकपाना टेकपाना

असोज ८, २०८१ १४:५८

कत्तिको कठिन छ अन्तरिक्षको जीवन ?

काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका दुई अन्तरिक्षयात्री सुनिता विलियम्स र बुच वाल्मर अन्तरिक्षमा फसेका छन् । उनीहरू आठ दिनका लागि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस)मा गएका थिए । तर, अब २०२५ फेब्रुअरी पहिले पृथ्वीमा फर्किन सक्ने छैनन् ।

पृथ्वीभन्दा ४०० किलोमिटरमाथि अन्तरिक्षमा आखिर कस्तो महसुस हुन्छ ? अन्तरिक्षयात्री अन्य क्रु साथीहरूसँग कसरी बस्न सक्छन् ? कसरी व्यायाम गर्छन् ? कपडा कसरी धुन्छन् ? के खान्छन् ? यी र यस्तै प्रश्नको उत्तरका बारेमा यहाँ चर्चा गरिएको छ ।

अन्तरिक्षयात्री आईएसएस मोड्युलमा ‘हार्मोनी’ नामको फोन बुथ (Phone Booth) आकारको स्लिपिङ क्वाडमा सुत्छन् । पूर्व अन्तरिक्षयात्री निकोल स्टटका अनुसार यो संसारकै सबैभन्दा उत्कृष्ट स्लिपिङ ब्याग हो । स्टटले सन् २००९ र २०११ का दुई ओटा मिसन गरी १०४ दिन अन्तरिक्षमा बिताएकी थिइन् । यस कम्पार्टमेन्टमा ल्यापटप हुन्छ । त्यसको एउटा कुनामा फोटो र किताब राख्नका लागि बनाइएको हुन्छ । बाथरुम एउटा सानो डब्बा जस्तो हुन्छ । त्यसमा ‘सक्सन’ सिस्टम हुन्छ ।

सामान्यतः पिसाब र पसिना रिसाइकल भएर शुद्ध पिउने पानीका रूपमा प्रयोग हुन्छ । अन्तरिक्ष स्टेसनमा अन्तरिक्ष यात्रीको अधिकांश समय मर्मतसम्भार र वैज्ञानिक परीक्षणका काममा बित्छ । यस क्षेत्रको आकार एउटा फुटबल ग्राउन्ड जत्तिको हुन्छ ।

क्यानडाका अन्तरिक्षयात्री क्रिस ह्याडफिल्डले बीबीसीसँग कुरा गर्दै भने, “स्टेसनभित्र हेर्दा कयौं बसहरू एकअर्काको छेउमा पार्क गरिएको जस्तो देखिन्छ । स्टेसनमा मान्छेहरू यताउता घुम्दैनन् ।” अन्तरिक्षयात्री आफ्नो हर्ट (मुटु), ब्रेन (मस्तिष्क) र ब्लड मनिटर लगाएर आफ्नो शरीरमा परेको असरबारे मापन गरिरहेका हुन्छन् । 

क्रिसले दुई पटक स्पेसवाक (अन्तरिक्षमा हिंड्ने काम) गरेका छन् । आफ्नो अनुभव सुनाउँदै उनी भन्छन्, “बाहिर बिताएका १५ घण्टा धेरै खास थिए, जब मेरो र ब्रह्माण्डको बीचमा केही पनि थिएन ।” यद्यपि यो स्पेसवाकका साथ अन्तरिक्षयात्रीले त्यहाँ फरक किसिमको बासना/गन्धको पनि सामना गर्नुपर्ने हुन्छ ।

बेलायतकी अन्तरिक्षयात्री हेलेन शरमन भन्छिन्, “धर्तीमा फरक-फरक किसिमका बासना हुन्छन् । जस्तो कपडा धुने मसिनको बासना एउटा हुन्छ, ताजा हावाको बासना अर्कै हुन्छ । तर अन्तरिक्षमा केबल एउटै थरिको बासना आउँछ । र, हामीलाई छिट्टै नै त्यसको बानी परिहाल्छ ।”

उनका अनुसार विकिरणले सतहमा मुक्त कण (Free Particle) सिर्जना गर्छ । र, स्पेस स्टेसनभित्र उक्त कणले अक्सिजनसँग प्रतिक्रिया गरेर धातुको गन्ध उत्पन्न गर्छ । हेलेनको मष्तिष्कमा अन्तरिक्षमा बिताएका ती दिन अझै पनि ताजै छन् । ती पल स्मरण गर्दै उनी भन्छिन्, “अन्तरिक्षमा कुनै मौसम हुँदैन । तपाईंको अनुहारमा पानीका छिटा पर्दैनन्, न हावाले तपाईंका केश उडाउँछ । मलाई ती दिन अझै पनि सम्झनामा आइरहन्छन् ।”

अन्तरिक्षमा जिरो ग्र्याभिटी (शून्य गुरुत्वकर्षण वल) का कारण पदार्थको घनत्व निकै कम हुन्छ । अन्तरिक्षयात्री कामका दौरान निरन्तर व्यायाम पनि गरिरहेका हुन्छन् । 

स्टटका अनुसार अन्तरिक्षयात्री एड्भान्स रेसिस्टिभ एक्सरसाइज डिभाइसको सहायताले स्क्वाट्स (Squats), डेडलिफ्ट (Deadlifts), बेन्च प्रेस, ओभरहेड प्रेस जस्ता व्यायाम गर्न सक्छन् । ट्रेडमिलमा दौडिने बेला आफूलाई सतहमा अडाइराख्न फिताले खुट्टा बाँध्नुपर्ने हुन्छ । यसले गर्दा उनीहरू दौडिँदा हावामा तैरिने समस्या आउँदैन । 

यति धेरै कसरत गर्दा पसिना आउँछ, लुगा पनि फोहोर हुन्छ । र, लुगा सफा गर्नुपर्ने हुन्छ । स्टटका अनुसार अन्तरिक्षमा पृथ्वीको तुलनामा बढी पसिना आउँछ । “अन्तरिक्षयात्रीका कपडा यति फोहोर हुन्छन् कि तिनलाई धुनुभन्दा नष्ट गर्न कार्गो भेहिकलमा राखिन्छ । मिसन पूरा भएपछि पृथ्वीको वातावरणको सम्पर्कमा आउनासाथ कार्गो नष्ट हुन्छ,” उनी थप्छिन् । 

यद्यपि अन्तरिक्षयात्रीले दैनिक लगाउने कपडा सफा हुन्छन् । स्टटका अनुसार जिरो ग्र्याभिटीमा कपडा शरीरमा टाँसिनेभन्दा पनि तैरिरहेका हुन्छन् । पृथ्वीमा जस्तो कपडा र शरीर एक-आपसमा समय समयमा मात्र जोडिने भएकाले कपडा तत्कालै पसिनाले फोहोर हुँदैन । 

खानाको कुरा गर्नुपर्दा उनीहरूसँग पहिले नै तयार भएको खाना डब्बामा हुन्छ । कैयौं पटक अन्तरिक्षयात्रीका लागि खाना पृथ्वीबाटै खाना पठाइएको हुन्छ । खानाको कुरा गर्दै स्टट भन्छिन्, “यदि कसैले मासु वा ग्रेभीको डब्बा खोल्यो भने त्यो पोखिएर हावामै तैरिन थाल्छ । त्यसैले सचेत भएर भाँडा खोल्नुपर्ने हुन्छ ।”

पछिल्लो अध्यावधिक: असोज ८, २०८१ १५:२१