काठमाडौं । सामाजिक सञ्जाल एक्स (ट्वीटर)ले ब्लक गरिएका अकाउन्टले समेत तपाईंका पब्लिक पोस्ट देख्न सकिने बनाउन थालेको छ । कम्पनीले ब्लक बटन पछाडिको फङ्सनालिटीलाई परिवर्तन गर्दै यस किसिमको व्यवस्था गर्न लागेको हो ।
स्वतन्त्र अनुसन्धानकर्ता निमा ओजीले फेला पारेको यो विषयलाई एलन मस्कले सोमबार पुष्टि समेत गरेका छन् । ब्लक गरिएका अकाउन्टबाट ब्लक गर्ने अकाउन्टसँग इङ्गेज हुन भने पाउने छैनन् । तर उनीहरूले ब्लक गर्ने व्यक्तिका पोस्ट भने देख्न पाउनेछन् ।
"ब्लक फङ्सनले त्यस्तो अकाउन्टलाई इङ्गेजिङ हुनबाट ब्लक गर्नेछ, तर पब्लिक पोस्ट हेर्नबाट भने ब्लक गर्ने छैन," मस्कले सोमबार पोस्ट गर्दै भनेका छन् । ओजीको भनाइमा ब्लक गर्ने अकाउन्ट भिजिट गर्दा ब्लक गरिएका अकाउन्ट प्रयोगकर्ताले "तपाईं ब्लक हुनु भएको छ..." भन्ने कुरा प्रयोगकर्ताले नदेख्न सक्छन् ।
बरु त्यसको साटो ब्लक गरिएका प्रयोगकर्ताले अन्य प्रयोगकर्ताले जस्तै गरी ब्लक गर्ने अकाउन्टका पब्लिक पोस्ट देख्न सक्छन् । यद्यपि रिपोस्ट गर्न, कोट गर्न, रिप्लाई दिन अथवा ब्लक गरिएका अकाउन्टसँग इङ्गेज हुने सवालमा भने सीमितता लागु हुन सक्छ ।
High time this happened.
The block function will block that account from engaging with, but not block seeing, public post.
यो परिवर्तन कहिलेदेखि लागु हुन्छ भन्ने विषय भने स्पष्ट भइसकेको छैन । मस्कले सोमबारको ट्वीट पोस्टमा यसका लागि धेरै समय लाग्ने सङ्केत भने गरेका छन् । अहिलेको समयमा यदि कुनै पब्लिक अकाउन्टबाट कुनै प्रयोगकर्तालाई ब्लक गरिएको छ भने त्यस्तो प्रयोगकर्ताले लगआउट गरेर ब्लक गर्ने व्यक्तिका ट्विट हेर्न सक्छन् । अब भने एक्सले यो झन्झटलाई दूर गर्न लागेको हो ।
मोटामोटी रूपमा १० वर्ष अघि, जब ट्वीटरले ब्लक फिचरमा यस्तै खाले परिवर्तन गरेको थियो । सन् २०१३ मा ट्वीटरले आफ्नो नीति अपडेट गर्दै ब्लक गरिएका प्रयोगकर्तालाई कन्टेन्ट हेर्ने, फलो गर्ने र यतिसम्म कि ब्लक गर्ने व्यक्तिसँग इङ्गेज हुनेसम्मको अनुमति दिएको थियो ।
ब्लक गर्ने अकाउन्टले भने त्यस किसिमको इङ्गेजमेन्ट देख्दैन थिए । सो समयमा ब्लकिङ सम्बन्धीको अपडेटमा झड्का लागेपछि ट्वीटरले एउटा इमर्जेन्सी मिटिङ आह्वान गरेर ब्लकलाई पुनः बलियो बनाउने गरी पुरानै नीतिमा फर्किएको थियो । एक्सको अबको अपडेट भने त्यो स्तरसम्म जाने छैन ।
ब्लकभित्र इङ्गेजमेन्ट हुने अनुमति रहने छैन । मस्कका अनुसार यस किसिमको परिवर्तनले केही व्यक्तिहरू उत्साहित नहुन सक्छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रायः दुर्व्यवहार गर्ने, उत्पीडक वा आक्रमणकारीबाट आफूलाई टाढा राख्न ब्लक फिचर प्रयोग गर्ने गर्छन् । ब्लकिङको यो नयाँ परिवर्तनले त्यस किसिमको रोकटोक लगाउने कार्यलाई केही नरम भने अवश्य बनाउनेछ ।